Comments Add Comment

अविस्मरणीय पात्र अनुराधा

आज सम्बोधिको क्षणजस्तो आफूभित्रको आस्तित्विक विचरणमा आफ्नै आत्माका आवाजसँग एकाकार भएको अनुभूतिले म आल्हादित छु । त्यो आवाजमा मेरो प्रिय पात्र अनुराधालाई समर्पण गर्दछु । अनुराधा जो विजय मल्लको उपन्यास ‘अनुराधा’की शीर्ष पात्र हुन् ।

अनुराधाको जीवन त्यस्तरी अभिसप्त बन्छ भनेर स्वयं ‘अनुराधा’ले पनि सोचेकी थिइनन् होला । यथार्थतः धन, प्रतिष्ठित जागिर, कथित समाजको खोक्रो आडम्बरी सम्मानविरुद्ध स्वतन्त्र आस्तित्विक वरणका लागि बाधक बनेका परम्परित सोचका पितृसत्तात्मक ठेकेदारहरूलाई चुनौती दिने पात्र हुन् अनुराधा ।

तर, भइदियो त्यस्तै । अनुराधाकै पीडाको आत्मस्वीकृतिमा भन्ने हो भने समाजलाई एक्लो व्यक्तिको विरोधको कुनै चासो नै रहँदैन । एक्लो अस्तित्वको, अरुचिको, प्रेम-घृणाको कुनै वास्ता नै हुँदैन । मानौं, नारी कुनै चेतनशील प्राणी नै होइन ! कठपुतलीजस्तो जसरी नचायो, उसरी नाचिदिनुपर्ने अनुदार समाजप्रदत्त जिन्दगीको अभिषप्ततामा सचेत अस्तित्वको महत्तामाथि कस्तरी बज्रपात हुँदोरहेछ ।

यद्यपि भोग्याका रूपमा नारी अस्मितामाथि हस्तक्षेपप्रति अनुराधाको विद्रोह कम साहसिलो लाग्दैन ।

अनुराधाको जीवनमा अनेकौं मोढ आए पनि उनले आफ्नो स्वतन्त्रताको लागि निरन्तर अडान् लिइन् । पीडामा पनि आफू हुनुको बोध गर्ने अनुराधा बरु बहुलाउन तयार भइन् तर घुँडा टेक्न तयार भइनन् ।

सायद, उनी जीवनलाई बुझ्न सुल्टोबाट मात्र नहेरेर उल्टाएर हेर्न चाहन्छिन् । यतिखेर म उनकै साथमा अस्तित्वशील छु ! जहाँबाट मेरो जिन्दगीका मध्यपृष्ठहरू पल्टिरहेछन् ।

विद्रोह, चेतना र साहसकी प्रतीक अनुराधा मेरा लागि अविस्मरणीय छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment