Comments Add Comment

पीएम कप महिला क्रिकेटको उपाधिका लागि एपीएफ र प्रदेश १ खेल्दै

१९ पुस, काठमाडौं । दाङको लमहीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आइतबार विभागीय टोली एपीएफ र प्रदेश १ बीच प्रतिस्पर्धा हुँदैछन् ।

दुवै टोली अपराजित रहँदै फाइनल पुगेका हुन् । साविक विजेतासमेत रहेको एपीएफले सेमिफाइनलमा साविक उपविजेता सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । यस्तै अर्को सेमिफाइनलमा घरेलु टोली लुम्बिनीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ ले फाइनलमा एपीएफसँग भेट पक्का गरेको हो ।

दुवै टोलीमा राष्ट्रिय टिमका खेलाडीहरुको वर्चस्व रहेको छ । त्यसैले पनि फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

समूह चरणदेखि सेमिफाइनलसम्म दुवै टिमले एक पक्षीयरुपमा खेल जित्दै आएका थिए । यी दुई टिमको तुलनामा प्रदेशका अन्य टोलीहरु कमजोर देखिएका थिए ।

राष्ट्रिय टिमका कप्तान रुविना क्षेत्रीको कप्तानीमा प्रदेश १ मैदान उत्रँदैछ भने राष्ट्रिय टिमका उपकप्तान सीता राना मगरको कप्तानीमा एपीएफले खेल्दैछ ।

फाइनलसम्म आइपुग्दा अपराजित रहेका दुवै टोली त्यही नतिजालाई कायम राख्दै उपाधि आफ्नो पक्षमा पार्ने दाउमा छन् ।

समूह ए मा रहेको एपीएफले पहिलो खेलमा कर्णालीलाई २०४ रनले हराएको थियो भने दोस्रो खेलमा प्रदेश नम्बर २ लाई ८ विकेट र तेस्रो खेलमा लुम्बिनीलाई ६१ रनले पराजित गरेको थियो । सेमिफाइनलमा भने सुदूरपश्चिमलाई ९ विकेटले हराएको थियो ।

उता समूह बी मा रहेको प्रदेश १ ले बागमतीलाई ४६ रनले पराजित गरेको थियो भने सुदूरपश्चिमलाई ५ विकेट र गण्डकीलाई १४० रनले हराएको थियो । यस्तै सेमिफाइनलमा लुम्बिनीलाई १० विकेटले पराजित गरेको थियो ।

सन् २०१५ देखि सुरु भएको पीएम कप महिला क्रिकेट प्रतियोगिता चार संस्करण हुँदा एपीएफ ३ पटक उपाधि जितेको छ भने एक पटक उपविजेता भएको थियो । पहिलो संस्करणमा एपीएफ फाइनलमा जनकपुरसंग पराजित भएको थियो ।

२०१६ मा राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको राष्ट्रिय क्रिकेट सेलेक्सन टुर्नामेन्ट पनि एपीएफले नै जितेको थियो । त्यसयता भएको पिएम कपको लगातार तीन संस्करणको उपाधि एपीएफले नै जितेको छ ।

प्रदेश १ भने पहिलो पटक फाइनल पुगेको छ । एफीएफ आफ्नो च्याम्पियन साखलाई जोगाउने प्रयासमा हुनेछ भने प्रदेश १ एपीएफको यात्रालाई ब्रेक लगाउदै पहिलो पटक च्याम्पियन बन्न चाहन्छ ।

एपीएफमा कप्तान सीतासहित सरिता मगर, करुणा भण्डारी, इन्दु बर्मा, सोनु खड्का, ज्योती पाण्डे ममत चौधरी जस्ता खेलाडी छन् । यस्तै प्रदेश १ मा रुविना सगै काजल श्रेष्ठ, रोमा थापा, अप्सरी बेगम, सवनम राई, संगीत राई जस्ता खेलाडीहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment