Comments Add Comment

वीरगञ्जको ट्राफिक व्यवस्थापनमा महानगरको प्रयास अपर्याप्त

२३ कात्तिक, वीरगञ्ज । वीरगञ्जको ट्राफिक तथा बजार व्यवस्थापनका लागि जनप्रतिनिधि र महानगरको सक्रियता आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।
ट्राफिक वा प्रहरी मात्रैको सक्रियताले महानगरपालिकाको ट्राफिक व्यवस्थापन नहुने उनीहरुको तर्क छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत वीरगञ्जको ट्राफिक तथा बजार व्यवस्थापनबारे छलफल कार्यक्रम आयोजना गरेको थियो ।

छलफलमा सहभागी सामुदायिक सेवा केन्द्र, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले महानगरपालिकाले ल्याएको नीतिसमेत कार्यान्वयन गर्न नसकेको बताए ।

दीपावली तथा छठ पर्व लक्षित बजार पनि व्यवस्थित बनाउन पूर्वतयारी आवश्यक रहेको उनीहरुको भनाइ छ ।

वर्षेनी दीपावली, छठलगायतका पर्वमा वीरगञ्जको घण्टाघर, माईस्थान क्षेत्रको सडकमा बजार लाग्ने गरेको छ ।

व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलीपराज कार्कीले सडक तथा बजार व्यवस्थापनका लागि महानगरपालिकाका जनप्रतिनीधि तथा जिम्मेवारी पाएका कर्मचारीहरु जागरुक हुनुपर्नेमा जोड दिए ।

वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईले एक अर्कालाई दोषारोपण नगरी सबै सरोकारवाला एक भएर काम गर्नुपर्ने बताए । अकलेश साहले निरन्तर दवाव नदिँदा समस्या फेरि दोहोरिने गरेको बताए ।

‘सडकमै माछा बेच्न सुरु गर्छन, हामी गएर हटाउँछौं तर फेरि भोलिपल्ट लगाइहाल्छन् ।’ उनले भने, ‘ निरन्तर दवाव दिनुपर्ने देखिन्छ ।’

सडकमा लगाइएको सिक्री हटाउनुपर्ने, बाइक पार्किङका लागि ठाउँको व्यवस्थाप हुनुपर्ने सडकमा पैसा लिएर पसल राख्न दिन बन्द गर्नुपर्ने, फुटपाथ खाली राखिनुपर्ने, सडकमा बजार लगाउन नहुनेमा सरोकारवाला एकमत देखिएका छन् ।

सामुदायिक सेवा केन्द्रका प्रतिनीधिहरुले भने जनशक्ति कम भएका कारण सोचे अनुसारको काम गर्न नसकेको बताएका छन् ।

वीरगञ्ज-१६ स्थित नयाँ बसपार्क, वडा नं ९ स्थित रातो बंगला अगाडिको खाली जग्गा, वडा नं १० आदर्शनगर स्थित पुरानो बसपार्क र वडा नं ३ स्थित मालपोत कार्यालय जाने बाटोको उत्तर तर्फको खाली जग्गा सःशुल्क पार्किङका लागि छुट्याइएको छ ।

पार्किङ ठेक्कामा लिएर ठेकदारले शुल्क पनि उठाइरहेको छ । तर त्यसलाई व्यवस्थित गर्न खासै चासो नदिएको आरोप पनि सरोकारवालाले लगाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक कमलराज पण्डितले सर्वसाधरणमा तोकिएको ठाउँम पार्किङ नगरिदिने, सडकमै ठेला लगाएर व्यपार गर्नुपर्ने, प्रयाप्त पार्किङ स्थलको अभाव, भएका पार्किङ स्थललाई पनि व्यवस्थित नबनाउँदा समस्या भएको बताए ।

‘अटोहरुलाई छुट्टै रुट दिएका छौं, मुख्य सडकमा जामको समस्या त हटेको छ तर अव्यवस्थित पार्किङको समस्या यथावत छ,’ उनले भने, ‘ट्राफिक तथा प्रहरी गएर हटाउँदा क्लियर हुन्छ । हैन भने अस्त व्यस्त हालत हुन्छ ।’

प्रहरी उपरीक्षक गंगा पन्तले सर्वसाधरण तथा व्यापारीहरु कम्र्फट जोनभन्दा बाहिर जान नखोजेका कारण वीरगञ्ज ट्राफिक र बजार व्यवस्थित हुन नसकेको बताइन् ।
‘स-साना सडक छन्, व्यापार त्यहि गर्नुपर्छ, सवारी त्यहि राख्नुपर्छ । मानिस हिड्नु नै पर्‍यो,’ उनले भनिन्, ‘महानगरपालिका पैसा उठाउन मात्रै सीमित छ, नागरिक समाज मौन छ । ट्राफिक र प्रहरीले मात्रै के गर्न सक्छ ?’

दीपावली र छठमा मात्रै नभएर कुनै पनि समयमा सडकमा बजार लगाउने पक्षमा आफू नरहेको उनले बताइन् ।

दिनभर व्यापार गरेर राति प्याकिङ गरिएका प्लाष्टिकहरु सडकमा छर्ने प्रवृत्ति व्यापारीमा देखिएको बताउँदै उनले महानगरपालिकाले चाहे समातेर कारबाहीको दायरामा ल्याउन प्रहरीले सहयोग गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment