Comments Add Comment

भिजिट भिसामा विदेश जान बिमा अनिवार्य गर्ने तयारी

२३ मंसिर, काठमाडौं । सरकारले प्रमुख श्रम गन्तब्य मुलुकमा भिजिट भिसामा जान कडाइ गर्न थालेको छ । अघिल्लो हप्ताबाट विमानस्थलमा भिजिट भिसामा वैदेशिक रोजगरीका लागि हिँडेका शंकास्पद श्रमिकमाथि कडा चेकजाँच सुरु गरिएको अध्यागमन विभागले बताएको छ ।

भिजिट भिसा लिएर श्रमिकहरु असुरक्षित रुपमा विदेशिन थालेको गुनासो बढेपछि गृह मन्त्रालय र अध्यागमन विभागले भिजिट भिसामा थप कडाइ गर्न अध्ययन पनि थालेका छन् ।

गृह मन्त्रालयले भिजिट भिसामा जाने श्रमिकलाई रोक्नेबारे अध्ययनसहित सिफारिस गर्न उपसचिव रुद्र पण्डितको संयोजकत्वमा एक कार्यदल नै बनाएको छ । अध्यागन विभागले पनि स्वतःस्फूर्त रुपमा श्रमका लागि भिजिट भिसा लिएर जानेलाई रोक्नका लागि भन्दै आन्तरिक गृहकार्य थालेको बताएको छ ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसी अब भिजिट भिसामा जानेलाई आवधिक बिमा अनिवार्य गर्नेबारे छलफल भइरहेको बताउँछन् । उनका अनुसार भिजिट भिसामा जाने महिलाका हकमा स्थानीय तहको सिफारिस पत्र र भ्रमणको भिसाबाहक व्यक्तिको परिवारको एकाघरको सदस्यको मञ्जुरीपत्र पनि अनिवार्य गर्नेबारे छलफल भइरहेको उनले बताए ।

‘भिजिट भिसामा जानेहरुका लागि अहिले अनिवार्य गरिएका बाहेकका के-के व्यवस्था गर्न सकिन्छ भनेर अध्ययन गर्दैछौं,’उनले भने,’कार्यविधिमा नै आवश्यक संशोधन गरेर श्रमिकहरुलाई भिजिट भिसामा विदेश लैजान रोक्न प्रयास गर्छौं ।’

अहिले होटल बुक गरेको प्रमाण, दुईतर्फी हवाई टिकट, स्पोन्सरसिप लेटर र एकहजार अमेरिकी डलर बोकेकालाई त अध्यागमनले रोक्न पनि सक्दैन । यसरी जानेहरुमाथि शंका लागेमा अध्यागमनका अधिकारीहरुले सोधपुछ गर्न सक्छन् । तर, अध्यागमनमा कडाइ नगरिँदा भिजिट भिसामा श्रमिक विदेश पुर्‍याउने क्रम बढेको छ ।

कानूनअनुसार रोजगारीका लागि विदेश जानुअघि श्रम स्वीकृति लिनुपर्छ, वैदेशिक रोजगार कल्याणकारी कोषमा शुल्क तिर्नुपर्छ र आवधिक जीवन बिमा गर्नपर्छ । यसरी प्रक्रिया पूरा गरेर जाँदा समस्या परे सम्बन्धित म्यानपावर कम्पनी र रोजगारदाता जिम्मेवार हुन्छन् ।

तर, भिजिट भिसामा गएर रोजगारी गर्न खोज्नेहरु ठगिए वा अरु कुनै समस्यामा परे आफैं जिम्मेवार हुन्छन् । उनीहरुले सहयोग तथा उद्धार सुविधा पाउन पनिक मुस्किल पर्छ । त्यसेले वैदेशिक रोजगारका जानकारहरु श्रमिकको भिजिट भिसालाई ‘जुवा’ मान्छन् ।

तर, पछिल्ला समय प्रलोभनमा पारेर युवालाई विदेश पुर्‍याउने क्रम बढ्न थालेको छ । कोरोना माहामारीका कारण बन्द भएको अन्यतराष्ट्रिय उडान पुनः सुचारु भएसँगै भिजिट भिसामा जानेको संख्यामा बढेको छ ।

खासगरी देशभित्र रोजगारी पाउन नसकेका युवा तस्करको प्रलोभनमा परेर विदेश पुगिरहेका छन् । केही ट्राभल एजेन्सी र कन्सल्टेसीले पनि सामाजिक सञ्जालहरुमा भिजिट भिसाको विज्ञापन गरिरहेका छन् । खाडी मुलुकहरुको अवधिअनुसार भिसाको शुल्क तोकिएका छन् । कतिपय विज्ञापनमा रोजगारीको ग्यारेन्टी गरिएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार यूएई, बहराइनलगायत मुलुकमा भिजिट भिसामा गएकाहरुले रोजगारदाताको स्वीकृतिमा वर्किङ भिसा पाउँछन् । केही वर्षदेखि मानव तस्करहरुले यसलाई धन्दाका रुपमा विकास गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले चिन्ता प्रकट गर्दै आएको छ ।

अध्यागमन विभागमा अनुसार कात्तिक यता मात्रै यूएईमा ५ हजार भन्दा बढी भिजिट भिसामा पुगेका छन् । संघका महासचिव सुजित श्रेष्ठका अनुसार यूएईमा भिजिट भिसामा जानेहरु धेरैजसो १९-३० वर्ष उमेर समूहका छन् । भिजिट भिसामा यूएईमा पुगेर अलपत्र परेका उनीहरुमध्ये केहीले संघमा उजुरी दिएको उनको भनाइ छ । श्रेष्ठका अनुसार, भिजिट भिसामा लगेर आकर्षक रोजगारी दिने प्रलोभनमा ४ लाखसम्म असुल्ने गरिएको छ ।

भिजिट भिसाका नाममा भइरहेको ‘मानव तस्करी’ रोक्ने मुख्य जिम्मेवारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको हो । तर, मानव तस्करहरुले विमानस्थलमा सेटिङ मिलाएको आरोप लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment