Comments Add Comment

संस्मरण : पाथीभरालाई कम्युनिस्ट किताब

तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङको पूर्वपट्टि खोरुङ्गा खोला बग्छ । त्यस खोलाको पूर्वपट्टिको भिरालो पाखो नै मेरो जन्मथलो हो । सिँचाइको असुविधा र बलौटे माटोका कारण उब्जनी कम हुने भएकोले जति खनीखोस्री गरे पनि बाह्रै महिना हातमुख जोड्न धौधौ पर्दथ्यो । आजजस्तो आय–स्रोतका अन्य बाटा नहुँदा आफ्नोमात्र जमीनको उब्जनीले बाँच्न प्रायः असम्भव हुन्थ्यो ।

मेरोजस्तो बाहुन परिवारका लोग्ने मानिसहरू दार्जीलिङतिर पाती पढ्न जाने गर्दथे । कर्मकाण्डका सामान्य किताब पढेपछि पाती पढ्न पारङ्गत हुन्थे बाहुनहरू । अग्रजसँग जानेले त्यत्तिकै पनि सिक्दथे ।

कर्मकाण्डका किताब प्रायः घरैमा पढिन्थ्यो । कोही–कोही मात्र वृन्दावनतिर अध्ययन गर्न जान्थे अनि पण्डित बनेर आउँथे । धार्मिक र आध्यात्मिक समाजमा उनीहरुको हैसियत र आम्दानी दुबै राम्रो हुन्थ्यो । व्यासमा बस्ने पण्डित ठूला मान्छे मानिन्थे । एकपटक मावलीमा लगाएको सप्ताहमा पण्डितको धाराप्रवाह प्रवचन सुनेर आमाले भन्नुभएथ्यो– ‘यो केटो पनि यस्तै पण्डित भए पो !’

विद्यालयहरू खुले पनि केटाकेटी विद्यालय पठाउने चेतनाको विकास भएको थिएन । गाउँभरि एसएलसी पास गर्नेको संख्या अत्यन्तै न्यून थियो । एकाध तिनै व्यक्तिहरू शिक्षित र गन्यमान्य कहलाइन्थे । गाउँको न्याय–निसाफ तिनकै हातमा हुन्थ्यो । त्यतिमात्र होइन, चिट्ठीपत्र पढ्ने र लेखिदिने काम तिनै एसएलसी पासले गर्नुपर्दथ्यो ।

म त्यस्तै पाँच छ वर्षको हुँदो हुँ । तिनै शिक्षित युवाको पहलमा गाउँका भुराकेटाकेटी  पढाउन शुुरु गरिएको थियो  । पुष–माघको समय । बाह्र ठाउँमा टालेको भोटो र धोक्रोजत्रो हाफप्यान्ट लगाएर म पनि त्यो कक्षामा सामेल भएँ । धुलौटोमा छेस्काले  क–ख–ग सिक्नुपर्दथ्यो । कपि–कलम खरीद गर्ने हाम्रो सामथ्र्य थिएन । भोकमरीबाट बच्न खडा गरिएको धर्म भकारी भवनमा गुन्द्री ओछ्याएर हाम्रो पढाइ शुरु भयो ।

क ,ख सिक्न शुरु गर्ने हामी सबैको समान उमेर थिएन । कोही छ–सात वर्षका थिए भने कोही जँुगाको रेखी  बसिसकेका युवाहरू एकै समूहमा थिए ।  म शारीरिक रुपमा मरन्च्याँसे र उमेरमा सानो भएपनि ती जुँगाको रेखी बसेका विद्यार्थीभन्दा चाँडो क–ख सिकें ।

हाजिर लिएपछि जङ्गलमा दाउरा खोज्न दौडादौड हुन्थ्यो हामी विद्यार्थीको । सबै सर र विद्यार्थी बडेमानको आगोअगाडि झुम्मिन्थ्यौं । यत्तिकैमा दिन घर्किन्थ्यो

हाम्रा क–ख पढाउने सर पनि सानो कदका नै थिए । क–ख चिन्ने प्रतियोगिता मैले जितें । पुरस्कारस्वरूप मैले मभन्दा धेरै अग्लो साथीलाई गालामा चड्कन लगाउनुपर्ने भयो । मैले उसको गाला नभेट्ने भएकाले सरले मलाई उचालेर चड्कन लगाउन लगाउनुभयो । अध्ययनको सिलसिलामा मैले पाएको प्रथम पुरस्कार थियो त्यो । चड्कन खानेको त्यही दिनदेखि पढाइमा पूर्णविराम लाग्यो सदाका लागि ।

जाडोमा स्यु स्यु गरेर सिकेको क–ख गर्मी चढेपछि  घर र मेलापातको कामले बिर्सिहालिन्थ्यो । केही वर्ष अक्षर चिन्ने र बिर्सिने क्रम चलिरह्यो । एकदिन छिमेकीको विवाहको कार्यक्रम चलिरहँदा हामीलाई धर्म भकारीमा क–ख सिकाउने सरले मेरो तीक्ष्ण दिमागकोे ठुलो प्रशंसा गर्नुभयो । त्यसले मेरा बुबालाई मलाई स्कुल भर्ना गर्न कर लाग्यो । फलस्वरुप म त्यही शैक्षिक सत्रदेखि  विद्यालयमा भर्ना भएँ ।

छिमेकीले दिएको एक टुक्रो पेन्सिल र सोह्र पन्ने कपि लिएर स्कुल गएको अझै दिन ताजै छ । टालेको भोटो, धोक्रोजस्तो प्यान्ट, टुप्पी निस्कने टोपी र खाली खुट्टा  थियो त्यो हुलिया ।

‘नाम के हो ?’ सरले सोध्नुभयो ।

‘खोमप्रसाद, खोमप्रसाद भट्टराई’ मैले चिनाको नाम बताएँ ।

‘अहिलेको जमानामा त्यस्तो नाम सुहाउँदैन, तिम्रो नाम निर्मल’ सरले मेरो दोस्रो न्वारान गरिदिनुभयो ।

घरमा आमा र मबाहेक कोही थिएनौं । बुबा र दाइ दार्जिलिङतिर पाती पढ्न हिँडिहाल्नुभयो । वस्तुभाउ र खेतीपाती सम्हाल्दा सम्हाल्दै बिहानी घाम माथिमाथि आइपुग्थ्यो । मेरो विद्यालय हिँड्ने बेलामा भर्खर चुल्हो बल्न शुरु हुन्थ्यो । मसँग दुई विकल्प थिए– कि स्कुल छोडेर भात कुरेर बस्ने या भोकै स्कुल जाने । मैले विनाद्विविधा  दोस्रो  विकल्प रोजें ।

मेरो पढाइ शुरु भयो । लेकको स्कुल, पौष–माघको जाडो । ध्यान पढाइमा भन्दा जाडोमा  हुन्थ्यो । घाम लागेको चौरमा बस्ने वा जङ्गलबाट दाउरा ल्याएर आगो ताप्ने ।

हाजिर लिएपछि जङ्गलमा दाउरा खोज्न दौडादौड हुन्थ्यो हामी विद्यार्थीको । सबै सर र विद्यार्थी बडेमानको आगोअगाडि झुम्मिन्थ्यौं । यत्तिकैमा दिन घर्किन्थ्यो । सरहरू नजिकैको लिम्बु दाइको पसलमा खाजा खान जानुहुन्थ्यो । एकजना संस्कृत पढाउने सर भने त्यो समूहमा थिएनन् । ती सर प्रायः संस्कृतका श्लोक गुन्गुनाइरहन्थे । धेरै वर्षपछि मात्र मलाई उनले गुनगुनाएको त्यो श्लोक बताए–

लालायित पञ्चबर्षाणि दशबर्षाणि ताडयत् ।

प्राप्तेषु षोडशे बर्षे पुत्रमित्रवदाचरेत् ।।

कानसम्म त्रिशुले चन्दन लगाउने ती सरसँग पछिसम्म आगो तापिन्थ्यो । कपाल र लुगाभरि खरानी भरिभराउ । अनुहारभरी ध्वाँसो ।

‘तिमीचाहिँ खाजा खान नजाने सार !’ एकदिन लाहुरेको छोरोले सोध्योे ।

‘आम्मोइ, लिम्बुको घरमा म खाजा खान जाने ?’ सरले रिसाउँदै भन्नुभयो ।

‘किन हामी लिम्बुकोमा सरले खाजा खान नहुने ?’ त्यो अबोध लिम्बुले फेरि प्रश्न तेस्र्यायो ।

‘तँलाई के मतलब,  कि चुपचाप आगो ताप कि घर जा !’

ऊ रिसाहा अनुहार बनाएर घर हिँड्यो । खाजा भनेपछि आफ्नो घरको  भुटेको मकै, कोदाको रोटीको सम्झना आउँथ्यो हामीलाई चाहिँ । अनि कपि–पेन्सिल  च्यापेर घरतिर कुद्थ्यौं । बाटोमा सरहरू खुट्टा लरबराउँदै घर फर्केको भेट्थ्यौं । कोहीकोही साथीहरू लरबराउँदै हिँडेका सरहरूलाई जिस्क्याउँदै भाग्थे ।

स्कुलमा प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप हुन्थ्यो । अतिरिक्त क्रियाकलापका एकाध घटनाको याद आउँछ । एक शुक्रबार हाजिरीजवाफ प्रतियोगिता हुँदै थियो । म पनि एक टोलीको सदस्य थिएँ । टोली नेता जनक थियो । हाम्रो टोलीलाई यस्तो प्रश्न पर्यो– ‘कको बाबु ख हो तर खको छोरो क होइन, उनीहरुको साइनो के हो ?’

उत्तर मलाई आउँथ्यो मैले टोली नेतालाई कानमा ‘बाबुछोरी’ भनें । उसले हतपत उठेर ‘बाउजेरी’ भनेर करायो ! सबै गलल्ल हाँसे । हाम्रो उत्तर मिलेन ।

अर्को एक शुक्रबार गायन प्रतियोगिता हुदैं थियो । संयोगवश बाटोमा कसैले राम्रो अक्षरमा लेखिएको छ हरफको गीत फेला पारेको थिएँ । नयाँ गीत भेटिएकोले प्रतियोगिता जित्नेमा म ढुक्क थिएँ ।  न्वारानदेखिको बल निकालेर लय निकालेर गाउन थालेँ । आमाले गाएको संगिनी र भजनबाहेक मैले खास कुनै गीत सुनेको थिइन । मेरो गीत सुनेर त सबै हाँस्न थाले ।

कुरा के रहेछ भने त्यो गीत त नारायणगोपालको प्रसिद्ध गीत ‘दुईटा फूल द्यौरालीमा’ पो रहेछ । मैले कहिल्यै त्यो गीत सुनेको थिइँन । घरमा रेडियो भए पो !

बडो मेहनतका साथ एक शुक्रबार म्युजिकल चेयरमा मैले प्रथम पुरस्कार जितें । पुरस्कार पुरानो गोरखापत्रले बेरेर निक्कै आकर्षक बनाइएको थियो । घरमा लगेर मात्र खोल्नु भन्ने सरको आदेश मानेर घरमा लगेर आमालाई देखाएँ । आमा पनि छोराले जितेको पुरस्कार देखेर फुरुङ्ग पर्नुभयो । खोल्दा त पत्रिकाले आँगन ढाकिसक्दा पनि पुरस्कार भेटिएन । अन्त्यमा अलि गह्रौं कागजको डल्लो फेला पर्यो । त्यो पनि कोट्याउँदा बल्ल पुरस्कार भेट्टियो । त्यहाँ त गमले मेहनतसाथ कागज टाँसिएको ताजा फर्सीको गट्टो पो रहेछ ।

किताब पाथिभराको आलमारीमा चडाएर दण्डवत् गरें । किम इल सुङको जीवनी समेटिएको त्यो किताबले पाँच रुपैयाँको नोट च्यापेर पाथिभरा मन्दिरको आलमारीमा कति वर्ष बस्यो कुन्नि !

आमा पुरस्कार सम्झेर पछिसम्म हाँसिरहनुभयो ।

त्यसबेला राजाका जन्मजयन्ती र जन्मोत्सव आइरहन्थे ।  सबै अनिवार्य उपस्थित हुनुपर्ने । जन्मोत्सव र जयन्तीमा नारा जुलुससहित नजिकैको औंशीबजार परिक्रमा गर्नुपर्थ्यो ।  अनि पञ्चहरूले  आयोजना गरेको सभामा भाग लिनुपर्थ्यो । हरेक फागुन–७ गते त्यस्तै क्रार्यक्रम थियो । सरहरू हातमा लट्ठी लिएर भेडाबाख्रा डोहोर्याएझैँ हामीलाई औंशीबजारतिर लैजानु हुन्थ्यो ।

‘श्री ५ त्रिभुवन अमर रहुन् !’

एकजना सर जुलुसको अग्रपंक्तिबाट जोडले कराए । भर्खर भर्ना भएका विद्यार्थीले जोडले नारा लगाए– ‘आम्माओ आओ आओ ।’  सरहरूले हावामा लट्ठी घुमाउँदै नारा सुधार्नुपरेको थियो । स्कुल नजिकैको ठूलो चौरमा भेडा गोठालोको र सरहरूको हातमा दिनभरिजसो नै लट्ठी हुने गथ्र्यो ।

कक्षा ६ मा पढ्दै गर्दा ताप्लेजुङ जिल्लाको प्रसिद्ध पाथिभरा मन्दिर लैजान आमाले तयारी गर्नुभएछ । त्यहाँ पुगेर आउन एक हप्ता घर छोड्नु आमालाई सहज थिएन । तर, त्यो उहाँको बाध्यता थियो । बाध्यता के थियो भने, म दुई महिनाको हुँदा निमोनियाले आलस तालस भएँछु ।

दिनभरि फेदाङ्गवाले मुन्दुम र धामीले झारफुक गरेछन् । राति करीब २ बजे म सिकिस्त भएछु । घर एकान्तमा भएकाले   अरुको सहयोग माग्ने सम्भावना थिएन । मलाई बचाउन आमाले एकैपटक दुईवटा आपतकालीन उपचार शुरु गर्नुभएछ ।

पहिलो, सुन्तलाको बोक्रो, कमेरो र दुबो सिलौटामा पिँधेर उपलब्ध सफा रुमालले छानेर एकदुई थोपा मेरो मुखमा राखिदिनु भएछ । दोस्रो, म बाँचिहाले भने म हिँड्न सक्ने भएपछि पाथिभरा लैजाने भाकल गर्नुभएछ । सायद औषधीको प्रभावले पनि  होला, म बौरिएछु । आमालाई त्यो भाकल सुत्ने ओछ्यानमाथि त्यान्द्रे डोरीले झुण्ड्याएको जांँतोसरह हुनु स्वाभाविक थियो । अरुबेला पनि त्यो भाकलबारे आमा गम्भीर भएर चर्चा गर्नुहुन्थ्यो ।

हामी यात्रामा हिँड्ने दिन नजिक आउँदै थियो । आमाले भन्नुभयो– ‘पाथिभरामा कुनै किताब चढाए पढ्न खुब आउँछ रे । कुनै चढाउने भए किताब बोक् है !’

कुन किताब चढाउने ? कोर्षको किताब चढाएर के पढ्ने ? मलाई धर्मसंकट पर्यो । घरमा किताब खोज्न थालें । छानामा घुरारेको माउले प्वालैप्वाल पारेको एउटा किताब फेला पर्यो । माउले खाएर बाँकी ठाउँमा पढ्न थाले । थुप्रै उट्पट्याङ कुराहरू थिए त्यसमा । एउटा हरफ यस्तो थियो– घोडाको मुत कराहीमा तताए कहिल्यै तात्तैन !

म अर्को किताब खोज्न काकाको घरतिर लागें । काका अलि पढेलेखेको हुनुहुन्थ्यो । हाम्रो वडाको वडाअध्यक्ष हुनुहुन्थ्यो उहाँ ।

‘आमाले भनेको, पाथिभरामा चढाउन एउटा किताब दिनु रे’ मैले डराइडराइ भनें ।

‘चढाउने किताब ?’ काका गलल्ल हाँस्नुभो– ‘किताब त पढ्ने पो चढाउने हो र ?’

म जिल्ल परें । किताब दाबी गर्ने मेरो तर्क थिएन । न तागत नै । काकाले एकछिन सोचेर किताब राखेको आलमारीबाट एउटा किताब निकालेर दिनुभयो । मैले जीवनमा त्यति राम्रो किताब देखेको थिइन । हतारहतार घर आएर आमालाई किताब देखाएँ । किताब देखेर आमा पनि लोभिनुभयो । ‘आज राति पढिसकेस्, किताब राम्रो रहेछ ।’

किताबको जिल्लामा एउटा राई–लिम्बुजस्तो देखिने मान्छेको फोटो र फोटोको पुछारमा लेखिएको थियो – किम इल सुङ ।

टुकी बत्तीमा बडो उत्साहका साथ पढें तर मेरो कलिलो दिमागमा केही पनि घुसेन । मार्क्र्सवाद, लेनिनवाद, अमेरिकी साम्राज्यवाद, माओवाद, जुछे विचारधाराजस्ता शब्दावली मेरा पहुँचमा थिएनन् । किताब जति सुन्दर भए पनि चढाउनु सिवाय मलाई त्यो किताबको कुनै उपयोगिता थिएन ।

कुम्लो कुटुरोमा सातु–सामल बोकेर हामी पाथिभरातर्फ लाग्यौं । त्यो किताब पाथिभराको आलमारीमा चडाएर दण्डवत् गरें । किम इल सुङको जीवनी समेटिएको त्यो किताबले पाँच रुपैयाँको नोट च्यापेर पाथिभरा मन्दिरको आलमारीमा कति वर्ष बस्यो कुन्नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment