Comments Add Comment

लेखा समितिलाई अख्तियारको जवाफ – मिश्रका कारण गोकुल बास्कोटामाथिको छानबिन रोकियो

विजयप्रकाश मिश्र

४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गोकुल बास्कोटामाथि छानबिन उनको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रका कारण रोकिएको बताएको छ ।

मिश्र सम्पर्कमा नआउँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भएको भनिएको ७० करोड रुपैयाँ अनियमितताबारे छानबिन रोकिएको भनी अख्तियारले संसदको सार्वजनिक लेखा समितिलाई पत्र पठाएको छ ।

तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री बास्कोटाले ७० करोड रुपैयाँ कमिसनको मोलमोलाइ गरेको अडियो मिश्रले सार्वजनिक गरेका थिए । लेखा समितिले ०७६ फागुन ३० गते अख्तियारलाई पत्र लेखी यसबारे अनुसन्धान गर्न भनेको थियो ।

लेखा समितिले ८ असोज ०७७ मा अख्तियारलाई पत्र लेखी सेक्युरिटी प्रेस खरिदको छानबिन कहाँ पुग्यो ? भनेर सोधेको थियो । त्यसको जवाफमा अख्तियारले मिश्रसँग भेट नभएका कारण छानबिन रोकिएको जवाफ दिएको लेखा समिति सभापति भरत शाहले बताए ।

‘बयान सबै लिइसकेका छौं, विजय मिश्र नआएका कारण छानबिन रोकिएको कुरा अख्तियारको पत्रमा उल्लेख छ’ सभापति शाहले अनलाइनखबरसँग भने ।

१७ भदौमा अख्तियारले विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको थियो । तर, हालसम्म मिश्र अख्तियारमा हाजिर हुन गएका छैनन् ।

बास्कोटाले सेक्युरिटी प्रस खरिदका लागि स्वीस कम्पनी केबीए नोटासिसको एजेन्ट मिश्रसँग कमिसनको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए । मिश्र हाल जापान रहेको पनि बताइएको छ ।

अख्तियारको पत्रबारे समितिमा छिट्टै छलफल गरेर अख्तियारलाई पुन ताकेता गर्ने लेखा समिति सभापति शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment