
नेभालाई पानी मनपर्छ । पानीको रंग, चाल र आकार मनपर्छ । उसले आफ्नै भाषामा यो अनुभूतिलाई अभिव्यक्त गर्न पाउने हो भने कति मीठोसित गर्थी होली । अरूको भाषामा आफ्नो संवेग पोख्नु कति गाह्रो कुरा !
मलाई भने नेभा मनपर्छ । उसका समुद्रझैं नीला आँखा, सुलुत्त परेको नाक र निख्खर कालो कपाल मनपर्छ भनेँ भने म कुनै शास्त्रीय नायकजस्तो सुनिन्छु होला । तर उसका एउटा एउटा अङ्गको कविताले मेरो ह्दयलाई छुँदैन । मलाई त नेभा नामकी आइमाई मनपर्छ । उसको संवेग र भावना होइन उसको देह मनपर्छ । नामजस्तै उसको छालाको धवल रंग, उसको देहको आकार र प्रकार मनपर्छ ।
पानी हामीलाई जोड्ने कडी हो । नेभाको संवेगसित पानी जोडिएको छ । मेरो संवेगसित नेभा जोडिएकी छे । त्यसैले म पनि पानीसित जोडिएको छु ।
त्यसैले म पनि नेभासित पानीका मात्रै कुरा गर्छु । नीलो समुद्रको शान्ति र आवेगका कुरा गर्छु । पहाडी खोलाको संगीतका कुरा गर्छु । झरनाको झरझरको कुरा गर्छु । अनि नदीहरुको लम्मेतान बहावको कुरा गर्छु ।
एउटी भावुक र संवेदनशील आइमाईको मन कसरी जित्न सकिन्छ मलाई थाहा छ !
****
‘हाम्रो देशमा त पानी नै पानी छ नि । समुद्र मात्रै नभएको हो ।’
म नेभालाई नेपाली पानीको कथा सुनाउँछु । बडा मेहेनतपूर्वक, फूलबुट्टा भरेर ।

समुद्र त उसले धेरै छोइसकी, देखिसकी । ऊ मैले सुनाएको पहाडी पानीको कविता लोभिएर सुन्छे । त्यतिबेला जिज्ञासाले उसका आँखामा पनि पानी उम्रिन्छ ।
‘हाम्रो घरनिरै ठूलो खोला बग्थ्यो । स्कुल छुट्टीका दिन हाम्रो बास नै खोलामा हुन्थ्यो । नाङ्गैभुतुङ्गै पौडी खेल्यो । ढुङ्गामाथि सुतेर घाम ताप्यो ।
माछा मार्यो, त्यही माछा पोलेर खायो । बालुवामा घर बनायो…।’
म पानीसँग जोडिएको बाल्यकालको कथा भन्थेँ । दर्के झरीमा रुझ्दै हिँडेको कथा पनि ।
कुरा यतिसम्म अगाडि बढ्थ्यो कि जगजीत सिंहले गाएको ‘कागजकी कश्ती बारीसका पानी’लाई हुबहु आफ्नै संस्मरण बनाइदिन्थेँ ।
चुम्बकिएर नेभा भन्थी– ‘कति भाग्यमानी तिमी !’
****
यतिबेला हामी समुद्रको किनारमा हिँडिरहेका छौं । डोभरको यो शान्तसमुद्री किनारमा मध्यदिनमा पनि खासै चहलपहल छैन । दुईदिनदेखि आकाश धुम्मिएको छ ।
यो समुद्रतिर आउने उपयुक्त समय पक्कै होइन । बिहान दुईपटक बिरबिरे झरी बर्सिइसक्यो । फोहोरी आकाशले समुद्रको पानी पनि मैलो देखाइरहेको छ । तर नेभाजस्ती राम्री आइमाईको साथमा हिँड्दा त्यो अनुभूति लामो समयसम्म मनमा बस्दैन ।
नेभा उही पानीकै कुरा गरिरहेकी थिई ।
रसियाका समुद्री किनारमा हिउँदमा जम्ने ठाँटोदेखि क्रोसियाको समुद्री किनारका सीसाजस्तै कन्चन पानीको कुरा गरिरहेकी थिई ।
उसको ठाउँमा कुनै केटा मान्छे हुन्थ्यो अथवा नराम्री आइमाई हुन्थी भने म च्याप्प समातेर समुद्रमा फ्याँकीदिन्थेँ होला ।
तर उसको लामो बकबक पनि मलाई मखमली लागिरहेको थियो । आफूलाई उसका कुरा मलाई असाध्यै रुचिकर लागिरहेछन् भन्ने जनाऊ दिने किसिमले म आफ्ना आँखा र ओठलाई तयार राखिरहेथेँ । भीडभाडबिहीन समुद्री किनार मेरानिम्ति अरुचिकर मात्रै होइन, व्यर्थको थियो । गोरा अर्धनग्न देहको नयनसुख नमिल्ने पनि के समुद्र किनार ! वरपर लगभग सुनासान थियो ।
बेलाबेलामा सिर्र हावा चल्छ । हावा चल्नेबित्तिकै मेरा आँखा नेभाको शरीरमा आपसेआप गइहाल्छन् ।
तर मैले रहर गरेजस्तो उसको लामो स्कर्ट मार्लिन मुनरोको स्टाइलमा हावामा फरफराउँदैन । तैपनि पहिलोपटक देखेका उसका सेता पिँडुला नै पनि मलाई उत्तेजित बनाउन काफी छन् । तीबाहेक उसका लुगा कहीँ कतैबाट पनि खुला छैनन् । योभन्दा त काममै लगाएर आउने लुगा कसिला र जिउको आकारलाई प्रष्ट देखाउने हुन्थे ! यो कुरा सम्झिएर मेरो मन विक्षिप्त छ । यति लामो यात्रा धेरै हिसाबले व्यर्थ भइरहेको थियो ।
हिजो आइतबार । रेस्टुराँमा ग्राहक नभएकोले हामी खाली थियौँ । बूढो पन्जाबी साहू आजकाल रेस्टोरेन्ट आउनै छाडेको थियो । फ्लोरमा नेभा र ममात्रै थियौँ । साँझ छ बजेतिर दर्के पानी पर्यो एक्कासी ।
झन्डै दश मिनेटजति परेर रोकियो पानी । ढोकामा उभिएर एकोहोरो झरी हेरिरहेकी नेभाले फर्किएर एक्कासी सोधी– ‘मिस्टर सुमित, भोलि छुट्टी । के योजना छ ?’
स्वास्नी बिरामी छे । थलै परेकी पनि होइन । काममा गइरहेकी नै छे । तर ढाड दुख्छ भनेर गुनासो गर्न थालेको लामो समय भइसक्यो ।
भोलि एघार बजेलाई डाक्टर अपोन्टमेन्ट लिएको छ । उसलाई लैजानु छ । ऊ ड्राइभ गर्दिन । त्यहाँबाट किनमेललाई जानु छ । साढे तीन बजे छोराको टिचरसित मिटिङ छ । स्कुलबाट उसको बारेमा बारबार कम्प्लेन आउन थालेको छ । भोलिको छुट्टी त नाम मात्रैको ।
तर मेरो मुखबाट चिप्लन्छ– ‘दिनभर फ्री नै छु नेभा । साँच्चै भन्ने हो भने छुट्टीको एक दिन बिताउन पनि गारो हुन्छ मलाई । बरु काममै रमाइलो छ ।’
हो ।
नेभा काममा आउन्जेल काममै रमाइलो छ । काममा त उसको शरीर आँखैले नापेर पनि समय कट्छ । तर घरमा ? घरमा के छ ?स्वास्नीको उही थाकेको अनुहार र शरीर । उस्तै गुनासा । त्यही दिक्कलाग्दो निरन्तरता ।
‘तिम्रो त परिवार छ । परिवार भएपछि जीवनको अर्थ र रमाइलो नै बदलिन्छ । । तिमी त धेरै भाग्यमानी छौ । मेरो जीवन त पानीजस्तो छ । रंगविहीन, स्वादविहीन र आकारविहीन ।’ नेभाले भनी । यहाँनिर मैले भन्नुपर्थ्यो– ‘तिमीमा संसारका सबै रंग र स्वादहरु भरपुर छन् नेभा !’ तर उसले परिवार सम्झाइदिई । परिवार भन्नेबित्तिकै म अँध्यारी र विरसिली स्वास्नी र अटेरी छोराछोरी सम्झन्छु ।
–यसो छोराछोरीको पनि ख्याल गर्नुस् न । पढाइ के कस्तो छ ? के गर्दैछन् ? छोराको पनि कम्प्लेन आ’को आई छ ।
–पढेकै होलान् नि ।
–यसरी बेवास्ता गरेर नि हुन्छ । बाउको कर्तव्य त निर्वाहा गर्नुस् ।
–अनि म चाँहि त्यसै बसेको छु ? तिम्लेभन्दा बढी मैले कमाएको छु । मभन्दा बढी त छोरा–छोरी तिमीसितै हुन्छन् । ख्याल गर्नुपर्यो नि त ।
–मलाई टेर्नुपर्यो नि !
–कराएर मात्र हुन्छ त । खालि करकर गरेपछि कसरी टेर्छन् त ? केटाकेटीलाई मायाले सम्झाउने पो त ।
–जान्नेले कहिलेकाहीँ सम्झाइदिए पनि त हुन्छ नि ।
यो ओठे जवाफको कुनै प्रतिक्रिया हुँदैन मसित ।
–कहिलेकाहीँ त यसो कतै घुम्न जान पाए पनि हुने । बाहिर गएर खान पाए पनि हुने ।
–बाहिर खानकै लागि के पैसा खर्च गर्नु । के खाने भन न म रेस्टुराँबाट ल्याइदिई हाल्छु नि ।
–कति खानु तपाईँको रेस्टुराँको । वाक्क लागिसक्यो । बाहिर खान जाने भनेको खानैका लागि मात्रै हो र ? परिवारको अर्थ के हो ?
–उसो भए तिमीहरु जाऊ न त कतै ।
–तपाईँचाहिँ हाम्रो कोही होइन ? तपाईँलाई हामीसित हिँड्न, बस्न मन पर्दैन हो ?
–मैले कहिले भनेको छु त्यस्तो ? आजकाल मेरो काम छाड्नै मिल्दैन के ।
–सोमबार जाऊँ न त तपाईँको छुट्टीको दिन ।
–लौ लौ हेरौँला ।
अनि सोमबार अर्थात् आज साँझमा इटालियन रेस्टुरेन्टमा डिनर खाने योजना पनि बनेको थियो ।
खासमा सबैकुरा राम्रो थियो । पारिवारिक जीवन चलिरहेको थियो ।
स्वास्नीको अनुहार, व्यवहार आदिलाई लिएर पनि कुनै गुनासो थिएन । छोरा–छोरीको पनि कुनै चिन्ता थिएन । सबै सही थियो । तर एक्कासी नेभा नाउँकी यो आइमाई काममा आएपछि सबै कुरा बदलियो ।
अब मलाई स्वास्नीको अनुहार नै मन पर्दैन । उसका आँखामा कुनै चमक नै छैन । उसका ओठमा कुनै रस छैन । उसका कुरामा कुनै रोमान्चक अनुभव हुँदैन । अझ थपिएको छ– ढाडको समस्या । कुनै नखरा बिनाको उसको व्यवहारले ऊ बूढी भएको प्रमाण दिन्छ ।
झन् ‘अब तीन-चार वर्षमा त छोरी पनि युनिभर्सिटी जान्छे’ भनेर पटक–पटक जब उसले याद दिलाउँछे आफैँ पनि बूढो भएको अनुभूति हुन्छ । त्यसैले आजकाल त मलाई उसित कुरा गर्न पनि झर्को लाग्छ ।
‘भोलिको छुट्टीलाई लिएर आजैदेखि झ्याउ लागिरहेछ । कसरी दिन काट्ने होला ।’
‘उसोभए तिमी मलाई कतै लिएर जाऊ न ।’
मेरो मुटुको धड्कन त्यतिबेला यसरी बढ्यो कि ढल्ने डर भयो । मेरो जिउ तातिएर आयो । म केही बोल्न सकिनछु ।
‘होस् । मैले त्यतिकै भनेको । तिमीलाई अप्ठ्यारो हुन्छ होला ।’
‘होइन–होइन ।’ मैले हतारिएर भनेँ, ‘बरु भन न कहाँ जाने ?’
‘मलाई समुद्रतिर जान मन लागेको छ । यो समरमा कतै जान पनि पाइएन । डोभर जाऊँ न है, यहाँबाट नजिक पनि छ ।’
****
‘तिमीलाई पौडिन आउँछ नेभा ?’
‘आउँछ नि । पौडिन एकदमै मनपर्छ ।’
दिमागमा नेभाको बिकिनी तस्वीर कोरेर म फेरि एकपटक उत्तेजित हुन्छु ।
‘तिमीलाई नि ?’
‘स्वीमिङ पुलको पौडी के पौडी । आफू त नदीमा पौडी खेलेर हुर्किएको मान्छे !’
‘तर पानी भनेको पानी नै हो । जति सानो आयतनमा खुम्चिए पनि पानीको सौन्दर्य र गुणमा कमी आउँदैन ।’
म नेभाको कुराको गहिराइको छेउछाउसम्म पनि पुग्ने सामथ्र्य राख्दिनँ । न त उसको देहको गहिराई र उचाइसम्म नै ।
म उसका हरेक कुरालाई चित्त बुझेजस्तो गरी समर्थन गरिदिन्छु । तर मेरा निम्ति ती अमूर्त हुन् । मेरो अनुभूतिलाई तिनले पटक्कै छुँदैनन् । त्योभन्दा बढी त उसको कपालबाट आउने सुगन्धले नै छुन्छ । बेलाबेलामा सर्रसराउने उसको स्कर्टको मुलायम स्पर्श बढी छोइने हुन्छ ।
****
उत्तरी इंगल्यान्डको यो सानो गाउँमा मेरा १६ वर्ष बितिसकेका छन् । त्यसअघि म लन्डनमा थिएँ । एउटा विद्यार्थीको रुपमा ।
एउटा सामान्य गुजराती रेस्टुराँको वेटरको रुपमा । त्यही अवस्थामा म बेलायती पासपोर्टको सपना र योजना बुनिरहेको थिएँ ।
सन् २००० । द्वन्द्वले ग्रस्त देश । असुरक्षाको चर्को भयका बीच हतासिएर प्रशासनिक सेवाका अधिकृत बुबाले भन्नुभयो– ‘बाबु तँ बिदेश जा !’
भर्खर इकोमिक्समा मास्टर्स सकाएर कुनै बैंकमा जागिर खाने धुनमा लागेको थिएँ । उमेरले २६ वर्ष टेकिसकेको थिएँ । खोइ के लहडमा हो मैले इङ्ल्याण्ड रोजेँ ।
जसोतसो आइयो । पढाइ त नाम मात्रै थियो । लन्डनको उत्तरपश्चिमी कुनाको एउटा सानो रेस्टुरेन्टमा वेटरको काम गरेर पढाइ अघि लैजानु कुनै पनि अर्थमा मैले फलदायी देखिनँ ।
रेस्टुरेन्ट मालिक पूर्ण पारिवारिक आदर्शले भरिएको र धार्मिक स्वभावको गुजराती थियो । उसलाई खुशी पार्न मेरो अन्तरचेतनाले प्रेरणा दियो । म त्यो यत्नमा लागेँ । सफलता यस्तो मिल्यो कि आखिरीमा उसले मलाई ‘बेटा’ भन्ने अवस्था आयो । मैले ‘बापुजी !’
यो सम्बन्ध गुजराती परिवारसम्म पुग्यो । सरल स्वभावकी उसकी स्वास्नीलाई ‘माताजी’ बनाउन मलाई समय लागेन । घरमा दुईवटी छोरी थिए ।
कान्छी युनिभर्सिटी पढ्दै थिई । जेठीमा शायद कुनै समस्या थियो, ऊ शारीरिक रुपमा अलि मोटी थिई । पछि थाहा भयो ऊ अर्थराइटिस्ले ग्रस्त थिई ।
बाउआमा छोरीका लागि चिन्तित थिए । उमेर पुगेकी केटीले कुनै ब्याइफ्रेन्ड बनाउन सकेकी थिइन ।
उनीहरु सकेसम्म इन्डियाबाट कुनै असल र इमान्दार केटो झिकाएर उसको बिहा गरिदिने योजनामा थिए ।
यहाँनिर मेरो अन्तरचेतनाले फेरि आवाज दिएको थियो –’केटी नहेर् ! भविष्य हेर् ।’ मैले त्यही आवाज सुनेँ र अन्ततः केटीको नजिक पुगेँ ।
मेरो उपस्थिति त्यो घरको खुशीको कारण बन्न थालेको थियो । आमाबाबु खुशी । छोरी खुशी । मैले अघोषित ज्वाइँको सेवा पाउन थालिसकेको थिएँ ।
ज्वाइँको सेवा पाएपछि पतिको सेवा नपाउने र नलिने कुरै थिएन । मैले त्यो पनि प्राप्त गरेँ । तर मैले मेरा साथी या परिवार कसैलाई पनि यसको सुइँको दिएको थिइनँ । मेरो बेलायती बन्ने सपनाले मूर्तरुप पाउनेवाला थियो ।
एकदिन एउटा मिल्ने साथीले भन्यो –’सुमित, हामी असाइलम गरौँ । यो पढ्नेवर्ने झन्झटै सकिन्छ । अहिले द्वन्द्वको कारण देखाएर असाइलम गर्नेहरु धेरै छन् । पेपर पनि पाएका छन् ।’
‘केही अप्ठ्यारो त पर्दैन ?’ म हच्किएको थिएँ ।
‘पर्दैन पर्दैन ।’
मलाई लाग्यो, बिहेको पापड बेल्नुभन्दा त यो सजिलो र सुरक्षित माध्यम हो । अब मैले बिहेलाई वैकल्पिक स्थानमा राखें । एउटा बंगाली वकिलले सबै कागजात मिलाइदियो । अलिअलि खर्च भयो ।
यता असाइलमको तयारी भइरहेको थियो । उता मेरो अघोषित ससुराली मेरो बिहेका लागि अतालिइरहेको थियो ।
मैले २००१ मा बिहा गर्न नहुने भनेर धेरै वर्ष पहिले कुनै ज्योतिषले भविष्यवाणी गरिदिएको बाहाना गरेर टारिरहेको थिएँ ।
आखिरीमा दुईचोटी अदालत धाएपछि असाइलम स्वीकृत भयो । त्यसको केहीदिनपछि मैले बाटो तताएँ । फोन नं बदलेँ । चिठीपत्रको लागि ठेगाना बदलेँ । सबै बदलेँ । एक वर्षपछि इन्डिया हुँदै नेपाल आएँ । बिहे गरेँ । फर्किएँ । त्यसपछि लन्डन छाडेँ ।
मेरो यो भित्रीकथा मेरोतर्फको मलाई मात्रै थाहा छ । यसपछिको मात्रै सार्वजनिक छ । लन्डन छाडेर यता आएपछि मैले यो पन्जाबी भेट्टाएँ र अहिलेसम्म यसैसित छु ।
यति लामो अवधि रेस्टुरेन्ट लाइनमा बिताएर पनि किन आफ्नै रेस्टुरेन्ट नखोलेको भन्छन् साथीहरु । तर मलाई धेरै दुःख गर्नु छैन । पन्जाबी मालिकले मेरै भरमा रेस्टुरेन्ट छाडेको छ । जसको अघोषित मालिक त मै हुँ । मेरो नियमित तलब बाहेक यताउता गरेर त्यति नै पैसा टाँका मार्ने गरेको छु । आरामले पैसा बनिरहेको छ त किन टाउको दुखाउने ? खासमा म कहिले यो बूढो पन्जाबीले ‘यो रेस्टुरेन्ट भो तैँ चला’ भनेर सस्तैमा देला भनेर पर्खिरहेको छु ।
र, नेभा गएको साल यही रेस्टुरेन्टमा वेटरको रुपमा भित्रिएकी हो । ऊ भित्रिएपछिको मेरो जीवनको कथा अलि मोडिएको हो । बाँकी त सबै ठीकै थियो ।
****
रेस्टुरेन्ट बढी व्यस्त हुने भनेको शुक्रबार र शनिबार हो । बाँकी दिन त सामान्य काम हुन्छ । त्यसैले मेरो समय बढी नेभासित गफिएर बित्छ ।
किचेनमा काम गर्ने एक नेपाली र गड्वाली सेफ अंग्रेजीमा औँठा छाप नै हुन् । उनीहरुको नेभासितको वार्तालाप ‘हाइ हलो’ र ‘के खान्छेस्’ भन्नेभन्दा अघि बढ्न सक्दैन ।
यसमा उनीहरु कुन्ठित छन् र मप्रति आरीसे पनि । अर्को इन्डियन विद्यार्थी छ । ऊ खासै कुरा गर्न रुचाउँदैन । गोवा दामनतिरको एउटा अधबैंशे भाँडा माझ्छ । ङ्च्चि दाँत देखाएर सेफहरुको गफमा हाँ मा हाँ मिलाउने बाहेक उसको अरु काम छैन ।
सेफहरु प्रायः आफ्नो काममा व्यस्त नै हुन्छन् र फुर्सदको कामचाहिँ नेभाको शरीरको गोलाइ नापेर छिल्लिँदैमा जान्छे ।
– आज माल आई है क्या ?
– क्या मस्त है यार ।
–जरा इस की चाल देखो । कैसे मटकती है ।
– अपनी उम्र से तो ये कितना छोटी लगती है न ।
– निचे और पिछे मत देखना उसका । कहीं ऐसा हो न जाये कि तन्दूरपे गिर जायेगा तू ।
–कितना खुश्बु आता है यार इसके बदन से ! – हां भाइ, तेरे भाग में वही खुश्बू ही मिलेगा । बांकी तो अपना मनेजरको नसीब है ।
नसीबवाला तो अपना पृतेश है । माल उसिकी पास मडराती है । ओ पृतेश आज तु आगे आ जा । मैं वरतन धो लेता हुँ ।
नेभालाई केन्द्र बनाएर यस्ता कुराहरु गुन्जिरहन्छन् । सुरु सुरुका दिनमा यी बोलीमा मेरो बोली पनि मिसिएको हुन्थ्यो ।
तर जब नेभा नजिक हुँदै गई, मलाई यी बोलीहरुसित रिस उठ्न थालेको छ ।
– नेभा तिमी आज असाध्यै राम्री देखिएकी छौ !
– यसरी कपाल कोरेको कस्तो सुहाउँछ तिमीलाई !
– तिम्रो परफ्युमको बासना निकै सुगन्धित छ । कुन ब्रान्ड हो !
मचाहिँ यस्तै यस्तै कुरा गरिरहन्छु नेभासित । यही कुरा मैले आफ्नी स्वास्नीलाई आजसम्म भनेको छैन ।
मलाई चाहना हुन्थ्यो । दैनिकको मेरो प्रशंसाले नेभा पग्लियोस् । तर ऊ मतिर लहसिएको अनुभूति मैले कहिले गर्न सकिनँ । तैपनि म प्रयासरत् थिएँ ।
उतिखेर पूर्वी युरोपियन वेश्याहरु सस्तैमा मिल्छन्, जाऊँ भनेर साथीहरुले भन्दा कहिल्यै म गइनँ । खै, मलाई वेश्यासँग सुत्ने कुरा र अरुले घिनलाग्दो गरी मुछेर दिएको खानेकुरा उस्तै लाग्छ । सोच्दैमा बान्ता आउला जस्तो !
–युरोपियन केटीहरु त दुई गिलास वाइन र एउटा डिनरका लागि सुत्न तयार हुन्छन् यार !
कति साथीहरु भन्ने गर्थे । अनि यस्ता कथाहरु सुनाउने पनि गर्थे । उनीहरुको कुरा सुनेर म उत्तेजित हुने गर्थेँ । तर त्यतिबेला म सुनेर कल्पने अवस्थामा मात्रै थिएँ । परिवार ल्याइसकेको थिएँ । राम्री आइमाई मेरी स्वास्नीको रुपमा थिई । छोराछोरी भइसकेका थिए । अब म एक्लो थिइनँ ।
त्यसैले यस्ता कुराहरु मेरा लागि वर्जित फल जस्तै थिए , जसलाई मैले राम्रोसित बुझेको थिएँ । तर आजकाल झन्डै ४७ वर्षको उमेरमा म साथीहरुले सुनाएका ती अनुभव सम्झी सम्झी उत्तेजित हुन थालेको थिएँ ।
नेभा जब मेरो नजिकबाट पार गर्थी मेरो जिऊ काँप्थ्यो । बारमा गिलास सफा गर्न लाग्दा अथवा निहुरिएर फ्रिजबाट केही निकाल्ने बेलामा म उसको शरीरको नापजाँच गर्न लाग्थेँ । सर्टको साइडबाट चियाउन खोज्थेँ । कहिलेकाहीँ त यति उत्तेजित हुन्थेँ कि लाग्थ्यो उसलाई गएर च्याप्प समाऊँ ।
तर यो उत्तेजनालाई धेरै कुराले रोकेको थियो ।
त्यसमध्येको एउटा घटना थियो नेभाले आफ्नो शरीरमा हात लगाउने सेफको नाथ्री फुट्नेगरी मुक्का हानेको घटना । ऊ नेभालाई जिस्क्याइरहन्थ्यो । किचेनतिर ऊ उभिई भने केराउका गेडाले हानिरहन्थ्यो । यतिसम्म त उसले हाँसेरै पचाएकी थिई । एकदिन उसको नितम्बमा हात लगेछ । उसले जवाफमा मुक्का हानिदिई । पुलिस बोलाउन लागेकी थिई । बल्लतल्ल मैले रोकेको थिएँ । विचरो लज्जाबोधले होला काममा फर्किएरै आएन । पैसा लिन पनि आएन । त्यो दिनदेखि सबै सतर्क । सबैले मुखमात्रै चलाएरै चित्त बुझाइरहेका थिए ।
****
‘एकपटक म तिमीलाई नेपाल लैजाऊँला । त्यहाँको पानी त सीसाजस्तै टल्किने हुन्छ । त्यहीँ तिमी डुबुल्की मार्नु जलपरी ।’
‘साँच्चै !’
मैले नेभालाई जलपरी भन्ने गरेको छु ।
आहा ! यो त हाम्रो भाषामा ‘सिरेना’ भनेजस्तै रहेछ ! पहिलेपटक यसको अर्थ बुझेपछि खुशी भएर नेभाले भनेकी थिई ।
यही मौकामा म उसित नजिकिन्छु । उसको स्कर्टले एउटा नरमिलो स्पर्श दिन्छ मलाई । म तरंगित हुन्छु ।
स्वास्नीको फोन आइरहन्छ बारबार । म काटिरहन्छु बारबार ।
‘तिमी कति दयालु छौ सुमित । उसो त प्रायः एसियनहरु मलाई उस्तै लाग्छ । तिमीहरुको सोच्ने तरिका एकै खालको हुन्छ ।’
‘मतलब ?’
‘अरुको पनि हेरविचार गर्ने खालको स्वभाव हुन्छ तिमीहरुको । साकिब पनि तिमीजस्तै दयालु छ ।’
नेभाको यही कुरा मलाई मन पर्दैन । बेला न कुबेला उसको मुखमा ‘साकिब’ आइहाल्छ ।
उसित डेढवर्ष बस्दा प्रायः सधैँ उसैले खाना बनाउँथ्यो । उसले बनाउने फिसकरीको स्वाद ! अहिले पनि मलाई फोनमा बंगाली खाना बनाउन सिकाइरहेको हुन्छ । उमेरमा मभन्दा १४ वर्ष कान्छो छ । तर मलाई सानी केटीलाई जस्तैगरी सम्झाइरहेको हुन्छ । यो गर र त्यो नगर… यो खाऊ र त्यो नखाऊ …भनेर । साँच्चै तिमीहरुसित सबैकुराको सहज समाधान हुन्छ हगि !’
मीठो अनुभूतिमा ढुंगा लाग्छ मेरो । आफू नेभाको लोग्नेजस्तै हुनु मेरो सफलता कि विफलता, म अलमलिन्छु ।
उसले बारबार नाम लिने ‘साकिब’ नाउँको त्यो बंगाली युवकलाई म नभेटेरै पनि चिन्छु । नदेखेरै पनि उसको बारेमा धेरै कुरा थाहा पाएको छु ।
साकिब नेभाको तेस्रो लोग्ने । लिथुवानियामा जन्मिएकी क्रिश्चियन युवतीले आफूभन्दा १४ वर्ष कान्छो बंगाली मुस्लिम केटोलाई कसरी लोग्ने बनाई, अनौठो लाग्न सक्दछ । उसले मलाई सुनाउन मिल्नेसम्मको उसको कथा सुनाएकी थिई ।
नेभा सानै हुँदा आमाचाहिँ उसलाई च्यापेर अर्कैसित हिँडी । बीस वर्षको उमेरमा नेभा पनि एउटा केटासित हिँडी । सँगै बस्न थालेको वर्ष दिनमै छोरी जन्मिई । केटाको मन भरियो र ऊ नेभाको जीवनदेखि छड्कियो । सानी छोरी आमाको काखमा छाडेर नेभा स्पेन पसी ।
४ वर्ष जति स्पेनमा हल्लिएर एउटा पोलिस युवकसित इङ्ल्याण्ड हानिई । बिल्डर पेशा गर्ने त्यो युवकसित उसको जिन्दगी राम्रै चलिरहेकै थियो । ऊ एउटा क्याफेमा काम गर्थी । ऊसित विवाह गर्ने, एउटा घर किन्ने र छोरीलाई यता ल्याउने सहमतिका साथ उनीहरुको जिन्दगी अघि बढिरहेकै थियो । तर एकदिन बिसन्चो भएर कामबाट चाँडै फर्किँदा जब उसले आफ्नो ओछ्यानमा कुनै अपरिचित केटी देखी उसको यो सम्बन्ध पनि टुंगिएको थियो ।
त्यसपछिका खुद्रामसिना सम्बन्धहरु खासै अगाडि बढेनन् । अन्तिममा उसले बंगालादेशबाट विद्यार्थी भिसामा आएको साकिबलाई भेट्टाएकी थिई ।
आफूभन्दा १४ वर्ष कान्छो साकिबले उसको मन जितेको थियो । उसले साकिबमा आफ्नो पारिवारिक जीवनको सपना रोपेकी थिई । तर सँगै उसित बस्न थालेको तीन महिनामै यो सपना पनि धरापमा पर्यो ।
एकबिहान चारै बजे युके बोर्डर फोर्सले ओछ्यानबाट टिपेर लगेको पनि पाँच वर्ष पुग्न लागिसकेको छ । डिपोर्ट भएपछि साकिब कति प्रयास गरे पनि इङ्ल्याण्ड फर्किन सकेको छैन । यसबीचमा ऊ बंगलादेश गई । साकिबसित बिहा गर्नलाई मुस्लिम धर्म अँगाली । सबै व्यवस्था मिलाएर भिसा आवेदन दिँदा फेरि पनि अस्वीकृत भयो । नेभाले अझै प्रयास गर्न छाडेकी छैन । उसलाई विश्वास छ अब चाँडै ऊ साकिबलाई इङ्ल्याण्ड ल्याउन सफल हुने छे ।
****
‘तिमीहरु कसरी अरुको दुःखसँग आफूलाई जोड्न सक्छौ ! मलाई त हाम्रो रेस्टुरेन्टमा काम गर्ने सबै मेरो परिवारका सदस्य झैँ लाग्छन् ।’
नेभाको ह्दय किन्जलजस्तै छ– कन्चन । उसमा बठ्याइँको कालो छैन । ऊ नधमिलिएको पानी जस्तै पारदर्शी छे ।
जति जति उसको कन्चन प्रकाशित हुँदै जान्छ, त्यति त्यति म धमिलिँदै जान्छु । अमिलिँदै जान्छु ।
बालुवामा धसिँदै गएजस्तो भित्रभित्रै ।
परतिर गर्जन बोकेर उर्लिरहेको समुद्रको छालजस्तो ! माथिको आकाशले आफ्नो अँध्यारो बादलको कुम्लो पोको पारेर मैमाथि फ्याँकिदिएजस्तो ।
स्वास्नीको फोन फेरि आयो ।
‘फोन उठाऊ न । अघिदेखि बजिरहेछ ।’ नेभा सचेत गराउँछे । अब फोन नउठाउनु नेभाको नजरमा गिर्नु हो । म उठाउँछु । ‘डाक्टरले डेढ महिना रेस्ट गर्नु र हप्तामा दुई पटक थेरापी गराउन भनेको छ । के गर्ने होला अब ?’
पानीको एउटा थोपा तप्प खस्दाको जति पनि गुन्जदैन स्वास्नीको आवाज मभित्र । पिरिएको उसको स्वरले कति छुँदैन ।
‘बरु छोराको टिचरसँग मै भेट्छु । साँझसम्मचाहिँ आइपुग्नु है । बाहिर जाने भनेर छोराछोरी खुशी भा छन् ।’
स्वास्नीलाई आफ्नो दुःखभन्दा छोराछोरीको क्षणभरको खुशी ठूलो लाग्छ ! उसको मातृत्वले मलाई गह्रुँगो गरी थिच्छ । नबोली फोन काटिदिन्छु ।
अकस्मात् कताकता नियास्रो लागेजस्तो आफैँलाई सम्झन पुग्छु । घरिघरि त्यो मोटी गुजराती आइमाई आँखामा बिझाउने गरी आउँछे । मलाई डरलागेजस्तो हुन्छ । छाती ढक्क फुल्छ । पुराना पारिवारिक हिन्दी फिल्मका कर्तव्यपरायण बाउआमाजस्तै गुजराती बुढाबुढीको अनुहार दिमागमा आउँछ । स्वास्नी छोराछोरी सबै एकैसाथ आउँछन् । नेभाको साकिब मलाई मेरै पुरानो अवतारजस्तो लाग्छ ।
असाध्यै विश्वास गर्ने पन्जाबी मालिककोआउँछ, जसको विश्वासलाई म भित्रभित्रै रेटिरहेको छु । ओहो, मैले कति गलत काम गरिरहेको छु । स्वास्नीलाई जरुरी काम छ भनी ढाँटेर एउटी आइमाईको पछि लागेको छु ।
मान्छेको भित्री सोचाइ आँखामा र अनुहारमा फोटोककपी भएर देखिने भए …!
समुद्रको छालजस्तै पटके छालहरु उडेका छन् मेरो मनमा । यस्तो भइरहेछ, मानौँ मेरा सबै अपराधको पोल खुल्दैछ । अब मलाई त्यहाँबाट भाग्न मन लाग्छ, सकेसम्म छिटो ।
‘जे होस् । साकिब चाँडै आउने छ भन्ने मलाई विश्वास छ । अलिकति पैसा जम्मा गर्ने प्रयास गर्दैछु । केयर होमतिर पार्ट टाइम जब गरुँ होला कि ।’ नेभा मसित पोखिन्छे, ‘सुमित प¥यो भने मलाई अलिकति पैसा सापटी देऊ न है ।’
म अँध्यारोमा फसिसकेको थिएँ । तर अचम्म त्यो अँध्यारोबाट एउटा प्रकाश काम्दै काम्दै निस्कियो । त्यो मसित भएको अलिकति विवेक थियो– ‘तिमी साकिबको पछि लाग्न छाड ‘नेहा । मलाई विश्वास गर, उसले तिमीलाई इङ्ल्याण्ड आउने हतियार मात्रै बनाएको हो । पेपर बनेपछि उसले तिमीलाई छाडिदिनेछ ।’
निश्चय नै नेभाका निम्ति यो अप्रत्याशित र अकल्पनीय थियो ।
‘किन सुमित ? किन त्यसो भन्यौ ? तिमी ठीक त छौ ?’
ऊ मतिर फर्किई । मैले उसको अनुहारमा आश्चर्य र क्षोभ भरिएको देखें ।’
‘किनभने म त्यही साकिब हुँ !’ मैले उसको अनुहारमा बढ्दै गइरहेको बुढ्यौलीको मुजा नियाल्दै दृढ स्वरमा भनेँ ।
(सापकोटाको ‘अनावरण‘ कथासंग्रह प्रकाशित छ। )
प्रतिक्रिया 4