Comments Add Comment

प्रधानमन्त्री ओलीको सनक र धुन्धुकारी प्रवृत्ति देखेर विश्व चकित : कृष्ण पहाडी

१९ पुस, बुटवल । मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सनक र धुन्धुकारी प्रवृत्ति देखेर विश्व नै चकित भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपालको विकास र प्रगति देखेर विश्व चकित भएको भन्दै शनिबार काठमाडौंमा गरेको भाषणप्रति व्यंग्य गर्दै उनले यस्तो बताएका हुन् । ‘ओलीजीले हिजो काठमाडौंमा भाषण गर्दै नेपालको विकास र प्रगति देखेर विश्व चकित भएको छ भन्नुभएछ,’ वुमन केयर नेपालले आइतबार बुटवलमा गरको कार्यक्रममा पहाडीले भने, ‘विश्व चकित त भएको छ, तर नेपालको प्रगति देखेर होइन, असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गर्ने ओलीको सनक र धुन्धुकारी प्रवृत्ति देखेर ।’

प्रतिनिधि सभा विघटनको घटनाले संविधान लिक बााहिर गएको र नेपाल अराजकताको संघारमा पुगेको पहाडीले औंल्याए । प्रतिनिधि सभा पुनर्स्थापना भए मात्रै संविधान लिकमा आउने तर्क गर्दै पहाडीले अन्यथा अर्को खिरलाज रेग्मीको जन्म हुने र उसले पनि चुनाव गर्न नसक्ने दावी गरे ।

‘ओलीले मुलुकलाई अराजकतामा संघारमा पुर्‍याएका छन्,’ उनले भने, ‘प्रतिनिधि सभा पुनर्स्थापना भयो भने संविधान लिकमा आउँछ,नत्र अर्को खिलराज रेग्मीको जन्म हुन्छ तर उसले पनि चुनाव गर्न सक्दैन र राष्ट्रपतिले संकटकाल लम्ब्याउँदै जाने चक्र चल्छ ।’ संविधानमा व्यवस्था नहुँदा नहुँदै प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान, संसद र लोकतन्त्रमाथि आगो लगाएर देशलाई दुर्घटनामा लगेको पहाडीले बताए । ‘हाम्रो संविधानले प्रतिनिधि सभा विघटनको परिकल्पना नै गरेको छैन, तर ओलीले संविधान च्यातेर देशलाई दुर्घटनामा लगे’–पहाडीले भने ।

वैशाखपछि प्रधानमन्त्री ओली पनि अवैध हुने र त्यसपछि मुलुक अस्थिरता, विदेशीको क्रिडास्थल र सैनिकीकरणतर्फ जाने खतरा औंल्याए ।

‘प्रतिनिधि सभा पुनर्स्थापना नभए संविधान फेल हुन्छ,वैशाखपछि प्रधानमन्त्री ओली पनि अवैधानिक हुन्छन्,’ पहाडीले भने, ‘अस्थिरता सुरु भएपछि वैदेशिक शक्ति, क्षेत्रीयतावादी, जातिवादी जस्ता अतिवादी शक्तिहरुको उदय हुन्छ ।’

कार्यक्रममा प्रदेश सांसद रमा अर्याल, पुष्पा थरुनी,मानव अधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनी, केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द लगायतले प्रतिनिधि सभा विघटनले नागरिकको आवाज र अधिकार समेत कुण्ठित भएकाले पुनर्स्थापनाका लागि सशक्त जनदवावको खाँचो रहेको औंल्याए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment