Comments Add Comment

दैउसी भैलोको रमझम : संयमित भएर रमाउने कि ?

हामी देउसी भैलो खेल्न घर–घर पुग्छौं । नाचगान गर्छौं । बाजागाजा बजाउँछौं । हाँसो ठट्टा गर्छौं । परम्परा वा चाडपर्वको वाहानामा निस्फिक्री रमाउँछौं । तर, सोचौं त । जुन घरमा हामी नाचगान गरिरहेका छौं, जहाँ हामी देउसी भैलो खेली रहेका छौं, जहाँ हामी पटका पड्काइरहेका छौं, त्यहाँ सबै हामी जस्तै होलान् ? सबै रमाइलो गर्ने अवस्थमा होलान् ?

तिहार आफैमा एक सामाजिक पर्व हो । सामाजिक पर्व मनाउने क्रममा सामाजिक दायित्व र भावनालाई पनि बुझ्ने कि ?

किनभने,

हामी जुन घरको आँगनमा देउसी भैलो खेलिरहेका हुन्छौं, नाचगान गरिरहेका हुन्छौं, त्यहाँ बुढापाका हुनसक्छन् । हामी कराउँदा, उफ्रिदा, नाचगान गर्दा उनीहरुलाई झर्को लाग्न सक्छ । उनीहरुको निद्रा खलबलिन सक्छ । घरम कोही रोगी  एवं बिरामी हुनसक्छन् । घरबाहिर हुने नाचगानले उनीहरुलाई कस्तो असर गर्ला ?

किनभने,

जुन घरमा हामी नाचगान गरिरहेका हुन्छौं, त्यस घरमा सुत्केरी वा बालबच्चा हुनसक्छन् । हाम्रो हो–हल्ला उनीहरुलाई मन नपर्न सक्छ । उनीहरुको निद्रा विथोल्न सक्छ । कतिपय बालबच्चा सुताउन गाह्रो हुन्छ । हामीले हल्लीखल्ली गर्दा उनीहरुले झगडा गर्न थाल्छन् । यसतर्फ पनि सोच्ने कि ?

किनभने,

जुन घरमा हामी देउसी खेल्न, रमझम गर्न पुगेका छौं, त्यहाँ जुठो परेको (परिवारको कुनै सदस्यको मृत्यु) भएको हुनसक्छ । हामीकहाँ यसरी नातेदारको मृत्यु भएमा निश्चित अवधीसम्म शुभकार्य गरिदैन । उनीहरुको स्थिती के हो ? बुझ्ने कि ?

किनभने,

जुन घरमा हामी देउसी भैली खेल्न पुग्छौं, उनीहरुमा पारिवारिक कलह भइरहेको हुनसक्छ । आर्थिक अभाव र दुःखले सताइरहेको हुनसक्छ । यस्तो अवस्थामा हामीले आँगनमा गएर रमझम गर्दा कस्तो असर गर्ल ?

किनभने,

कतिपयले फरक संस्कार–संस्कृति अंगालेका हुनसक्छन् । उनीहरुलाई हाम्रो संस्कृतिमा रुची नहुन सक्छ । यस बखत उनीहरुको मनस्थिती के छ बुझ्ने कि ?

यसो गरे कसो होला ?

जब हामी देउसी भैलो खेल्ने, नाचगान गर्ने, रमझम गर्ने योजना बनाउँछौं, त्यसमा केही सीमा र सर्तहरु तय गरौं । कहाँ जाने, कसरी जाने ?

जुठो परेको, सुत्केरी वा बालबच्चा भएको, बुढापाका भएको, रोगी वा बिरामी भएका घर परिवारमा उनीहरुको अनुमति लिएर मात्र देउसी भैलो खेलौं । यदि उनीहरुलाई कुनै अप्ठ्यारो हुने रहेछ भने त्यसमा हामीले विचार गरौं ।

अहिले तिहारको बाहानामा देउसी भैलो खेलेर, नाचगान गरेर आर्थिक संकलन गर्ने चलन व्यापक भएको छ । यसरी आर्थिक सहयोग लिँदा कसैलाई पनि बाध्यतामा नपारौं । चाडपर्वलाई लेनदेनसँग नजोडौं । तिहारमा आर्थिक संकलन गरेर मठ, मन्दिर बनाउने, आवश्यक सरसामन किन्ने जस्ता उदेश्य राख्नु नराम्रो होइन । तर, यसलाई बाध्यकारी र प्रतिस्पर्धात्मक नबनाऔं ।

अहिले देउसी भैलो विधीपूर्वक खेल्ने भन्दा पनि भड्किलो रमाइलो गर्ने बाहाना बन्दैछ । यसले चाडपर्वको वास्तविक मर्म मेटिन्छ र अराजकता फैलन्छ । साथसाथै समाजमा नराम्रो असर पनि पर्छ । त्यसैले भड्किलो भएर, तामझामपूर्ण ढंगले भन्दा पनि संयमित भएर सभ्य ढंगले विधीपूर्वक देउसी भैलो खेलौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment