Comments Add Comment

जब ‘उखान’ले अपमानित गर्छ

लामा–लामा वाक्यहरूको साटो एउटै उखान टुक्काले मनको भाव गजबसँग दर्शाउँछ । उखानहरूले हाम्रो बोलाइलाई ‘तिख्खर’ बनाउँछ । उखान टुक्काहरूले समाजमा भइरहेका चालचलन कस्ता छन् भन्ने पनि देखाउँछ ।

कति उखानहरू समय परिवर्तन हुँदै जाँदा प्रयोग गर्न छोडिन्छन् । विशेष गरी त्यस्ता उखान–टुक्का जसले कुनै जाति विशेष वा समुदायलाई अपमानित गर्छन् । नेपालमा महिला र जात विशेषलाई लिएर अनेक उखान छन् ।

कतिपय उखानहरू आजकल सामाजिक कारणले प्रयोगमा पनि ल्याइँदैनन्, तर महिलालाई अपमानित गर्ने कतिपय उखानहरू अझै प्रयोग गरिन्छ । महिला समानता र लैंगिक समानताप्रति चेतना जागरुक भइरहेको सन्दर्भमा यस्ता उखान अप्रासंगिक भएका छन् । त्यसैले तिनलाई अब दैनिक जीवनमा परहेज नै गर्नुपर्छ ।

तर, कतिजनाले भन्छन् होला, ‘यस्ता उखान हटायो भने त हाम्रो साहित्यिक भण्डार सानो हुन्छ ।’

यस्ता नकारात्मक उखानले समृद्ध साहित्य गरेका छन् भन्नु फजुल हो । हाम्रो संस्कृतिमा महिला र मानवविरोधि कति संस्कृतिहरू हामीले हटायौं । जस्तो ‘सति प्रथा’ हट्यो । बालविवाहको चलन कानुनबाट हट्यो, अछुत भन्ने चलन बिस्तारै कम हुँदैछन् । संस्कृति बचाउने नाममा त्यस्ता चलन राख्नुपर्छ भनेर कसैले पनि भन्ने साहस गर्दैन ।

त्यसैगरी संस्कृति र संस्कारका नाममा अप्रसांगिक भइसकेका उखानलाई बोलचाल र लेखाइमा प्रयोग गर्दा नेपाली भाषामा ओज आउन्न । बरू यस्ता उखान प्रयोग गरिए पो ओज हराउँछ । त्यो त समय विरोधी हुन जान्छ ।

महिलाविरोधी सँगसँगै जात र समुदायविरोधी उखान पनि धेरै छन् । जस्तै :

‘तरुनी, बेस्से, सातवटा पोइ, मर्न लागि बेस्से कोही न कोही ।’

– ‘जब पर्यो राति अनि बुढी ताती ।’

– ‘अनुहार न दनुवार पोइ खोज्न थाली । ‘

– ‘आइ बुढी मच्चिँदै, गई बुढी थच्चिँदै ।’

यस्ता उखानले महिलाको यौनिकताको अपमान गर्छन् । चरित्रमा लान्छना लगाउँछन् ।

महिलाहरू फाल्तु कुरा गर्नमात्र रुचाउँछन् र उनीलाई गम्भीर महत्त्वपूर्ण काममा साझेदारी दिनुहुँदैन भन्ने भाव यो उखानले दिन्छ– ‘आईमाईको पेटमा कुरा पच्दैन’, ‘रुद्रघण्टी नहुनेको विश्वास नगर्नू’ आदि ।

अहिलेको सामाजिक परिप्रेक्षमा सामन्ति पृष्ठभूमिबाट उब्जेका यस्ता उखानहरू अहिले प्रयोग गर्दा कुरीतिका पोषक, अन्धविश्वासको समर्थक भइन्छ । त्यसैले प्रयोग दैनिक जीवनमा नगरौं । हामीले प्रयोग नगरेपछि भविश्यको पुस्ताले पनि सिक्दैनन् ।

अहिलेको बेलामा पनि महिलाहरू घरभित्र मात्र बस्छन् वा बस्नुपर्छ भन्ने भावना मुखरित हुने उखान पनि धेरै प्रयोगमा छन् । जस्तै– ‘लुगा धोइस् बुढी ? सुँघी हेर बुढा’ । ‘आमा छोराको ऐंचो–पैंचो, बाबु–छोराको लेनदेन ।’

अन्धविश्वासलाई बढावा दिने, कुरीतिलाई मान्ने र त्यसमा पनि महिलालाई नै अपमान हुने उखान टुक्काहरू अहिले पनि कहिलेकाहीँ प्रयोग गरिन्छ जस्तै– ‘जो बोक्सी, उही सुँडेनी ।’ ‘कंगालको जात छैन, बोक्सीको गाउँ छैन ।’ ‘चाहिँदा हावा, नचाहिँदा, बोक्सीको सास ।’

यसैगरी, महिलालाई वस्तुका रुपमा प्रस्तुत गर्ने, दुई अर्थ भएका, अश्लील, यौनिक तत्त्वहरू पनि समावेश भएका उखानहरू प्रशस्त छन् । यस्ता उखानले महिलालाई मनोरञ्जन, भोगको सामान बनाउँदै तल खसालेर हियाँउछन् । यस्ता उखानहरू कुनै पनि व्यक्तिले आफ्नो आमा, छोरी, बज्यैलाई प्रयोग गर्दैन होला । सामाजिक जीवनमा कुराकानी गर्दाचाहिँ यस्ता उखान टुक्काहरू सुनिहालिन्छन् । जस्तै– ‘बाह्र वर्षमा पोइ आयो, मै राँडीलाई ज्वरो आयो’, ‘मोहबत राख्ने स्वास्नी मानिसका सातवटा हुन्छन्’, ‘सुत् बुढी म…. ।’

सामन्तकालीन संस्कृतिलाई झल्काउने र कुरीतिलाई प्रश्रय दिने उखान पनि यदाकदा कतिका मुखबाट निस्किहाल्छन् । जस्तो :

– कान्छीको पादै प्यारो, जेठीको बोलाइ नै प्यारो ।

– तीन गोरुको हल पक्का, दुई स्वास्नीको घर पक्का ।

लागे लाग् मोहनी, नलागे घरमै सातवटी ।

‘सौताको रिसले पोइको काखमा मुत्नु ।

त्यसैगरी एकल महिलालाई ‘राँडी’ भनेर अपमान गर्ने उखान पनि छन् । ‘नामर्दको भर नपर्नु, राँडीको भोज नखानू’, ‘राँडीलाई पोतेको रहर’, ‘राँडीलाई ढोग्दा मैजस्तो होस् भन्छे’, ‘गरिबलाई दिउँला नभन्नु, राँडीलाई लैजाउँला नभन्नु ।’

यस्ता उखानहरू सहरमा त्यति नसुनिए पनि गाउँघरमा अझै पनि सुनिन्छन् । छोराछोरीमा भेदभाव गर्ने उखान त अहिले पनि जताततै प्रयोग गरिन्छ । जस्तै : ‘छोरा पाए खसी, छोरी पाए फर्सी ।’ ‘छोरी मरी, राम्रै घर परी ।’, ‘छोरा पाल्नु सहरमा, छोरी पाल्नु कुनामा ।’

छोरा र छोरीको विभेदले नेपाली समाज कतिसम्म जरो गाडेको थियो र छ भनेर घटना जनाउने उखान छ । कृष्णप्रसाद भट्टराईले २०४७ सालमा संविधान आएपछि भनेका थिए, ‘ढिलो भयो छोरै भयो, संविधान ढिलै आए पनि राम्रो आयो ।’

महिलाहरूको सम्बन्धमा विशेषगरी सासू बुहारीको सम्बन्ध त नराम्रै हुन्छ भन्ने विचारले धेरै उखान–टुक्का बनेका छन् । उदाहरणका लागि– ‘चोर्ने बुहारीलाई भण्डार सुम्पिनु’, ‘ठूलो गाँस नहाल् बुहारी, कण्ठश्री चुडिएँला’, ‘अर्घेली बुहारी पाहुनासित सुत्छे’, ‘उसै त बुहारी भटमास खाएकी’, ‘सासू परी परिपाठ गरी’, ‘गनगन गर्ने सासू, फनफन पर्ने बुहारी ।’

यस्ता उखानले सासू–बुहारीको सम्बन्धलाई हेय दृष्टिकोणले हेर्छन् । सासू ज्वाइँको सम्बन्धमा, ससुरा–बुहारीको सम्बन्धमा, ससुरा ज्वाइँको सम्बन्धमा यस्ता अपमानित गर्ने उखान टुक्का बन्दैनन् ।

महिलालाई अपमान गर्ने उखान टुक्काबाहेक जात, समुदायलाई अपमानित गर्ने उखान टुक्का पनि जो आजसम्म कहिलेकाहीँ सुनिन्छ । ‘कामी दमाई माग्न जान्दैन, दाद–लुतो आउन जान्दैन’, ‘कामी ढर्रा दमाइ स्वाङ ।’, ‘नेवार इष्ट, बाबु दुष्ट हुँदैन ।’ आदि ।

यस्ता उखानले साँघुरिएका विचारको प्रतिनिधित्व गर्छ । तर, अझै पनि यस्ता उखान सत्य ठानी उपयोग गर्नेहरूको कमी छैन । यस्ता उखानहरू पनि हाम्रो समाजमा थिए भन्ने कुरा इतिहासमा पढ्न सकिएला । तर, अहिलेको सामाजिक परिप्रेक्षमा सामन्ति पृष्ठभूमिबाट उब्जेका यस्ता उखानहरू अहिले प्रयोग गर्दा कुरीतिका पोषक, अन्धविश्वासको समर्थक भइन्छ । त्यसैले प्रयोग दैनिक जीवनमा नगरौं । हामीले प्रयोग नगरेपछि भविश्यको पुस्ताले पनि सिक्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment