
५ मंसिर, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनका लागि उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । महासंघको निर्वाचन समितिले शुक्रबार विहान अन्तिम नामावली सार्वजनिक गरेको हो ।
मूख्य निर्वाचन अधिकृत उमेन्द्र केशरी न्यौपाने, निर्वाचन अधिकृतद्वय लिलामणि पौडेल र रमणकुमार कर्णले सार्वजनिक गरेको सूचीअनुसार ६३ सिटका लागि १२७ जनाको उम्मेदवारी परेको छ । आगामी ११ देखि १३ सम्म वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरुमा काठमाडौंमा निर्वाचन हुँदैछ ।
हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा वैधानिक व्यवस्थाअनुसार स्वतः अध्यक्ष बन्ने छन् भने बाँकी पदहरुमा निर्वाचन हुनेछ । महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु भने निर्विरोध निर्वाचित भएका छन् । प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
महासंघको ५४औं वाषिर्क साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड-१९ का कारण स्थगित भएको थियो ।
पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिएपनि कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।
आगामी वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिँदैछन् ।
महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्ने भएका छन् ।
हेर्नुस् को-को छन् उम्मेद्वार ?
प्रतिक्रिया 4