Comments Add Comment

सिंहदरबारको पूर्वी भाग प्रबलीकरण मंसिरभित्र पूरा हुने, काम सकिएलगत्तै प्रधानमन्त्री कार्यालयलाई सारिने

१८ कात्तिक, काठमाडौं । विक्रम संवत् २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पूर्वी भागको प्रबलीकरण र साजसज्जाको काम आगामी मंसिर मसान्तभित्र सम्पन्न हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । हाल पूर्वी भागको प्रबलीकरणको काम सकेर आन्तरिक सजावटको काम भइरहेको छ ।

प्रबलीकरणको काम सकिएलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई त्यहाँ सारिने छ । भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने छुट्टै भवनमा सारिएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले पूर्ववत् लक्ष्यभन्दा अगाडि नै प्रबलीकरणको काम सकिने बताए । पूर्वी भाग प्रबलीकरण गरिसक्नका लागि फागुन मसान्तसम्मको अवधि छ ।

‘उपप्रधानमन्त्री एवं सल्लाहकारको कार्यकक्षको व्यवस्थापनका लागि थप काम गर्ने निर्देशन प्राप्त भए पनि हामी मंसिर मसान्तमै काम सक्छौं,’ सिंहले भने ।

गौरी÷शर्मा एण्ड न्यु टेक्निकल जेभीले सिंहदरबार प्रबलीकरण गरिरहेको छ । उत्तर, पूर्व र दक्षिण भाग प्रबलीकरणको लागत ७५ करोड छ । उत्तर र दक्षिणी भाग प्रबलीकरण गर्न भने अझै केही समय लाग्ने जनाइएको छ ।

सिंहदरबार पश्चिमी भागको प्रबलीकरण भने २०७६ चैतमा शुरु भएको थियो । पश्चिमी भाग २०७८ चैतसम्ममा सकिने एकाइले जनाएको छ ।

सिंहदरबार पश्चिम मूल ढोकाको सेनाको भवन पुनर्निर्माणको कामसमेत शुरु भइसकेको छ । सिंहदरबारको पश्चिम खण्ड राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । यो वि.सं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको पछि पुनर्निर्माण गरिएको थियो । सिंहदरबारको पूर्वी मूल ढोकामा प्रहरीको भवन पनि बनाउन लागिएको एकाइले जनाएको छ ।

भूकम्पले क्षतिग्रस्त भएका सिंहदरबार पुनर्निर्माण गर्ने कि प्रबलीकरण भनेर लामो विवाद भएको थियो । पुरातत्वविदलगायत प्राविधिकले अध्ययन गरी प्रबलीकरण गर्ने प्रतिवेदन दिएपछि काम अघि बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment