Comments Add Comment

किवी : रसिलो, स्वादिलो र पोषिलो

पछिल्लो समय नेपालीको घर–आँगनमा भित्रिएको फल हो, किवी । अत्यान्तै स्वादिलो र पोषिलो भनिएको यो फल विगतमा नेपालका बनजंगलमा पनि पाइने गरेको बताइन्छ । जंगलमा पाइने यस फललाई गाउँघरतिर ‘ठेकीफल’ भन्ने गरिन्थ्यो । त्यसो त ठाउँ अनुसार यसको नाम फरक फरक छ । कसैले गाईगुने फल पनि भन्ने गरेका छन् ।

स्वाद र पोषणका आधारमा विश्वका फलहरुको सूचिकरण गरिएको छ । यसमा किवी पनि समावेश छ ।  अर्थात स्वादिलो र पोषिलो फलमध्ये किवी पनि एक उत्कृष्ट फल हो ।

किवीको विशेषता के भने, यसमा अरु थुप्रै फलहरुको फ्लेवर पाउन सकिन्छ । जस्तो जंगली ऐंसेलु, भुँइकटहर आदि ।

किवीका दुई प्रकार

– किवी दुई प्रकारका हुन्छन् । एउटा झुस हुने र अर्को नहुने । हावार्ड जातीको किवी बिश्वभर लोकप्रिय छ ।

– किवीलाई जाम, जुस, वाइन, केक, सलाद आदि रुपमा प्रयोग गर्न सकिन्छ  ।

किवी स्वादिलो र रसिलो फल त हो नै, उत्तिकै पोषिलो पनि । त्यसो त किवीमा केही यस्ता गुणहरु हुन्छन्, जसले स्वास्थ्यमा प्रत्यक्ष लाभ पु¥याउँछ । जस्तो, पाचन प्रक्रिया सुधार्न होस् वा रक्तचाप नियन्त्रण गर्न किवी उपयोगी हुने बताइन्छ । यस्तै दमको समस्यामा, आँखाको समस्यामा, छालाको समस्यामा पनि किवी फल फाइदाजनक मानिन्छ । यसले हाम्रो शरीरको रोग प्रतिरोधी क्षमता पनि बढाउने बताइन्छ ।

किवीमा प्रोटिन, फाइबर, भिटामिन सी, आइरन, फोलेट जस्ता पोषक तत्व पाइन्छन् । यो विभिन्न शारीरिक रोगहरु नियन्त्रणमा पनि सहयोगी हुने बताइन्छ । एसिया प्यासिफिक जर्नल अफ क्लिनिक न्युट्रेसनमा प्रकासित एक अध्ययन प्रतिवेदन अनुसार अनिद्राको समस्यामा पनि किवीले औषधिको काम गर्छ । साथै यसले पेटको विभिन्न समस्याबाट बचाउनुका साथै मधुमेह, निमोनिया, दम, रक्तचाप, कोलेस्टोरलाई सन्तुलनमा राख्ने काम गर्छ ।

यसले छालालाई स्वस्थ राख्न भूमिका खेल्छ । छालासम्बन्धि विभिन्न रोगबाट पनि बचाउँछ ।

यसले आँखालाई समेत फाइदा गर्छ । किवीको नियमित प्रयोगले रक्तचाप सन्तुलनमा रहन्छ । यसले मुटु रोगको सम्भावनालाईसमेत कम गर्छ । यसमा प्रसस्त आइरनको मात्रा हुने भएकाले गर्भवती महिलाहरुको लागि निकै उपयोगी हुन्छ ।

किवीको कथा

किवी फल सुरुमा चीनमा पत्ता लगाइएको र पछि न्युजिल्यान्डमा विकास भएको मानिन्छ । यसको बाहिरी झुस न्युजिल्यान्डको राष्ट्रिय चरा किवीको भुवा जस्तो देखिने भएकाले किवी नाम दिइएको हो । सन् १९७४ मा यसको औपचारिक नामाकरण भएको थियो । न्युजील्यान्डमा यसको खेती अत्यधिक मात्रामा हुने गर्छ । किवी खेतीको लागि चिसो हावापानी उपयुक्त हुन्छ ।

किवीको एक स्वस्थ बोटले सय किलोग्रामसम्मको उत्पादन दिन्छ । नेपालको पनि विभिन्न उच्च भुभावमा यसको खेती गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment