Comments Add Comment
टिप्पणी :

सीमा विवादको ठ्याक्कै एक वर्षपछि नेपाल–भारत संवादको ढोका खुल्दै

१९ कात्तिक, काठमाडौं । नेपाल र भारतको बिचमा सीमा विवाद उत्पन्न भएको ठ्याक्कै एक वर्ष पुगेको छ । गत वर्षको नोभेम्बर पहिलो साता भारतले नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्सा जारी गरेपछि दुई देशको बिचमा विवाद उत्पन्न भएको थियो ।

भारतले राजनीतिक नक्सा जारी गरेलगत्तै नेपालले वार्ताको प्रस्ताव गर्दै भारतलाई कम्तीमा तीनवटा कूटनीतिक नोट पठाएको थियो तर भारत वार्ताका लागि तयार भएन । त्यसभन्दा एक कदम माथि उठेर भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक हुँदै मानसरोवर जाने बाटोको उदघाटन गरे ।

संवादका माध्यमले नै समस्या समाधान गर्ने प्रयासलाई भारतले बेवास्ता गरेपछि त्यसको प्रत्युत्तरमा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भूभागसहितको नयाँ नक्सा जारी गर्यो र सर्वदलीय सहमतिको आधारमा संविधान संशोधन गर्यो ।

एक वर्ष नेपाल र भारतको बिचमा कुनै पनि संवाद भएन । सीमा सम्बन्धी मात्र होइन अन्य महत्वपूर्ण द्विपक्षीय संयन्त्रका बैठकहरु समेत रोकिए । तर विवादको ठ्याक्कै एक वर्षपछि द्विपक्षीय सम्बन्धमा संवादको ढोका खुलेको छ । आज भारतीय सेनापति मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणमा आउँदैछन् ।

यो भ्रमण एक नियमित र रुटिन भए पनि दुई देशको सम्बन्धमा आएको चिसोपनका कारण रोकिएको थियो । कोभिड–१९ आंशिक कारण भए पनि सीमा विवादको कारणले नै सो भ्रमण ढिलो भएको थियो ।

नेपाल भ्रमणको क्रममा उनको प्रधानमन्त्री केपी ओलीसँगको भेटघाट निकै महत्वपूर्ण मानिएको छ । सीमा लगायत द्विपक्षीय विषयहरुमा सेनापतिसँग ठोस कुराकानी नभए पनि यसले विश्वासको वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । सीमा विवादको सम्बन्धमा कुराकानी गर्ने सेनापतिको म्यान्डेट नभएपनि राजनीतिक तहलाई टेवा दिने काम भने हुनसक्छ ।

सेनापतिको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त कुमार गोयलले नेपालको भ्रमण गरे । भ्रमणको सम्बन्धमा विभिन्न कोणबाट टिकाटिप्पणी भएपनि उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा नेपाल भ्रमणमा आएका थिए । उनले सीमा लगायतका विषयमा मोदीको सन्देश लिएर आएका थिए र प्रधानमन्त्री ओलीको सन्देश लिएर नयाँ दिल्ली गएका छन् । त्यसैले नरवणेले पुनः मोदीको सन्देश लिएर आउने सम्भावना छ । त्यसैले यो भ्रमण एकदमै महत्वपूर्ण छ ।

यो पनि पढ्नुहोस प्रधानमन्त्री ओलीको ब्रिफिङ : मोदीले दूत पठाउँछु भने, सामन्त पो आएछन् !

यी भ्रमणले दुई देश बिचको संवादहीनता अन्त्य गरेको छ । यति मात्र होइन, यी दुई भ्रमणले दुई देशको बिचमा संवादका अन्य ढोकाहरु समेत खोल्ने निश्चित छ । सेनापतिको भ्रमणसँग अन्य द्विपक्षीय भ्रमणका ढोकाहरु समेत खुल्ने संकेत देखिएको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाने

सेनापति नरवणेको भ्रमण लगत्तै नेपाल र भारतको बिचमा सीमा विवाद सम्बन्धी जोइन्ट वर्किङ ग्रुपको बैठक बस्ने तयारी भइरहेको छ । सुस्ता र कालापानीबाहेक सीमामा देखिएका अन्य प्राविधिक विषय समाधान गर्नका लागि सो संयन्त्र निर्माण भएको हो । यसको भर्चुअल बैठक गर्ने तयारी छ ।

यो पनि पढ्नुहोस १२ नक्सामा हेर्नुहोस् कालापानीमा भारतले गरेको सीमा अतिक्रमण

त्यसलगत्तै नेपाल र भारतका परराष्ट्रमन्त्रीले संयुक्त नेतृत्व गर्ने संयुक्त आयोगको पनि बैठक गर्ने तयारी छ । सो बैठकले सम्पूर्ण द्विपक्षीय विषयहरुको समीक्षा गरी, देखिएका समस्याहरु हल गरी कार्यान्वयन अगाडि बढाउन निर्देशन दिने छ । सो बैठकका लागि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भारत भ्रमणमा जाने छन् ।

यसबाहेक दुई देशबिच लामो समयदेखि रोकिएको पञ्चेश्वर बहुउद्देशीय परियोजनाको डिपिआरलाई पूर्णता गर्ने विषयमा समेत कुराकानी अगाडि बढ्ने देखिन्छ । यसका केही प्राविधिक विषयहरुमा राजनीतिक नेतृत्वमा नै संवादको आवश्यकता देखिन्छ । दुई देशको बिचमा लामो समयदेखि रहेको विवाद हल भएमा त्यसले अझ विश्वासको वातावरण बनाउने छ ।

अर्कोतर्फ भारतका नयाँ विदेश सचिवले अहिलेसम्म नेपालको भ्रमण गरेका छैनन् । नेपालमा पनि नयाँ परराष्ट्र सचिव नियुक्त भएको सन्दर्भमा दुवै देशका परराष्ट्र सचिवले एक अर्काको मुलुकको भ्रमण गर्ने सम्भावना समेत प्रबल रहेको छ ।

विगत एक वर्षमा दुवै देशको बिचमा एकदमै कटुतापूर्ण सम्बन्ध रह्यो । यस बिचमा भारतले नेपालसँग वार्ता गर्न चाहेन तर पछिल्ला संकेतहरु एकदमै सकारात्मक छन् । यी सबै घटनाक्रमले दुई देशको सीमा विवादका सम्बन्धमा समेत वार्ताका लागि सकारात्मक वातावरण बन्ने अपेक्षा गर्न सकिन्छ ।

पछिल्लो समयमा भारतले छिमेकीसँगको सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाएका कारण अब भारत संवादबाट पछाडि हट्ने सम्भावना कम छ । नेपालले त विवादित सबै विषय समाधान गर्नका लागि सबै तहमा वार्ताको प्रस्ताव गर्दै आएको छ । दुई देशको बिचमा प्रवुद्ध समूहको प्रतिवेदन लगायत धेरै विषयहरु छन् जसका सम्बन्धमा उच्च राजनीतिक तहमा एक वृहत संवादको आवश्यकता छ ।

यो पनि पढ्नुहोस अमेरिकाले नेपाललाई सिधै हेर्छ कि भारतीय आँखाबाट  ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment