Comments Add Comment

के संसद भंग चीनका लागि ‘सेटब्याक’ हो ?

६ पुष, काठमाडौं । केही साताअघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भनेकी थिइन्,– को प्रधानमन्त्री बन्ने, को अध्यक्ष बन्ने यो तपाईंहरूको आन्तरिक मामिला हो तर नेकपा नफुटोस् भन्ने चीनको चाहना हो ।

यसअघि चीनले प्रधानमन्त्रीमा ओलीकै निरन्तरता चाहेको सन्देश दिएको थियो । चीनले लामो समयदेखि नेपालमा बलियो कम्युनिस्ट पार्टी निर्माण भएको हेर्न चाहेको विषय ओपन सेक्रेट नै हो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका एकीकरणमा पनि कुनै न कुनै रूपमा चीनको भूमिका थियो । जब शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी बन्यो, त्यतिबेला चीन निकै उत्साहित भयो । नयाँ कम्युनिस्ट पार्टीसँगको सहकार्यलाई उसले निकै प्राथमिकता दियो । चीन कुनै पनि हालतमा नेकपा नफुटोस् भन्ने पक्षमा थियो, यो पनि ओपन सेक्रेट नै हो ।

चिनियाँ नेता, उच्च अधिकारी र मिडियामार्फत यो बारम्बार मुखरित भइरहेको थियो । यति मात्र होइन्, चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीको बीचमा तालिम र भ्रमण आदान प्रदान समेत भइरहेका थिए । तर प्रधानमन्त्री केपी ओलीले संसद भंग गर्दै निर्वाचनमा जाने निर्णय लिएपछि नेकपा लगभग विभाजित नै भएको छ । यसको औपचारिक घोषणा मात्रै हुन बाँकी छ । विश्लेषकहरूका अनुसार निश्चय नै यो घटना चीनका लागि सुखद् भने होइन ।

चीनले नेकपालाई नेपालमा एक विश्वासिलो राजनीतिक शक्तिको रूपमा लिन थालेको थियो । विशेषगरी सन् २०१५ को नाकाबन्दीपछि नेपालले चीनसँग विभिन्न रणनीतिक सम्झौताहरू समेत गरेको थियो । नेकपा नेतृत्वको सरकालाई थप बल दिनकै लागि गत वर्ष चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाल भ्रमण गरेका थिए । सो भ्रमणका क्रममा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म दुवै देशमा कम्युनिस्ट सरकार रहेकाले अझ सहकार्य गरेर अगाडि जाने सहमति गरेका थिए ।

विगतका सरकारले भारतसँगको सम्बन्धलाई मात्र जोड दिएको तर नेकपाले भने चीनसँगको सम्बन्धलाई पनि उत्तिकै प्राथमिकता दिएका कारण सो सरकारले जसरी पनि निरन्तरता पाउनुपर्छ भन्ने उनीहरूको जोड थियो । यस अगाडि नै चिनियाँ विज्ञहरूले पछिल्लो घटनाक्रमले आफूहरू एकदमै निराश भएको प्रतिक्रिया दिन थालेका छन् ।

लामो समयसम्म आफूले विश्वास गरेको अर्काे राजनीतिक शक्ति नेपाली कांग्रेससँगको सम्बन्धमा दरार आउनु र यही समयमा आफूले विश्वास गरेको नेकपामा विभाजन आउनु आफूहरूको लागि उचित खबर नभएको चिनियाँ विज्ञहरूले बताउन थालेका छन् ।

हुम्लामा सीमा मिचिएको घटनाले चीन र नेपाली कांग्रेसको सम्बन्धमा पछिल्लो समयमा निकै चिसोपन आएको छ । यस्तो अवस्थामा नेपालको राजनीतिक अस्थिरता आफूहरूका लागि अनुकूल नहुने चिनियाँ विज्ञको धारणा छ ।

चिनियाँ सरकारको धारणा नै बाहिर नआइसकेका कारण चिनियाँ विज्ञहरूले यस सम्बन्धमा खुलेर भने बोलेका छैनन् तर उनीहरूले यो आफ्ना लागि सेटब्याक भएको बताउने गरेका छन् ।

बढ्दो भूराजनीतिक तनावका बीचमा चीनले नेपालमा आफू अनुकूल सत्ताको ग्यारेन्टी खोजिरहेको थियो । नेपालमा राजनीतिक अस्थिरता बढ्दा आफ्ना सुरक्षा चासोहरू सम्बोधन गर्न कठिन हुने चीनको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment