
२१ पुस, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को फुटको प्रभाव ६ वटा प्रदेशका सरकारमा देखापरे पनि प्रदेश २ सरकारमा त्यसको कुनै प्रभाव छैन् । कारण, यहाँ जनता समाजवादी पार्टीको सरकार छ भने नेकपा प्रतिपक्षीमा ।
मंगलबार भने प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा नेकपा फुटको असर देखापर्यो । एक पक्ष कार्यकर्ता भेला गरिरहेका थिए भने अर्काे पक्ष संसदीय दलको नेता हटाउन बैठक ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु जनकपुरधामस्थित पार्टी कार्यालयमा कार्यकर्ता भेला गरिरहँदा प्रचण्ड-माधव पक्षका सांसदहरु प्रदेशसभाभित्र रहेको संसदीय दलको कार्यालयमा बैठक बसे ।
कार्यकर्ता भेलामा ओली पक्षीय नेताहरुले प्रचण्ड-माधव समूहलाई विभिन्न आरोप लगाइरहँदा प्रचण्ड-माधव समूहले ओली पक्षका संसदीय दलका नेता सत्यनारायण मण्डललाई नै हटाए । र, शत्रुघन महतोलाई दलको नेता चुने ।
ओली पक्षको भेला-र्यालीदेखि नाचगानसम्म
ओली पक्षले पूर्व निर्धारित कार्यक्रम अनुसार मंगलबार जनकपुरधाममा र्याली गर्दै कार्यकर्ता भेलाको आयोजना गरेको छ ।
यसका निम्ति धनुषाको गाउँ-गाउँबाट सर्वसाधारणलाई जनकपुरधाम ल्याइयो । कार्यक्रम दिउँसो १ बजेदेखि निर्धारण गरिए पनि बिहानैदेखि ट्याक्टर, बस, मोटरसाइकलमा ओली पक्षीय नेताहरुले कार्यकर्ता ओसार्ने काम गरेका थिए ।
कार्यकर्ताको भीड जम्मा भएपछि रेल्बे स्टेशनबाट ओली पक्षमा नारा लगाउँदै निकालिएको र्याली पार्टी कार्यालय मिथिला भवनमा पुगेको थियो । जहाँ कार्यकर्ता भेलाको मञ्चीय कार्यक्रम गर्दा पार्टीका सचिवालय सदस्य एवं उप प्रधानमन्त्री ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य रघुवीर महासेठ, मन्त्रीहरु प्रभु साह, लिलानाथ श्रेष्ठ र जुली महतो, प्रदेशका इन्चार्ज सत्यनारायण मण्डल, सचिव सुमनराज प्याकुरेलसहितकाले सम्बोधन गरे ।
नेताहरुले भाषण गरिरहँदा कार्यकर्तालाई मनोरञ्ज दिन बीच-बीचमा गीत र नृत्यसमेत प्रस्तुत गरियो ।
पार्टी कार्यालयको प्राङ्गणमा कार्यकर्ता भेलाको आयोजना गरिएको थियो । तर कार्यकर्ताको संख्या बढी भएपछि कार्यालय भवनको छतमासमेत बसेर कार्यकर्ताले भाषण सुन्नुका साथै गीत र नृत्यको समेत मनोरञ्जन लिएका छन् ।
ओली पक्षको कार्यक्रममा आंकलन गरिएको भन्दा बढी भीड देखिँदा नेताहरु खुशी देखिन्थे । कार्यकर्ता ओसार्ने काम नेकपाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिदेखि स्थानीय नेताहरुलाई दिइएको थियो ।
उनीहरुले विभिन्न सबारी साधनको प्रयोग गरी कार्यकर्तलाई जनकपुरधाम ल्याएका थिए ।
मैथिलीमै भाषण
कार्यक्रममा नेताहरुले मैथिली भाषालाई प्राथमिकता दिएका छन् । उप प्रधानमन्त्री ईश्वर पोखरेलदेखि कानुनमन्त्री लिलानाथ श्रेष्ठ पहाडी समुदायका भए पनि मैथिलीमै भाषण दिए ।
अन्य ठाउँमा राष्ट्रिय भाषामा भाषण दिदैं आए पनि रघुवीर महासेठ, जुली महासेठले पनि यहाँ मैथिलीमै बोले ।
‘भारतले नाकाबन्दी लगाउन सक्दैन’
कार्यक्रममा उप प्रधानमन्त्री ईश्वर पोखरेल र मन्त्री लिलानाथ श्रेष्ठले अब भारतले नाकाबन्दी गर्न नसक्ने बताए । प्रधानमन्त्री ओलीले चीनसँग नयाँ सम्झौता गरेर भारतसँगको निर्भरतालाई हटाएको उनीहरुले बताए ।
‘
भारतसँग निर्भरता रहँदा नाकाबन्दी सहनुपर्थ्यो’ पोखरेलले भने, ‘भारतसँग पारवहन सुविधा लियौं तर चीनसँगको बाटो पनि चाहिन्छ भनेर प्रधानमन्त्रीज्यूले नयाँ सम्झौता गर्नुभएको छ ।’
उनले अब देशमा नाकाबन्दी हुने समय गइसकेको बताउँदै अब देशमा कहिले पनि नाकाबन्दी नहुने बताए ।
मन्त्री श्रेष्ठले अब भारतले नाकाबन्दी लगाउन नसक्ने बताए । ‘पहिलोपटक चीनसँग ४ वटा समुन्द्री र ६ वटा स्थल बाटो गरेर व्यापार गर्ने सम्झौता भएको छ,’ उनले भने, ‘अब नाकाबन्दी हुँदैन् ।’
पछि हटे माधव-प्रचण्ड समूह
ओली समूहले कार्यकर्ता भेला गरेको पार्टी कार्यालयमा १६ पुसमा प्रचण्ड-माधव समूहले कार्यकर्ता भेला गरेका थिए ।
कार्यकर्ता भेला गर्दै प्रचण्ड-माधव समूहले यो पार्टी कार्यालय आफूहरुकै भएको बताएका थिए ।
ओली पक्षले यहीँ कार्यालयमा कार्यकर्ता भेला गर्ने बताएपछि प्रचण्ड-माधव समूहले यहाँ हुन नदिने बताएका थिए । तर, मंगलबार उक्त समूह पछि हटेका छन् ।
प्रतिक्रिया 4