Comments Add Comment

प्रजातन्त्रको रक्षक होइन, भक्षक बनेर विदा हुँदैछन् ट्रम्प 

२४ पुस, काठमाडौं । विश्वमा अमेरिका मात्रै एक त्यस्तो मुलुक हो जसले दुई सय वर्षदेखि निरन्तर र विनाकुनै अवरोध प्रजातान्त्रिक शासन प्रणाली अपनाउँदै आएको छ ।

विश्वका धेरै मुलुकले अमेरिकाले अपनाएको प्रजातान्त्रिक मोडलको अनुसरण गरिरहेका छन् । आवधिक निर्वाचन, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका विषय अमेरिकी विदेश नीतिका महत्वपूर्ण पक्षहरु हुन् ।

प्रजातन्त्रको हरेक परीक्षामा अमेरिका सधैं अब्बल रहँदै आयो तर दुई हप्तापछि विदा हुन लागेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको यो विश्वव्यापी पहिचानलाई गम्भीर धक्का दिएका छन् । विश्वका अन्य मुलुकका प्रजातन्त्रको पक्षमा निरन्तर आवाज उठाउने अमेरिकाको नैतिक बललाई यसले क्षयीकरण गरेको छ ।

ट्रम्पको उक्साहटमा अमेरिकी संसद भवनमा भएको आक्रमण प्रजातन्त्रको मर्ममा नै प्रहार हो जसले अमेरिकी नागरिकलाई विश्वसामु लज्जित बनाएको छ । यतिबेला धेरै अमेरिकी नागरिकले सो आक्रमणको फोटो शेयर गर्दै आफू निःशब्द भएको बताइरहेका छन् ।

सो घटनाका सम्बन्धमा पूर्वराष्ट्रपति बाराक ओबामाले भनेका छन, ‘क्यापिटल हिलमा भएको हिंसा, जुन पदमा नै रहेका राष्ट्रपतिको उक्साहटका कारण भएको थियो, यो क्षण देशका लागि ठूलो बेइज्जति र लाजको क्षणको रुपमा इतिहासले सम्झने छ ।’

जो बाइडनको जितलाई आधिकारिक रुपमा घोषणा गर्न आयोजना गरिएको अमेरिकी कंग्रेसको बैठक चलिरहँदा अमेरिकी संसद भवनमा आक्रमण भयो । ट्रम्प समर्थकहरुको उद्देश्य बाइडन राष्ट्रपतिमा निर्वाचित भएको औपचारिक घोषणालाई रोक्नु थियो ।

केही दिन अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयसम्म लडाइँ नछोड्न भनि आफू समर्थक माझ दिएको हिंसात्मक अभिव्यक्ति पछिल्लो हिंसामा लागि जिम्मेवार छ । उनकै उक्साहटमा नै ट्रम्पका समर्थकले आक्रमण गरेका थिए । सो आक्रमणमा चार जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

यद्यपि सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएयता ट्रम्पले लगातार प्रजातान्त्रिक मूल्य र मान्यतामा आक्रमण गरे । ट्रम्पको चार वर्षे कार्यकालमा धेरै प्रजातान्त्रिक मूल्य र मान्यता विपरीतका गतिविधि देखिए । अनि उनकै कारण अमेरिकाको ग्लोबल नेतृत्वमा समेत गम्भीर धक्का लागेको छ । ट्रम्पको शासनकालमा प्रजातान्त्रिक मूल्य मान्यता, मानव अधिकार र मिडिया स्वतन्त्रतामाथि नै निरन्तर रुपमा आक्रमण भए ।

विहीबारको घटनाको अर्काे सकारात्मक पक्ष पनि छ–अमेरिकामा प्रजातन्त्र यति सुदृढ छ कि राष्ट्रपति वा कुनै दलले नियमित प्रक्रियालाई रोक्न सक्दैनन् । ट्रम्पले रोक्न जति प्रयास गरे पनि सत्ता हस्तान्तरणको नियमित प्रक्रिया अगाडि बढीरहेको छ

पछिल्लो संसद भवनमा भएको आक्रमण ट्रम्पको त्यही प्रवृत्तिको उत्कर्ष मात्र हो । उनले निर्वाचनको नतिजालाई बारम्बार अस्वीकार गर्दै आएका थिए ।

अमेरिकी संसदमा यसखाले आक्रमण सन् १८१४ यता पहिलोपटक भएको हो । त्यतिबेला बाहिरी तत्वले आक्रमण गरेका थिए तर यसपटक पदमा आसिन राष्ट्रपतिको उक्साहटमा नै आक्रमण भएको छ ।

यति मात्र होइन, ट्रम्पले चुनावमा धाँधली गरी परिणाम आफ्नो पक्षमा पार्नका लागि सरकारी अधिकारीहरुलाई दबाव दिएका घटनाहरु समेत सार्वजनिक भएका छन् । उनले राष्ट्रपति पदमा रहँदा नै यति झुटो र भ्रामक सामग्री प्रसारित गरे कि सोसल मिडियाले नै बारम्बार सेन्सर गर्नुपर्ने अवस्था आयो ।

यसखाले प्रवृत्ति र घटना भर्खरै प्रजातन्त्र स्थापना भएका तेस्रो मुलुकमा समेत बिरलै देखापर्छ । ट्रम्पकै व्यवहार र नीतिका कारण आज निरंकुश र कम्युनिष्ट मुलुकहरुले समेत अमेरिकी प्रजातन्त्रको खिल्ली उडाइरहेका छन् ।

त्यसमाथि उनको कार्यकालमा अमेरिकी अल्पसंख्यक समुदायमाथि लक्षित गरेर विभिन्न हिंसाहरु भए । मिडियामाथि लगातर आक्रमण भए, प्रजातान्त्रिक संस्थाहरु कमजोर बनाइए । उनले मिडियालाई बारम्बार जनताको शत्रु भने ।

यति मात्र होइन, यस अवधीमा केही हिंसाका घटनामा समेत उनी बोलेनन् । ट्रम्पको यो सबै गतिविधिले अमेरिकी प्रजातन्त्रमा प्वाल पारेको छ ।

विश्वका नेताहरुले अमेरिकी संसदमा भएको आक्रमण प्रजातन्त्रमाथिको आक्रमण भएको बताएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भनेका छन्, ‘अमेरिका विश्वभरी प्रजातन्त्रको पक्षमा उभिन्छ त्यसैले शान्तिपूर्ण र नियमसंगत शक्तिको हस्तान्तरण आवश्यक छ ।’

अबको दुई हप्तापछि ट्रम्प विदा हुँदैछन् । विगतमा अमेरिकाका धेरै राष्ट्रपतिले आफूलाई लोकतन्त्रको रक्षकको पहिचान बनाएर विदा भएका छन् तर ट्रम्प भने प्रजातन्त्रको भक्षकको पहिचान बनाएर विदा हुँदैछन् ।

सो घटनापछि ट्रम्प आगामी दुई हप्ता पनि ह्वाइट हाउसमा बस्न नहुने र उनलाई महाअभियोग लगाउनुपर्ने आवाज उठेको छ ।

अमेरिकाका प्रभावशाली मिडियाले उनलाई प्रजातन्त्रको एक खतराको रुपमा व्याख्या गरेका छन् ।

त्यहाँका सबै सन्चारमाध्यमले त्यो भिड र आक्रमणको लागि ट्रम्पलाई जिम्मेवार ठहर्याएका छन् ।

यद्यपि विहीबारको घटनाको अर्काे सकारात्मक पक्ष पनि छ–अमेरिकामा प्रजातन्त्र यति सुदृढ छ कि राष्ट्रपति वा कुनै दलले नियमित प्रक्रियालाई रोक्न सक्दैनन् । ट्रम्पले रोक्न जति प्रयास गरे पनि सत्ता हस्तान्तरणको नियमित प्रक्रिया अगाडि बढीरहेको छ ।

ट्रम्प र उनका समर्थकको बबन्डरका विचमा पनि कंग्रेसले निर्वाचनको नतिजाको औपचारिक घोषणा गरेको छ । अनिच्छाका विचमा पनि आगामी जनवरी २० मा नै जो बाइडनले नयाँ राष्ट्रपतिको सपथ खाँदैछन् ।

अब नयाँ राष्ट्रपति जो बाइडनले तत्कालै प्राथमिकता दिनुपर्ने विषय हो–ट्रम्पले अमेरिकी प्रजातन्त्रमा पारेको प्वाल टाल्नु ।

आगामी दिनमा विश्वका कुनै मुलुकमा अमेरिकाले प्रजातन्त्रको पक्षमा आवाज उठाउँदा अमेरिकामाथि नै प्रश्न तेर्सिने छ ।

अहिले नै निरंकुश र कम्युनिष्ट व्यवस्था रहेका मुलुकले अमेरिकी प्रजातन्त्रमाथि प्रश्न उठाउन लागिसकेका छन् । त्यसैले ट्रम्पले अमेरिकी प्रजातन्त्रमा पारेको प्वाललाई टाल्न बाइडनले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment