Comments Add Comment

जलविद्युतको सेयर मूल्यमा ‘यू टर्न’

२३ साउन, काठमाडौं । दुई महिना अघिसम्म जलविद्युत् कम्पनीको सेयर किन्न लगानीकर्ताहरु हिच्किचाउँथे । गोलाप्रथाबाट पाएको प्रतिकित्ता एक सय रुपैयाँको साधारण सेयर (आईपीओ) आधाभन्दा धेरै गुम्दा लगानीकर्ताहरु निकै निरुत्साहित थिए । पछिल्लो महिना भने जलविद्युत् सेयर मूल्यमा ‘यू टर्न’ आएको छ ।

जलविद्युत्मा गरिएको लगानीले प्रतिफल पाउने होइन, पुँजी जोगाउन समेत मुस्किल पर्ने गुनासो गरिरहेका लगानीकर्ताहरुको मुहारमा अहिले खुसीयाली छाएको छ । कारण पछिल्लो महिना जलविद्युत्को मूल्य शतप्रतिशत भन्दा धेरैले बढेको छ ।

हिजो ५० रुपैयाँ प्रतिकित्तामा फालाफाल जलविद्युत् कम्पनीको सेयर अहिले १५० रुपैयाँ पुगेको छ । पछिल्लो २ महिनाको सेयर मूल्यमा यति ठूलो बढोत्तरी आउनुलाई सेयर बजारका विज्ञहरु धेरै ठूलो विषय नभएको बताउँछन् । मूल्यमा आएको परिवर्तन भने निकै फराकिलो छ ।

२४ साउनमा प्रतिकित्ता ५० रुपैयाँ रहेको खानीखोला हाइड्रोपावरको सेयर मूल्य असोज २२ मा आइपुग्दा प्रतिकित्ता एक सय ३५ रुपैयाँ पुगेको छ । अर्थात् यो कम्पनीको २ महिना अघि सेयर किनेर असोज २२ सम्म बेच्नेहरुले २ महिनामा नै शतप्रतिशत भन्दा धेरै कमाए ।

प्रतिकित्ता ५३ रुपैयाँमा किनबेच भएको दिव्येश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३१ पुगेको छ । ५२ रुपैयाँ रहेको नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १२३ पुगेको छ भने रु.५३  रहेको आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य १२८ पुगेको छ ।

यसैगरी घलेम्दी हाइड्रोको प्रतिकित्ता ५६ रुपैयाँबाट १३७, युनियन हाइड्रोपावर ५६ रुपैयाँबाट १३२, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५६ रुपैयाँबाट १३०, युनिभर्सल पावर कम्पनीको ७० रुपैयाँबाट १४२, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८३ रुपैयाँबाट १९० र पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको ७६ रुपैयाँबाट १६४ रुपैयाँ पुगेको छ ।

यि कम्पनीमात्र होइन, नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत अधिकांश जलविद्युत् कम्पनीको सेयर यसरी नै बढेको छ । पछिल्ला समय समग्र बजार बजार बढिरहेको छ । यसमा अन्य क्षेत्रभन्दा जलविद्युत् क्षेत्र अगाडि छ ।

जलविद्युत्मै आकर्षण किन देखियो ?

पूर्ब बैंकर समेत रहेका सेयर बजार विश्लेषक अनलराज भट्टराई जलविद्युत्को सेयर मूल्य बढ्नुलाई धेरै ठूलो कुरा मान्न नहुने बताउँछन् । उनी भन्छन्, ‘पहिले जलविद्युत्को सेयर मूल्य किन घट्यो भन्ने चाहिँ अचम्मको विषय हो ।’

सेयर मुल्य साधारण सेयर (आईपीओ) भन्दा तल पुग्नु अचम्मको विषय भएको उनी बताउँछन् । उनको भनाइमा आईपीओ पार गरेर सस्तो मूल्यमा सेयर बिक्री गर्न खोज्नु लगानीकर्ताको मुर्खता हो । हाइड्रोपावरमा आज लगानी गर्यो भोलि नै मूनाफा आइहाल्छ भन्ने सोचका कारण यस्तो भएको भट्टराई बताउँछन् ।

पहिले घट्नपर्ने कारण नभएको तर सयमा किनेर ९० रुपैयाँमा बेच्न तयार भएपछि घटेको उनी बताउँछन् । ‘अरु कम्पनी जस्तो मूनाफा कमाएपछि भन्ने हुँदैन, हाइड्रोपावरले निर्माणको चरण मै पनि आईपीओ जारी गर्न सक्छन’, उनी भन्छन्, ‘यसकारण तत्कालै लाभांश नआउने हुनाले दीर्घकालीन सोचेर मात्र हाइड्रो कम्पनीमा लगानी गर्ने हो ।’

अहिले बढेर कायम भएको मूल्य पनि ठूलो नभएको भट्टराई बताउँछन् । यत्तिको मूल्य हुनै पर्ने उनको भनाइ छ । आईपीओ पारेर सस्तोमा बेच्न तयार नहुन र केही समय होल्ड गर्न सक्छु भन्ने सोच बनाएर मात्र हाइड्रोपावरको सेयर किन्न उनको सुझाव छ ।

‘आईपीओ हालेको १० दिनमै ९० बेच्ने हो भने किन सेयर किन्नु ?’ उनी भन्छन्, ‘हाइड्रोपावर कम्पनीहरु केही नराम्रा होला, तर सबै खत्तमै भने छैनन् ।’

सेयर बजारका विश्लेषक दिलिप मुनाकर्मी पनि अहिले हाइड्रोपावरको सेयर मूल्य बढ्नुको खास कारण नभएको सुनाउँछन् । पहिले धेरै कम मूल्य भएका कारण अहिले बजार बढेजस्तो देखिएको उनले बताए ।

‘त्यस्तो विशेष केही छैन, कोभिडको कम असर, ब्याज छुट (कम लागत नाफा बढ्ने) कुरा थपिएका हुन्’ उनले भने, ‘अनि केहीको त उत्पादन समेत शुरू भएको छ, अनि केही जलविदुतको बढ्दा अरू तुलनात्मकरूपमा सस्तो देखिँदा मानिसहरूले लहलहैमा किनेका हुन् ।’

कतिपय आयोजनाको करोडौंका घाटा तत्काल उठ्ने अवस्था नभएको र कुनैको लागत महंगो भएकाले नाफाको ठेगान नभएको मुनाकर्मी बताउँछन् । तैपनि लहलहै र उक्साहटमा महंगोमा किनेको हो कि जस्तो देखिएको उनले तर्क छ ।

जलविद्युत व्यवसायिक प्रकृतिले सुनिश्चित व्यापार हुँदा कोभिड-१९को नकारात्मक प्रभाव कम पर्ने भएकाले पनि यसमा लगानीकर्ता तानिएका हुनसक्ने अनुमान छ । निक्षेपको घट्दो व्याजदर जलविद्युतको सेयरमा प्राप्त हुने सम्भावित मुनाफाभन्दा राम्रो हुने अनुमानले पनि काम गरेको हुनसक्छ ।

अन्यथा, आधारभूत रूपमा निकै कमजोर जलविद्युत कम्पनीहरूको सेयर मूल्यमा उच्च वृद्धि त्यति स्वभाविक देखिन्न । कतिपय जलविदुत उत्पादन हुँदासमेत गि्रडमा जोडिएको छैन, केहीको करोडौंका घाटा तत्काल उठ्ने अवस्था छैन । कुनैको लागत यति महंगो छ कि नाफा कहिले हुने भन्ने ठेगान छैन । तैपनि अहिले सेयर मूल्य बढिरहेको छ ।

सेयर बजारका पुराना लगानीकर्ता डम्बरुबल्ल घिमिरे पनि अहिले बजार बढ्नुपर्ने कुनै कारण नदेखिएको बताउँछन् । आयोजनाहरु लागत खर्च धेरै बढेको र निर्माण गर्ने समयावधि पनि लम्बिँदा त्यसले लगानीकर्ताहरु आत्तिएर सेयर बिक्री गर्ने गरेको उनी बताउँछन् ।

हाईड्रोमा बुझेर सेयर किनबेच गर्नेहरु कम रहेको उनको विश्लेषण छ । ‘त्यसको असर सेयर मूल्यमा परेको छ’, घिमिरे भन्छन्, ‘अहिलेको सेयर बजारले मलाई त फाइदा नै भएको छ ।’

पुराना दिन दोहोरिने सम्भावना कम

सेयर बजारका जानकारहरु हाइड्रोपावरको मूल्य अझ बढ्छ भन्छन् । अब पहिलेको जस्तै ५० रुपैयाँकै हारहारीमा आउने सम्भावना कम रहेको उनीहरुको भनाइ छ ।

विश्लेषक भट्टराई बजार घटबढलाई अस्वभाविक मान्नु नपर्ने बताउँछन् । केही कम्पनीको भने अझै उकालो लाग्ने सम्भावना देखिएको उनले बताए । केही कम्पनीको भने बजार घट्न सक्ने पनि उनी बताउछन् । समग्रमा बजार उकालो लाग्दा हाइड्रोपावरमा सकारात्मक असर पर्ने उनको प्रक्षेपण छ ।

हाइड्रोपावरको सेयर मूल्य ‘अन्डर भ्याल्यूड’ भएको भट्टराई बताउँछन् । अब घट्ने पनि पुरानै अवस्थामा भने र्फकने उनले बताए । ‘ठूलो खराबी भएका आयोजना धेरै छैनन्’ उनले भने, ‘उत्पादनका लागि अलि समय लागेको छ, त्यसले सय रुपैयाँ भन्दा तल झर्ने अवस्था आउँदैन ।’

विद्युतको बिक्री दर सुनिश्चित रहेकाले पनि धेरै असर नपर्ने उनले बताए । अहिले बैंकको ब्याजदर घट्दै गएको कारण पनि सकारात्मक असर गर्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment