Comments Add Comment

कमलपोखरीको पुर्ननिर्माणप्रति मेयर शाक्य असन्तुष्ट !

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणका काम सन्तोषजनक नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार स्थलगत निरीक्षण पछि मेयर शाक्यले कामलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी निर्धारित समय भित्रै सम्पन्न गर्ने गरी कामलाई दु्रतरुपमा अघि बढाउन प्रमुख शाक्यले निर्देशन दिए ।

‘काममा ढिलासुस्ती भयो भन्ने गुनासो आएपछि म आफैँ स्थलगत अनुगमनका लागि आएको हुँ,’ शाक्यले भने, ‘काठमाडौँ महानगरपालिकाले आर्थिक अभाव हुन दिदैन । तपाईँहरुले यो वा त्यो बहानामा काम रोक्न पाउनुहुन्न ।’

करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने दाबी समेत गरे । ‘कमल पोखरीको अस्थित्व जोगाउँदै पुर्ननिर्माणको काम अघि बढाएका छौँ,’ शाक्यले भने, ‘महानगरपालिको केन्द्रभागमा रहेको यो पोखरी पुर्ननिर्माणपछि काठमाडौँवासीका लागि आकर्षक स्थल बन्ने छ ।’

उनले छठको बेलामा व्रतालुहरुलाई बस्न र छठ मनाउनका लागि समेत सहज हुने गरी पोखरी निर्माण भैरहेको पनि जानकारी दिए । पोखरी कला र संस्कृतिलाई जोड्ने खालको होस भन्ने चाहना रहको पनि उनले बताए ।

सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले कमलपोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण हुने जानकारी दिए । आयोगका अनुसार पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ ।

पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना रहने छन् । त्यसैगरी विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचओटा मकरधार निर्माण पनि आयोगले जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विकास विभावका प्रमुख राम थापाले अब बन्ने कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उद्यान र सार्वजनिक स्थल रहने जानकारी दिए ।

ठेकेदार कम्पनीले ४५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएको छ । पुर्ननिर्माणको काम फागुन मसान्तासम्ममा सम्पन्न गरी महानगरपालिकालाई हस्तान्तरण गर्ने ठेकेदार कम्पनीले प्रतिवद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment