+
+

राष्ट्रपतिले बुधबार रानीपोखरीको उद्घाटन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ४ गते १८:५८

४ कात्तिक, काठमाडौं । पुनर्निर्माण सकिएको रानीपोखरीको भोलि (बुधबार) उद्घाटन हुने भएको छ । पोखरी र पोखरीबीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएपछि उद्घाटन हुन लागेको हो ।

बिहीबार मध्याह्न १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्न लागेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने कार्यक्रम रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार पुनर्निर्माणपछि बत्ती जोड्ने, रंगरोगन गर्ने, सरसफाइ गर्ने लगायतको काम सकिएपछि उद्घाटन गर्न लागिएको हो ।

२०७२ माघ २ गते राष्ट्रपतिले रानीपोखरीको शिलान्यासबाटै पुनर्निर्माण अभियान सुरु गरेकी थिइन् । लामो समयको अलमल र विवादपछि रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको हो ।

बालगोपालेश्वर मन्दिर पनि मल्लकालमै रहेको ग्रन्थकुट (शिखर) शैलीमै बनेको छ । त्यसअघि राणाकालमा यो मन्दिर गुम्बज शैलीमा पुनर्निर्माण भएको थियो ।

सुरुमा रानीपोखरी काठमाडौं महानगरले जिम्मा लिएर अलपत्र पारेको थियो । पोखरीदेखि पर्खालसम्म सबैतिर कंक्रिट प्रयोग भएपछि विवाद भयो । रानीपोखरीको पुनर्निर्माणमा कंक्रिट प्रयोग गर्ने अडानले मेयर विद्यासुन्दर शाक्य विवादमा पनि तानिएका थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरी तथा पुरातत्व विभागले मन्दिर पुनर्निर्माणको जिम्मा लिएका थिए । भक्तपुरका कालीगढ ल्याएर परम्परागत तवरले कालोमाटोको प्रयोग गरेर पोखरीलाई पानी अडिने बनाइएको थियो ।

भूकम्पबाट क्षति पुगेको रानीपोखरीले करिब साढे ४ वर्षमा पुनर्जीवन पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?