Comments Add Comment

आईपीएलमा गेलको लोभलाग्दो खेल

११ कात्तिक, काठमाडौं । युएईको सारजहाँमा सोमबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेपछि किंग्स इलाभेन पञ्जाब जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

समान १२ अंक भए पनि पञ्जाबले कोलकातालाई नेट रन रेटमा पछि पारेको हो । चौथो स्थानमा उक्लिएसँगै पञ्जाबको ‘प्लेअफ्स’ सम्भावना बलियो बनेको छ ।

दुई चौका र पाँच छक्कासहित २९ बलमा ५१ रन बनाएका क्रिस हेनरी गेल कोलकाताविरुद्धको जितमा नायक रहे । ५६ बलमा अविजित ६६ रन बनाएका मन्दिप सिंहलाई पछि पार्दै गेल ‘प्लेयर अफ दि म्याच’ पाउने भाग्यमानी खेलाडी बने ।

दुई वर्ष पहिले न्यूनतम मुल्यमा पञ्जाबमा अनुबन्धित गेल यो सिजन वास्तवमै भाग्यमानी देखिएका छन् । लिग चरणमा दोहोरो राउण्ड रोविनमा खेलाइने आईपीएलको पहिलो सात म्याच सकिंदासम्म जम्मा एक जित निकालेको पञ्जाब अंक तालिकाको पुछारमा थियो ।

तर बाँया  हाते ब्याट्सम्यान गेलको इन्ट्रीपछि पञ्जाबले अविश्वसनीय रुपमा एउटा पनि म्याच हारेको छैन । लगातार पाँच जित निकाल्ने क्रममा पञ्जाबले अंक तालिकाको माथिल्लो स्थानमा रहेका मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल र रोयल च्यालेञ्जर्स बैंगलोरलाई पराजित गरिसकेको छ ।

सारजहाँमा भएको यो वर्षको आफ्नो पहिलो खेलमा गेलले बैंगलोर विरुद्ध ४५ बलमा ५३ रन जोडे । बैंगलोर गेलको पूर्व क्लब हो । २०१८ मा बैंगलोरले आफूलाई पुनः क्लबमै राख्छु भनेर पछि धोका दिएको गेलले गुनासो गरेका थिए ।

वेस्ट इन्डिजका विस्फोटक ब्याटस्म्यानले दुबईमा दिल्लीविरुद्ध १३ बलमा २९ र मुम्बईविरुद्ध २१ बलमा २४ रन बनाए । अबुधाबीमा सनराइजर्स हैदरावादविरुद्ध भने २० बलमा २० रन मात्रै जोडे । त्यो म्याचमा १२७ रनको विजय लक्ष्य पक्ष्याएको हैदरावाद पञ्जाबसँग १२ रनले पराजित भयो ।

आईपीएल कीर्तिमान

इन्डियन क्रिकेट बोर्ड बीसीसीआईले सन् २००८ मा सुरु गरेको आईपीएलमा सर्वाधिक छक्का र एउटै म्याचमा सर्वाधिक स्कोरको कीर्तिमान गेलको नाममा छ । १३० म्याच खेलेका गेलले ३४१ छक्का प्रहार गरिसकेका छन् ।

गेलपछि आईपीएलमा बढी छक्का प्रहार गर्ने खेलाडी हुन, एबी डि भिलियर्स । १६५ म्याचबाट उनले २३१ छक्का हानेका छन् । तेस्रो स्थानका एमएस धोनीको नाममा २१६, रोहित शर्माको २०९ र विराट कोहलीले नाममा २०० छक्का छ ।

गेलले एउटै म्याचमा सर्वाधिक १७५ रन जोडेर अर्को कीर्तिमान राखेका छन् । सन् २०१३ मा गेलले १७ छक्का र १३ चौकासहित ६६ बलमा १७५ रन बनाएका थिए । उनले ६ शतक र ३० अर्धशतक बनाएका छन् ।

आईपीएलमा ४ हजार ६६१ रन बनाइसकेका गेलले १८ विकेट लिएका छन् । ४१ वर्षीय गेलको प्रदर्शन हेर्दा लाग्छ उनी अझै रिटायर्ड हुने मुडमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment