Comments Add Comment

भारत : कोभिड-१९ मा प्रदूषणले पनि मृत्युको जोखिम बढाउँछ ?

Photo Credit : Reuters

१५ कात्तिक, काठमाडौं । भारत अहिले एकातर्फ कोरोना भाइरस (कोभिड-१९) को महामारीको सामना गरिरहेको छ । अर्कोतर्फ मौसम परिवर्तनको समय चलिरहेको छ ।

अब बिस्तारै चिसो हावा चल्न सुरु गरेको छ । भारतको राजधानी सहर दिल्लीमा कुहिरो लाग्न पनि सुरु भएको छ । यो प्रदूषित हावाको कुहिरो हो । भारतमा बालिने परालको कारण वायु प्रदूषण बढ्ने गरेको बताइन्छ ।

एक अध्ययनले भने कोभिड-१९ को महामारीमा यस किसिमको प्रदूषण मृत्युको ठूलो कारण बन्नसक्ने देखाएको छ ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)का अनुसार लामो समयसम्म प्रदूषणमा रहँदा कोभिड-१९ बाट मृत्यु हुने खतरा बढ्नसक्छ ।

आईसीएमआरका महानिर्देशक डाक्टर बलराम भार्गव भन्छन्, ‘युरोप र अमेरिकामा प्रदूषित क्षेत्रमा र लकडाउनको क्रममा हुने मृत्युको तुलनात्मक अध्ययन गरिएको थियो र यससँग प्रदूषित हावाको के सम्बन्ध छ ? भनेर बुझ्ने प्रयास गरिएको थियो । अध्ययनमा प्रदूषणले कोभिड-१९ लाई थप घातक बनाइरहेको थाहा पाइएको थियो ।’

उनले अघि भने, ‘प्रदूषण र कोभिड-१९ बाट हुने मृत्युसँग सम्बन्ध छ, यो अध्ययनबाट स्पष्ट भइसकेको छ ।’

कार्डियोकेसकुलर रिसर्च जर्नलले एक अध्ययन गरेको थियो । उक्त अध्ययनको क्रममा वायु प्रदूषण कोभिड-१९को क्रममा मृत्युको जोखिम बढाउने एक महत्वपूर्ण कारण बन्न सक्ने पाइएको थियो ।

अध्ययनमा जहाँ वायु प्रदूषण नियन्त्रणको लागि कडा नीति अपनाइएको थियो वा वायु प्रदूषणको स्तर कम थियो, त्यहाँ कोरोनाको मृत्युदर पनि कम थियो । उदाहरणका लागि अष्ट्रेलिया । अध्ययनमा पूर्वी एसिया, मध्य युरोप, पश्चिमी अमेरिकामा प्रदूषणको स्तर धेरै हुनुका साथै मृत्युदर पनि धेरै रहेको पाइएको थियो ।

अध्ययनका क्रममा चीन, पोल्याण्ड र चेक गणतन्त्रजस्ता मुलुकमा प्रदूषण र कोभिड-१९ को मिल्दोजुल्दो असरको कारण धेरै मानिसको मृत्यु भएको थियो ।

नेशनल हार्ट इन्स्टिच्युटका डाक्टर ओपी यादव र दिल्लीको इन्स्टिच्युट अफ लिभर एण्ड बिलियरी साइन्स (आईर्एलबीएस)का डाक्टर एसके सरिन, प्रदूषणसँग कोभिड-१९ बाट हुने मृत्युको सम्बन्ध हुनसक्ने भए पनि कुनै पनि अध्ययनमा त्यसको कारण र असरको विषयमा उल्लेख नगरिएको बताउँछन् ।

डाक्टर एसके सरिन दिल्लीमा अत्यधिक प्रदूषण भएकाले यसको नराम्रो असर पर्न सक्ने भएकाले दिल्ली प्रदूषणबाट बच्नुपर्ने बताउँछन् । विशेषगरी चाडबाडको समयमा पटाका पड्काउने जस्ता कामहरु गर्न नहुने उनको भनाइ छ ।

अर्का डाक्टर ओपी यादव भन्छन्, ‘हाम्रो शरीरको कोषहरुमा एस २ रिसेप्टर हुन्छन्, प्रदूषणले ती रिसेप्टरलाई सक्रिय बनाउँछन् र सानोतिनो भाइरस त्यसलाई समाउँदै कोषमा प्रवेश गर्छन् । साथै भाइरसले शरीरमा आफ्नो प्रभाव जमाउन थाल्छ । प्रदूषणको कुरा गर्ने हो भने धेरै अध्ययनका अनुसार प्रदूषणको कारण शरीरमा नकारात्मक असर पर्छ र यसबाट पि्रम्याच्युअर डेथ अर्थात् ४० वर्षको उमेरमा नै मानिसको मृत्यु पनि भइरहेको छ ।’

उनका अनुसार मधुमेह, फोक्सोको समस्या, उच्च रक्तचापको समस्या भएका र वृद्ध मानिसहरुका लागि कोभिड अझै घातक हुन सक्छ । यो समस्या भएका बिरामीको अवस्था प्रदूषणको कारण झन् खराब बन्न सक्छ । यस्ता रोग भएका मानिसको रोग प्रतिरोधक क्षमता घट्छ, जसको कारण कोभिडको असर बढ्नेछ ।

तर, प्रत्यक्षरुपमा यसको असर पर्छ वा पर्दैन भनेर भन्न सकिँदैन । अप्रत्यक्ष रुपमा भने यसको असर मान्न सकिन्छ ।

त्यस्तै केही समस्या नभएका मानिसहरुमा पनि प्रदूषणको कारण फोक्सो कमजोर बन्दै जाने र कोरोना संक्रमण हुँदा उनीहरुको अवस्था झन् खराब हुनसक्ने विशेषज्ञहरुको भनाइ छ । त्यसैले प्रदूषित क्षेत्रमा बस्ने मानिसहरुलाई डाक्टरहरुले मास्क लगाउने सल्लाह दिएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment