Comments Add Comment

केन्द्रका कमरेडलाई मोफसलका कमरेडको पत्र

सत्तासीन कमरेड अभिवादन ! मोफसलका कमरेडलाई तपाईहरू त्यति महत्व त दिनुहुन्न । केन्द्रमा बसेर कमरेडहरुले जे गरे पनि न गरे पनि ओके, हामी कमरेडका लागि । तर, पनि हामी कमरेडले तपाईहरुलाई नेता मान्नैपर्ने । तपाईले झुण्ड, गुट बनाउनैपर्ने, अनि हामीले तपाईहरुमध्ये कसै न कसैलाई समात्नैपर्ने ।

मतलव,  म त फलानो को मान्छे । त्यो ढिस्कनाको मान्छे । यो भए ठीक छ, नभए कोही पनि ठीक छैन । कमरेडले पाठ सिकाएको शिक्षा हामीले पनि ग्रहण गरिरह्यौं ।

राजनैतिक दलहरुले उठाएका मुद्दालाई जनसमुदायले साथ सहयोग गरिरहे । आन्दोलनमा रगत बगाएर, आँसु चुहाएर, तत्कालीन सत्तासीन पक्षलाई ढुङ्गामुढा गरेर गणतन्त्र ल्याएको हो नि, होइन र कमरेड ?

२०६२\६३ को आन्दोलनमा प्रहरीहरुलाई ढुङ्गा, ईंटा र गिट्टी मैले पनि हानेकै हो । शाही सरकार विरुद्ध नाराबाजी लगाउँदा प्रहरीले लखेट्दा चप्पल लगाएका खुट्टाले दौडन नसक्दा चप्पल हातमा समातेर दौडिएको मानसपटलमै छ । यति भनिरहँदा तपाईको योगदान नभएको भने होइन । केन्द्रकै सर्कुलरमा मोफसलले गरेको हो  ।

संविधान लेख्नुभयो ६०१ जना माननीयहरुले । राजनीतिक दलका शीर्षनेताहरु वरिपरि नै निर्णय र छलफल भयो । सीमित नेताहरु माझमात्र सत्ता सीमित भयो । अधिकांशहरुले ताली बजाएका हुन् नि हैन र ?

एमाले र माओवादी मिलाउनमा तपाई नेकपाका शीर्ष नेताहरुले नै एकीकरण गरेको हो नि  । तल्लो स्तरका पार्टी सदस्यको विचार त बुझेको होइन नि । तर, पनि मजाले समर्थन गरिरह्यौं । तपाईहरुको पद सुनिश्चित नहुँदासम्म एकीकरण प्रक्रिया अगाडि बढेन । कमरेडको पद सुनिश्चित भयो, अनि एकीकरण भयो र नेकपा जिन्दावाद भनी बसियो हैन र  कमरेड ? जेजे गर्नुभयो, बधाई भनियो कमरेडलाई । बामपन्थी विचारधारा भएका जनता, कार्यकर्ता हामी खुशीका साथ गद्गद् भएका हौं  ।

सुख र शान्ति प्राप्तिका लागि आम जनताको ईच्छा पूरा भएको छैन ।  स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारमा तपाईको भागवण्डामा पद सुनिश्चित गर्नुभयो । हामीले जय जयकार गरिरह्यौं हैन र कमरेड ?

व्यवस्था परिवर्तन गरियो धरातलको अवस्था उस्तै छ है कमरेड । बीचैमा तपाईहरुको झगडा हुदै जाँदा हामी निराश हुन्थ्यौं । तपाईहरुको भागबण्डा मिल्यो, झगडा सामसुम हुन्थ्यो ।

यति हुँदासम्म हामी तल्लो स्तरका कार्यकर्ताको मन झन बलियो हुँदै जान्थ्यो । प्रश्नचिन्ह खडा गर्ने ठाउँ थिएन । कमरेड तपाईको झगडा पनि हाम्रा लागि सही हुँदै गयो ।  खरो रुपमा तपाईसँग जिज्ञासा राखे तपाईहरु कार्बाही गर्न सर्कुलर जारी गर्नुहुन्थ्यो ।

कमरेडहरु, गाउँमा हिँडेर आउनुहोस् । आफ्ना कार्यकर्तालाई कुनै तयारी नर्गनुहोस् भन्नुहोस् । बास बस्नुहोस् ।  अनि थाहा पाउनुहुनेछ जनस्तर ।

विदेशमा तड्पिएर बस्नुभन्दा स्वदेश नै राम्रो भनेर फर्किएका लाहुरे जनताले केही दिन तपाईहरुले निर्माण गरेका क्वारेन्टिनमा जसोतसो खाना खाए । एकदुई दिन घरमा बसे र ईच्छा अधुरै राखेर फेरि मुग्लानतिर लागे ।  बाध्यताले भित्रिए बाध्यताले नै फर्किए । स्वदेशमा बस्दा पकेट खर्च, घर खर्च, खाद्यान अभाव जस्ताको त्यस्तै छ  । विश्वाश नलागे मुग्लान छिरेकालाई सोध्नुहोस् कमरेड ।  नजानुहोस्, तपाई हामी सगैँ जिउँला कसैले भन्ने आँट गर्न सकेनौं  ।

तपाईहरुको झगडाले आम जनाताका ईच्छा पूरा हुने हुन् र कमरेड ? जनस्तरका समस्या अझै कति छन् कति ।  तपाईहरुसँग त सत्ताको शक्ति छ ।  सहयोगी छन् । खाएको हात धुनेसमेत सहयोगी तैनाथ छन् ।

आदरणीय कमरेडहरु, आयोडिनयुक्त नुन किन्न सदरमुकाम गएर प्रतिपरिवारलाई ५ पोका पाउने जिल्लाको मान्छे  न हुँ म ।  भाषणमा त हामीले के दिएनौं ? रोजगार, शिक्षा, यातायात आदि । तर, पाएका छैनौं ।

धरातलको जनस्तर जस्ताको त्यस्तै थाति राखेर नफुट्नुहोला ।  हाम्रो नेकपालाई जनताको सकारात्मक परिवर्तनका लागि जनताले मत दिएका हुन् नि, हैन र कमरेड ?  पाचँ बर्ष नटिक्ने नेकपा अनि नेकपाको सरकार । तपाईप्रति निराश हुँदै गएका छौं कमरेड ।

हुन त तपाईले नै चाहेर जुट्नुभयो ।  अब फुट्ने छुट तपाईहरुलाई छैन कमरेड ।  तपाईहरुको जीवनशैली फरक छ । जनस्तरको फरक र दयनीय पनि छ, सम्झनुहोस् । नटुटेर अब जनस्तर परिवर्तन गरौँ । हामीलाई प्रश्न गर्ने दुरदराजको कमरेड यो को हो र भनेर मन चसस्क  नपार्नुहोला ।

(जोशी  सुदूरपश्चिम प्रदेश, जयपृथ्वी नगरपालिका, बझाङका  नेकपा नगर कमिटी सचिवालय सदस्य  हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment