Comments Add Comment

नेकपामा नकचरो नेतृत्व, निरीह नयाँ पुस्ता

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मङसिर १३ गते नेकपा सचिवालयको बैठकमा आफ्ना समकक्षी नेताहरूलाई चुनौतीपूर्ण भाषामा सामूहिक सन्यास लिएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने आफ्नो कुरा पुनः दोहोर्याए ।

पार्टीभित्रको खिचलोकै सन्दर्भमा अर्का अध्यक्ष प्रचण्डको ‘प्रतिवेदन’ को प्रतिउत्तर दिने क्रममा प्रम ओलीले सरकार र पार्टीको बारम्बार नेतृत्व गरेका कमरेडहरूले अब जिम्मेवारी नलिन र नयाँ पुस्तालाई हस्तान्तरणका लागि तयार रहन चुनौती पनि दिए ।

प्रम ओलीको यो चुनौतीपूर्ण आग्रह हालको समस्याग्रस्त पार्टीलाई साँच्चिकै सञ्जीवनी दिनका लागि होे वा फगत हुँकारका लागि ? आगामी घटनाक्रमहरूले नै बताउलान् । तर, यो प्रसङ्गले नयाँ पुस्तालाई नेतृत्वमा आउन भने मार्गप्रशस्त गरिदिएको छ ।

यसअघि नेकपा महासचिव विष्णु पौडेलले पार्टीको ९ सदस्यीय सचिवालयले पार्टी राम्रोसँग सञ्चालन गर्न असफल भएको भन्दै सामूहिक राजीनामा गर्न प्रस्ताव गरेका थिए । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको प्रसङ्ग औपचारिकरूपमा पटकपटक उठिरहँदा पनि नेकपाभित्र नयाँ पुस्ता यसप्रति न पूर्णरूपमा आश्वस्त हुन सकेको छ न त उत्साहित र जागरूक नै । बरू उदासीन र  बेखबरजस्तै देखिन्छ  । त्यस प्रस्तावका लागि दरिलो आँट गर्ने दोस्रो पुस्ताका कुनै नेता हालसम्म अग्रसर भएको पाइँदैन ।

यतिखेर नेकपाको शीर्ष नेतृत्व एकअर्कामा आरोप–प्रत्यारोप र पोल खोलाखोलको चरम उत्कर्षमा छ । एक–अर्कालाई खुल्याएर नाङ्गो बनाउने होडबाजी नै चलेको छ शीर्ष तहमा । उनीहरूबीच न मिलापत्र हुन सकेको छ न छोडपत्र नै । पार्टीभित्र समस्याका चाङहरू चुलिएको चुलियै छन् ।

नेकपा पार्टी जनस्तरमा बदनाम हुन थालिसकेको छ । दुवै अध्यक्षले पार्टी एकताको भावना, विधि र पद्दति मिच्दै स्वेच्छाचारी बन्दासमेत दोस्रो पुस्ता भने मौनजस्तै छ । सार्वजनिक रूपमा आवाज उठाउने आँट गर्न सकिरहेको छैन । नेतृत्व र आन्दोलनले पहिलो पुस्ताकै नेतालाई परिक्रमा गरिरहेकाले नै नेकपा अहिले संकटबाट गुज्रिरहेको छ ।

गतिहीन र निरीह दोस्रो पुस्ता

नेकपाका शीर्ष नेतृत्वमा भइरहेका लगातारका विवादले पार्टी नै कोमामा पुगेको छ ।  सचिवालयमा रहेका शीर्ष नेताहरू पार्टीको अस्तित्व नै संकटमा पर्ने गरी आपसी किचलोमा रूमल्लिरहेका छन् । नेकपामा पहिलो पुस्ता यतिखेर ज्यादै अटेरी  र जिद्दी बन्दै छ । एकदमै निरंकुश र नकचरो पनि । शीर्ष तहको आफ्नो मर्यादासमेत बिर्सेर पार्टीमा एकपछि अर्काे विवाद चर्काउँदै छ । एकपछि अर्को गर्दै समस्या झन् बल्झाउँदै छ ।

संकटका बेला नागरिकको बेहालभन्दा पदीय भागबण्डा नेकपा शीर्ष नेतृत्वको प्राथमिकता बनेको छ । यस्तो बेला पनि सरकार र पार्टीको नेतृत्वलाई नागरिकका पीडामा केन्द्रित हुनका लागि दबाब दिन दोस्रो पुस्ताले कुनै हस्तक्षेपकारी भूमिका बहन गर्न सकेको देखिंदैन । उमेर, जोश, जाँगरका हिसाबले पार्टी राजनीतिलाई  काँध थाप्नुपर्ने यो संकटका बेलामा दोस्रो पुस्ता भने यतिखेर के गर्दैछ ? अत्तोपत्तो छैन ।

पक्कै पनि यो पुस्ता गुटगत राजनीतिमा लागेर पहिलो पुस्ताकै आसपास फन्को लगाइरहेको भेटिन्छ । नेकपामा प्रभावहीन र दिशाहीन जस्तै देखिएको यो पुस्ताले स्वयम्मा संकटका बेला नेतृत्व गर्नुपर्ने अवसर गुमाउँदै गएको छ, अनि पहिलो पुस्ताको असफलताको भागिदार बन्ने खतरा पनि सँगसँगै बोकिरहेको छ ।

गुटगुटमा विभक्त पार्टीभित्र दोस्रो र नयाँ पुस्ताका नेताहरू पनि कुनै न कुनै गुटसँग आबद्ध भएका छन् । नेकपाभित्रको दोस्रो पुस्ता सक्रिय भए पनि निरीह र पहिलो पुस्ताको लाचार छायाँमात्र भइरहेको आभास हुन्छ ।

देश र नागरिकको आशा, भरोसाको केन्द्रका रूपमा स्थापित भएको नेकपाको भविष्य अब शीर्ष नेतृत्वबाट चल्न सक्दैन भन्ने उनीहरूकै हर्कत र आन्तरिक झगडाले नै स्पष्ट पारेका छन्  । दोस्रो पुस्ताचाहिंँ यति निरीह र गतिहीन बन्दै छ कि संकटका बेला समाधानका उपायसहित नेतृत्वमा हस्तक्षेप गर्ने आँट र हिम्मत गर्न सकिरहेको छैन ।

नेकपाको नेतृत्व पुरानै पुस्ताको हातमा छ । नेतृत्व तहमा रहेका केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल २०२६–२०३५ को दशकबाट राजनीतिमा सक्रिय बनेका पुस्ताका हुन् । नेकपाका पहिलो तहका सबै नेता ६५ वर्षभन्दा माथि पुगिसकेका छन् ।

लामो समयदेखि नेकपाको बागडोर यही पुरानो पुस्ताको हातमा छ । नौ सदस्यीय सचिवालयमा रहेको यही बुढो पुस्ताले नेकपा हाँकिरहेको छ । त्यसैले त सचिवालय बालुवाटार, खुमलटार र कोटेश्वरको चौघेराभित्र मात्रै अल्मलिएको देखिन्छ । यही पुस्ता नै पदीय भागबन्डाका लागि बहुमत र अल्पमतको खिचातानीमै व्यस्त छ । गुटगत स्वार्थको लडाइँमा तल्लीन छ ।  पुरानो पुस्ताको यही झगडाले नेकपा पार्टीलाई नै समाप्त पार्न लागिरहेको छ ।

त्यसो त नेपालका कम्युनिस्ट पार्टी र यसको नेतृत्व पुस्तान्तरणको अहिलेसम्मको इतिहास हेर्दा एकाध पार्टीलाई छोडेर आम कम्युनिस्ट पार्टीमा एउटै नेतृत्व दशकौंदेखि कायम रहेको पाइन्छ  ।

मसालका मोहनविक्रम सिंह, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपाका प्रचण्ड ३० वर्षदेखि मसाल, माओवादी, माओवादी केन्द्र हुँदै नेकपासम्म आइपुग्दा पनि अध्यक्ष नै छन् । १४ वर्ष पार्टीमा एकछत्र राज गर्दा पनि नेता माधव नेपाललाई नेतृत्वको भोक अझै पनि जागेकै छ । ३० वर्षसम्म सक्रिय नेतृत्व हाँकेर पनि प्रचण्डमा लोभ, लालच र पदप्रतिको आसक्ति  घटेको छैन, बरू झन् बढ्दो छ । यतिखेर यिनै पुराना पुस्ताले नै पार्टीमा सबैभन्दा बढी समस्या सिर्जना गरेका छन् ।

देश र जनताले आशा गरेका धेरै अनुहार नेकपाको नयाँ पुस्तामा छन् । धेरै आसलाग्दा र देश–नागरिकलाई गोलबद्ध गरेर शासन प्रणाली हाँक्ने क्षमतावान् पुस्ताको ठूलै पङ्ति छ । प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्वाङ्, भीम रावल, योगेश भट्टराई, जनार्दन शर्मा, घनश्याम भुसाल, देवेन्द्र पौडेल,जस्ता निडर,आदर्शवान्, सैद्धान्तिक र बौद्धिक व्यक्तिहरू मूल नेतृत्वबाहिर नै छन् ।

वर्षमान पुन, सुरेन्द्र पाण्डे, गोकर्ण विस्ट, ठाकुर गैरेजस्ता क्षमतावान् पुस्ताले नेतृत्व नपाउनु मुलुकको लागि ठूलो घाटा हो । तर सम्भावनाको नजरले हेरिएका नेकपाको दोस्रो पुस्ताका नेताहरू पहिलो पुस्ताकै स्वार्थ र गुटको बचाउ गर्ने पंक्तिमा लामबद्ध बन्दा नेकपाको भविष्य संकटपूर्ण अवस्थाबाट बाहिर निस्कन सकेको छैन । नेकपाको दोस्रो पुस्ता नेतृत्व लिन सक्षम त छ, तर अवसर नआउला र पद नपाउँला भन्ने मनोगत भयमा बसेको देखिन्छ । मूल समस्या यही नै हो ।

सांसद् भएका मन्त्री भइहाल्ने, युवा विद्यार्थीहरू तिनै मन्त्रीको पीए र सल्लाहकार बन्ने । कर्मचारीको सरूवा बढुवामा पैसा खाने । ठेक्का पट्टामा कमिसन खाने र आफ्नो आर्थिक स्थितिलाई मजबुत बनाउनमै युवाहरूको आशक्ति बढेको हो कि ?

स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र जनार्दन शर्माले नेतृत्वप्रति बेलाबेला खबरदारी गरे पनि उनीहरू पनि गुटगत स्वार्थभन्दा माथि अझै उठ्न सकेको देखिँदैन । उदीयमान नेताका रूपमा परिचित घनश्याम भुसाल र योगेश भट्टराईको यतिखेरको मौनता रहस्यमय छ । यतिखेर मुलुकले चाहेको,खोजेको र अपेक्षा गरेको आमूल परिवर्तन नै हो । जुन परिवर्तन नेकपाको पुरानो पुस्ता र नेतृत्वबाट अव संभव देखिँदैन ।

नयाँ पुस्ताले पहिलो पुस्ताकै नेतालाई परिक्रमा गरिरहेकाले परिवर्तनको आशा पनि क्षीण बन्दै गएको छ । चाकडीमा लिप्त, दिशाविहीन र निरीह पुस्ताका रूपमा नयाँ पुस्ताले बाटो बिराएस्तो देखिन्छ । पछिल्लो समय नयाँ पुस्ताका नेतृत्वहरू आत्मकेन्द्रित हुने, शक्तिकेन्द्र धाउने, पार्टी र सत्ताकै लेनदेनमा बिचौलियाको भूमिकामा देखिन थालेपछि झन् झन् संकट गहिरिँदै छ । आखिर पहल कसले गर्ने ?

कम्युनिस्ट पार्टी संगठन कार्यकर्तामा आधारित हुन्छ । अझ जनताको बहुदलीय जनवादको स्कुलमा हुर्किएको एमाले र त्यसैको फेरो समात्दै अघि बढेको नेकपाको प्रमुख विशेषता कार्यकर्ताले नेता चुन्ने र छान्ने नै हो । जनताबाट पार्टी अनुमोदित हुने र कार्यकर्ताबाट नेता अनुमोदित हुने अहिलेको कम्युनिस्ट आन्दोलनको सौन्दर्य पनि हो । परन्तु एक दुई व्यक्तिलाई केन्द्र बनाएर आन्दोलनले फेरो मारिरहँदा त्यसले कम्युनिस्ट पार्टी होइन, सामन्त या दासप्रथाको झल्को दिन थालेको छ । यो कदापि राम्रो संकेत होइन ।

तत्कालीन एमालेका नवौँ महाधिवेशनबाट पारित विधानमा उमेर हदको व्यवस्था  गरिएको थियो  । विधानअनुसार सबै कार्यकारिणी कमिटीमा निर्वाचित वा मनोनित हुन उमेरको हद ७० वर्ष थियो । केन्द्रदेखि जिल्ला तहसम्मका पदाधिकारी एउटा पदमा दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था गरिएको थियो । तर पार्टी एकतापछि बनेको अन्तरिम विधानमा उमेर हदको प्रावधान हटाइएपछि पुनः पाका नेताहरूमा नै नेतृत्व रहिरहेको छ । नेतृत्व पुस्तान्तरण फर्किएर पुरानै ठाउँमा पुगेको छ । समस्या सुल्झिनुभन्दा झन् बल्झिन थालेका छन् ।

कहाँ के गर्दैछ युवा पुस्ता ?

नेकपाभित्र युवाका रूपमा थुप्रै नेताहरू देखिन्छन् । विनोद श्रेष्ठ, रामकुमारी झाँक्री, ऐन महर, अमृता थापा, रामप्रसाद सापकोटा, रमेश पौडेल, रञ्जित तामाङ, नवीना लामालगायतको सक्रिय इतिहास छ । पार्टी संकटको यो घडीमा उनीहरूको मौनता पनि रहस्यपूर्ण मानिँदैछ  । आशाका केन्द्र युवाहरू यतिखेर किन गुमनाम र निरीह बनिरहेका छन्  ? थाहा छैन । शायद ती सबै युवा एउटा न एउटा वृद्ध नेताको फेरो समाएर आफ्नो राजनीतिक भविष्य उज्ज्वल पार्न चाहन्छन् । या त युवाहरू विचार र सिद्धान्तबाट क्रमशः विचलित हुँदैछन् या उनीहरूको लगाव पद र  पैसाप्रति केन्द्रित भएको छ ।

सांसद् भएका मन्त्री भइहाल्ने, युवा विद्यार्थीहरू तिनै मन्त्रीको पीए र सल्लाहकार बन्ने । कर्मचारीको सरूवा बढुवामा पैसा खाने । ठेक्का पट्टामा कमिसन खाने र आफ्नो आर्थिक स्थितिलाई मजबुत बनाउनमै युवाहरूको आशक्ति बढेको हो कि ? आशंका व्याप्त छ ।

नेकपाको दोस्रो पुस्ता वा युवा पुस्ता यतिखेर अत्यन्तै निरीह  बनेको छ  । न यो पुस्ताले पार्टी एकता जोगाउन पहल गरेको छ न त ओली–प्रचण्डहरूलाई बिदा गरेर आफ्नो पुस्ताबाट नेतृत्व दिन नै हिम्मत गर्न सकेको छ । दोस्रो पुस्ताले अब हामी पहिलो पुस्तालाई विदा गरेर नयाँ ढंगले पार्टी चलाउँछौं भनेर कार्यकर्ताबीच देशब्यापी अभियान चलाउन किन आँट गर्न सक्दैन ? बुझिनसक्नु छ ।

पहिलो पुस्ताका नेताले आफ्नो हैसियत र योगदानभन्दा बढी पाइसकेका छन्  । पुस्तान्तरणको यो अभियान त्यति सजिलो त नहोला तर पार्टी र मुलुकको निकासका लागि यो अपरिहार्य अभियान भने पक्कै शुरु हुनुपर्ने देखिन्छ ।  पुरानो पुस्ताको जयजयकारमा आफ्नो सामथ्र्य र समय खर्च गर्नुभन्दा विचार र राजनीतिलाई हतियार बनाएर आफूलाई देश र जनताप्रति समर्पित गर्नु नयाँ पुस्ताका लागि जरूरी छ । त्यो अपरिहार्य पनि हो ।

अब पनि शीर्ष नेताहरूको दौराको फेर समातेर एउटा गुटमा रमाउँदै बस्ने कि देश र जनताको आशा–भरोसाको एउटा आदर्श, नैतिकवान, अनुशासित र गतिशील विचार केन्द्रका रूपमा आफूलाई उभ्याउने ?  श्रमजीवी सर्वहारा वर्गको मुक्ति आन्दोलनका रूपमा, राष्ट्रियता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र समृद्धिको नायक बन्ने कि शीर्ष नेताको गुटको डम्फु बजाउँदै व्यक्तिगत फाइदाका लागि निरीह अनुचर बनिरहने ? पुरानै अटेरी र नकचरो पुस्ताको स्वार्थगत लडाइँमा पक्ष–विपक्ष भएर पार्टीसँगै आफूहरू पनि सिद्धिने कि मुलुकको परिवर्तनको नायक बन्न हिम्मत र आँट गर्ने ? नयाँ पुस्ताले अब एउटा निर्णय गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment