Comments Add Comment
अनलाइनखबर टिप्पणी :

‘रअ’ का हाकिम काठमाडौं किन आए ? सरकारले जवाफ देओस्

६ कात्तिक, काठमाडौं । मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले नेपाली नागरिक उड्यन मन्त्रालयसँग कूटनीतिक उडानका लागि अनुमति माग्यो ।

कोभिडका कारण नेपाल र भारतका वीचमा नियमित उडान नभएका कारण सो अनुमति मागिएको थियो । सो प्रस्ताव तुरुन्तै परराष्ट्र मन्त्रालयमा पुग्यो ।

सो प्रस्तावका सम्बन्धमा मन्त्रालयमा केहीबेर छलफल भयो । तर, कूटनीतिक उडानका लागि अनुमति नदिने कुरै थिएन, मन्त्रालयले तुरुन्तै अनुमति दियो ।

उसो त भारतले  केही समयदेखि नियमित उडानको मागसमेत गर्दै आइरहेको थियो । कूटनीतिक अनुमति पाएको भारतीय उडान बुधबार मध्यान्ह त्रिभुवन विमानस्थलमा ओर्लियो । सो उडानमा भारतका को–को कूटनीतिज्ञहरु आएका थिए भन्ने विषयमा उडानको अनुमति दिने परराष्ट्र मन्त्रालयलाई केही जानकारी छैन ।

समाचार स्रोतका अनुसार भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको नेतृत्वमा ९ सदस्यीय टोली बुधबार एयरफोर्समार्फत काठमाडौं आएको हो । तर, रक्षा मन्त्रालयसमेत प्रधानमन्त्री ओलीले नै सम्हालेका बेला भारतीय गुप्तचरको यो भ्रमणलाई सरकारले ‘गोप्य’ राखेको छ ।

यो पनि पढ्नुहोस रअका प्रमुख काठमाडौंमा

गुप्तचर प्रमुख गोयल काठमाडौं आउने दिन प्रधानमन्त्री ओलीमा  विशेष सक्रियता देखिएको थियो । प्रधानमन्त्री बुधबार साँझसम्म सुरक्षा परिषदको बैठकमा व्यस्त बनेका थिए ।

यतिबेला अर्काे प्रश्न चिन्ह पनि उत्पन्न भएको छ । गोयललाई भारत सरकार आफैंले पठाएको हो कि नेपाल सरकारको आग्रहमा आएका हुन् ?

सुरक्षापरिषदको बैठकपछि प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गरेका थिए ।

गोयलको यो भ्रमणबारे परराष्ट्र मन्त्रालय भने केही बताउन सक्ने अवस्थामा छैन । किनभने, यसको सबै तारतम्य प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीको तहबाटै मिलाइएको छ ।

रअ प्रमुख सामन्तले काठमाडौंमा क–कसलाई भेटे भन्नेबारे पनि परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी दिइएको छैन । केवल एयरफोर्समा आउने टोलीलाई अनुमति दिनमात्रै परराष्ट्रसँग अनुमति मागिएको तर, काठमाडौंमा हुने भेटघाटको अनुमति नमागिएको परराष्ट्रका कर्मचारी बताउँछन् ।

जबकि कोही पनि विदेशीले नेपालमा आएर राजनीतिक भेटघाटहरु गर्दा परराष्ट्र मन्त्रालयबाट अनुमति नलिई भेट्न मिल्दैन । अनुमति लिएर भेट गर्दा पनि परराष्ट्र मन्त्रालयको प्रतिनिधिलाई साथमा राख्नुपर्छ । पूर्वप्रधानमन्त्रीहरुसँग भेट्दा पनि विदेशीले अनुमति लिनुपर्ने परराष्ट्र मन्त्रालयको आचारसंहितामा छ । तर, यतिबेला सो कूटनीतिक आचारसंहितालाई लत्याइएको छ । गोयलले काठमाडौंमा क–कसलाई भेटे भन्ने सरकारले खुलाएको छैन ।

सत्तारुढ नेकपाका अर्का अध्यक्ष प्रचण्डको सचिवालयले भने गोयलसँग भेटघाट नभएको बताएको छ ।

नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि कांग्रेस सभापति देउवासँग भेटघाटको सेड्युल नरहेको बताउँछन् । सुरक्षाको मामिलामा आएको हुन सक्ने भएकाले राजनीतिक भेटघाट नगरी प्रधानमन्त्रीलाई मात्र भेटेको हुन सक्ने शर्माको विश्लेषण छ ।

आफैंले कूटनीतिक उडानको अनुमति दिएको र यति चर्चा भइसकेको यस विषयमा जनतालाई यथार्थ जानकारी गराउने दायित्व सरकारको हो ।

नेपालले सीमासम्बन्धी वार्ताका लागि उच्च राजनीतिक र प्रशासनिक तहमा वार्ताको प्रस्ताव गरिरहेको समयमा खुफिया एजेन्सीका अधिकारीहरु भ्रमणमा आउनु र नेपालका नेताहरुसँग खुला रुपमा भेटघाट गर्नु सामान्य विषय होइन ।

नेपालले दुई देशका परराष्ट्र सचिव एवं परराष्ट्रमन्त्रीहरुको बैठक गर्न भनिरहेको छ, तर भारतले कोभिडको कारण देखाउँदै सम्भव नभएको बताउँदै आएको छ । भारतले अन्य छिमेकी देशहरुसँग भने कोभिडकै बेलामा वार्ताहरु गरिरहेको छ । नेपाललाई चाहिँ उसले उपेक्षा गर्दै आएको छ ।

तर, कोभिडको संक्रमण नै उच्च रहेको समयमा खुफिया एजेन्सीका व्यक्तिहरु काठमाडौं आएर सरकारका उच्च अधिकारीहरुसँग भेटघाट गरेका छन् । यसले गर्दा कतै विगतमा जस्तै नेपाल मामिलामा खुफिया एजेन्सी हावी भएको त होइन भन्ने प्रश्न चिन्ह उत्पन्न भएको हो ।

केही वर्षयता नेपालमा खुफिया एजेन्सीको प्रभाव कम भएको थियो । तर, फेरि हामीले नै आमन्त्रण गरेर उनीहरुलाई ‘स्पेस’ दिन लागेका त होइनाैं ? गोयलको भ्रमण यस्तो प्रश्न उब्जिएको छ ।

यतिबेला अर्काे प्रश्न चिन्ह पनि उत्पन्न भएको छ । गोयललाई भारत सरकार आफैंले पठाएको हो कि नेपाल सरकारको आग्रहमा आएका हुन् ?

प्रधानमन्त्री ओलीले पछिल्लो समयमा भारतसँग विभिन्न सूत्रमार्फत कुराकानी अगाडि बढाइरहेका छन् । त्यही सिलसिलामा कतै ओलीले  नै परामर्शका लागि बोलाएका त होइनन् । त्यसैले ओली सरकारले यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ ।

स्रोतका अनुसार ‘रअ’ प्रमुखको नेपाल भ्रमणको पहिलो उद्देश्य नेकपाभित्रको शक्ति संघर्षको अवस्थाबारे बुझ्नुसमेत रहेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद पुनः बल्झिरहेको समय पारेर उनी काठमाडौँ आएका छन् । पछिल्लो समयमा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको वीच द्वन्द्व बढेको छ ।

भारतीय संचार माध्यमहरुले पनि उनी राजनीतिक मिसन लिएर नेपाल भ्रमणमा आएको उल्लेख गरेका छन् । उच्च भारतीय स्रोतलाई उल्लेख गर्दै भारतको दि प्रिन्ट अनलाइन लेख्छ, ‘गोयल काठमाडौंमा केही घन्टा मात्र रहनेछन् र त्यस क्रममा उनले प्रधानमन्त्री केपी ओली र उनका प्रतिद्वन्द्वी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर पार्टीको द्वन्द्वको अवस्था मूल्याङ्कन गर्नेछन् र त्यसको सम्भावित नतिजा थाहा पाउने प्रयास गर्नेछन् ।’

दोस्रो, भारतीय सेना प्रमुख एमएम नरवाणेको नेपाल भ्रमणको औपचारिक घोषणा भएपछि उनी नेपाल भ्रमणमा आएका छन् । पछिल्ला केही हप्ता यता नेपाल र भारतवीचका विभिन्न च्यानलमार्फत कुराकानी भइरहेको छ र सम्बन्धलाई सामान्यीकरणतर्फ लैजाने प्रयास भइरहेको समयमा उनको नेपाल भ्रमण भएको छ ।

यिनै वार्ताको श्रंखलामा भारतीय राजनीतिक नेतृत्वको सन्देश लिएर उनी आएको हुन सक्ने धेरैको विश्लेषण छ ।

तेस्रो, सीमाको विषयमा पनि कुराकानी हुन सक्ने समाचार स्रोतको दाबी छ । स्रोतले भन्यो, ‘सीमा विवादका बारेमा पनि नेपाली पक्षको धारण बुझ्नु उनको  उद्देश्य हो, तर त्यो मुख्य कारण भने होइन । मुख्य नेकपाभित्रको तनावका बारेमा बुझ्नु नै हो  ।’

यस अगाडि गोयलले सन् २०१९ को जुलाई महिनामा ‘रअ’ प्रमुख भएपछि नेपालको भ्रमण गरेका थिए । त्यसबेला उनी औपचारिक भ्रमणमा आएका थिए । राष्ट्रिय अनुसन्धान विभागको निम्तोमा नेपाल आएका उनले त्यसबेला केपी ओलीलाई समेत भेटेका थिए ।

केपी ओलीले नेतृत्व गरेको यो सरकार राष्ट्रवादको जगमा उभिएर बनेको हो । अहिले भारतले नेपालको सीमा मिचेको अवस्था छ र वार्ताका लागि पटक–पटक आग्रह गर्दा पनि मानिरहेको छैन । यस्तो बेलामा राजनीतिक तहमा छलफल र वार्ता हुनुपर्नेमा अपारदर्शीरुपमा भएको गुप्तचर प्रमुखको भ्रमणले सरकारमाथि प्रश्न उठ्नु स्वाभाविकै हो ।

त्यसैले, यसबारे यथार्थ के भएको हो, सरकारले जनतालाई औपचारिक जानकारी दिन जरुरी छ ।  राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा सूचना पाउनु जनताको नैसर्गिक अधिकार हो ।

यो पनि पढ्नुहोस यहीँबाट सुरु भयो भारतीय ‘माइक्रो म्यानेजमेन्ट’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment