Comments Add Comment

‘लाइन लगाएर नयाँ नोट बाँड्ने सम्भावना कम छ’

२१ असोज, काठमाडौं । दशैं नजिकिएसँगै नयाँ नोट पाइन्छ कि पाइँदैन भन्ने सर्वसाधारणमा चासो बढेको छ । हरेक वर्ष दशैं अगाडि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष भने विगतको जसरी बाँड्न नसकिने बताएको छ ।

नयाँ नोट स्टकमा रहेको तर वितरण कुन तरिकाले गर्ने भन्ने निर्णय भने गर्न बाँकी रहेको राष्ट्र बैंकले बताएको छ । यद्यपि विगतको जस्तै राष्ट्र बैंक अगाडि लाइन लगाएर दिने सम्भावना कम रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम दिनप्रतिदिन बढिरहेको अवस्थामा विगतको जस्तो राष्ट्र बैंकमै बोलाएर लाइन लगाएर वितरण गर्दा कोरोना सर्ने जोखिम हुने भएकाले नयाँ विकल्प सोचिने प्रवक्ता भट्टले बताए ।

बैंकहरुलाई भने राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराउने उनले जानकारी दिए । ‘कोरोनाको कारण विगतको जसरी बाँड्ने सम्भावना कम छ, सम्भवतः बैंकहरुले पनि विगतको जसरी बाँड्दैनन् होला,’ उनले भने, ‘नयाँ नोट दिने भन्ने कुरा त हो तर कुन विधि अपनाएर वितरण गर्ने भन्ने निर्णय हुन बाँकी नै छ ।’

दशैंको दक्षिणा दिनका लागि नयाँ नोट वितरण गर्ने चलन चल्दै आएको छ । विगतमा राति उज्यालो नहुँदै सर्वसाधारणहरु नयाँ नोट साट्नका लागि राष्ट्र बैंकको कार्यालय अगाडि गएर लाइन लाग्ने गर्दथे । दशैंमा नयाँ नोट वितरण गर्दा नोटको आयु घटेको भन्दै राष्ट्र बैंकले दशैंबाहेकका अन्य चाडपर्वहरुमा पनि वितरण गर्ने गरेको छ । तर सर्वसाधारणले भने नयाँ नोट लिन दशैं नै कुर्ने गरेका छन् ।

यो पनि पढ्नुहोस दशैंमा नयाँ नोट छाप्दा ७९ करोड खर्च यो पनि पढ्नुहोस नोट केरमेट गरे जेल जानुपर्ला, यसरी गर्नुस् जतन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment