Comments Add Comment

विजय मिश्र भन्छन् : बास्कोटाविरुद्धको प्रमाण मंगलबार अख्तियारलाई बुझाउँछु

१४ कात्तिक, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड रुपैयाँ मोलमोलाइ गरेको भनिएको अडियो टेप बाहिर ल्याएका विजयप्रकाश मिश्रले आइतबार अदालतमा हाजिर हुने बताएका छन् ।

मिश्रले आफू जापानबाट दसैँमा काठमाडौं आएको र आइतबार अदालतमा हाजिर भएर अदालती प्रक्रिया पूरा गर्ने बताए । सोमबारसम्म अदालतमा आफूले संकलित प्रमाण पेश गरेर कानूनी प्रतिरक्षा गर्ने मिश्रले बताए ।

पूर्वमन्त्री बास्कोटाले जिल्ला अदालत काठमाडौंमा गत फागुन १६ गते मिश्रविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् ।

मिश्रलाई म्याद तामेल गर्न गएका अदालतका कर्मचारी पटक–पटक घर नभेटिएको भन्दै फर्किएका थिए । मुद्दा दर्ता गर्दा मिश्रको घर लमजुङको सुन्दरबजार नगरपालिका–७ भनिए पनि उनी काठमाडौंमा बस्छन् । तर, दुबै ठाउँमा म्याद तामेल गर्न जाँदा घर फेला नपारेपछि अदालतका कर्मचारीले उनलाई ‘बेपत्ते म्याद तामेल’को सूचीमा राखेका छन् ।

‘अदालतको प्रक्रिया सकेर सम्भवतः मंगलबार म अख्तियारमा हाजिर हुन्छु,’ मिश्रले अनलाइखबरसँग भने ।

१७ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रलाई सात दिनभित्र अख्तियारमा बयानका लागि उपस्थित हुन निर्देशन दिएको थियो । अहिलेसम्म मिश्र अख्तियारमा हाजिर भएका छैनन् ।

बास्कोटासँग स्वीस कम्पनी केबीए नोटासिसको एजेन्टका रुपमा बार्गेनिङ गरेका मिश्रले अख्तियारमा हाजिर भएर आफूले संकलन गरेको सबै प्रमाण पेश गर्ने दाबी गरेका छन् । उनी प्रमाण लिन भन्दै जापान गएर बसेका थिए । मिश्रका अनुसार अख्तियारलाई जानकारी गराएर बास्कोटासँगको सम्वादको भिडियो डिभाइस लिन उनी जापान गएका हुन् ।

कोभिड–१९ का कारण असहज अवस्थाले सहजै स्वदेश फर्किन नसकेको उनले बताउँदै आएका छन् ।

२१ पुस २०७६ संसदको सार्वजनिक लेखा समितिमा विज्ञका रुपमा बोलाइएका मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि फ्रान्स र जर्मनीका कम्पनीले गरेको प्रस्तावमा आर्थिक चलखेल भएको बताएका थिए । उनले जीटूजीका नाममा नीतिगत रुपमा भ्रष्टाचार हुन लागेको भन्दै अनुसन्धान गर्न माग गरेका थिए ।

तर, मन्त्रिपरिषद बैठकले फ्रान्स र जर्मनीका मध्ये उपयुक्त कम्पनीलाई दिने गरी सञ्चार मन्त्रालयलाई स्वीकृति दिएपछि उनले अडियो सार्वजनिक गरेका थिए । यो प्रकरणपछि बास्कोटाले पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment