Comments Add Comment

यो महामारीको असर बालबालिकाले अझै धेरै वर्षसम्म भोग्नुपर्ने हुन्छ

कान्ति बाल अस्पतालले अहिलेसम्म नोवेल कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ ६९ जना बालबालिकाको उपचार गर्‍यो । सुखद कुरा के रह्यो भने एकदमै गम्भीर र लेभल-थ्री आईसीयूमा राखेर उपचार गर्नुपर्ने बालबालिका धेरै भएनन् ।

हुन त हाम्रोमा केही बालबालिकाको कोभिड-१९कै कारण देहान्त पनि भयो । तर तथ्यांकमा हेर्ने हो भने त्यो अत्यन्तै कम हो । अहिले स्वास्थ्य समस्या लिएर अस्पताल आएका बालबालिकालाई हेर्दा के पनि भन्न सकिन्छ भने तथ्यांकमा देखिएका भन्दा धेरै बालबालिका कोरोना संक्रमित भए ।

कोरोना महामारीले बालबालिकालाई पारेको प्रभाव प्रत्यक्षभन्दा अप्रत्यक्ष बढी छ । यो महामारीको असर कालान्तरमा देखिने छ । बालबालिकालाई कोरोना संक्रमण भएर मृत्यु हुनेभन्दा पनि अन्य जटिल समस्या देखिएका छन् । त्यसको कारण बालबालिकालाई संक्रमण भएको थाहा नपाएर हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

श्वासप्रस्वासमा समस्या भएर आएका, हर्ट-फेलियर भएर आएका र उच्च ज्वरोले आईसीयूमा भर्ना भएकाहरूको कोरोना एण्टीबडी पोजेटिभ देखिएको छ । यसको मतलब उनीहरू कुनै न कुनै संक्रमित थिए तर थाहा पाइएको थिएन । अझ भनौं उनीहरूलाई संक्रमण भएको आशंका नै गरिएको थिएन । पहिले देखिएको संक्रमणको कारणले अहिले उनीहरूको स्वास्थ्य जटिल बनाएको छ । उनीहरूको प्रमुख अंगमा गम्भीर समस्याहरू देखिन थालेको छ ।

समग्रमा भन्दा कोभिडले बालबालिकाको वृद्धि विकास र स्वास्थ्य सूचांकमा नै असर पार्ने देखिन्छ । उदाहरणका लागि विद्यालय बन्द भए र अनलाइन पढाइ सुरु भयो । भौतिकरुपमा विद्यालय खुल्दासमेत स्कुल जाने बालबालिका कम भएको मुलुकमा अनलाइन क्लास जानेको सङ्ख्या न्यून भयो । सबै बालबालिका अनलाइनको पहुँचमा नभएकाले शिक्षाबाट बञ्चित हुने बालबालिका यो महामारी कालमा बढे । त्यसको कारण गरिबी हो । अझ के पनि भन्न सकिन्छ भने महामारीले निम्त्याएको गरिबीकै कारण बालबालिका धेरै कुराबाट बञ्चित भए ।

विद्यालय पढाइबीचैमा छाड्ने बालबालिकाको संख्या बढ्न सक्छ । त्यसले अशिक्षित बालबालिकाको संख्या बढाउँछ । कतिपय अभिभावकका रोजगारी गुमेको छ, गरिबीकै कारणले कतिपय बालबालिकाले पोषण पाउँदैनन्, त्यसले कुपोषित हुने बालबालिका पनि बढ्छन् ।

महामारीकै कारणले खोप लगायतका जनस्वास्थ्यका कार्यक्रम प्रभावित भएका छन् । जसले बच्चाहरूलाई बचाउने प्रभावकारी कदमहरू रोकिएका छन् । यसले बाल मृत्युदर बढ्न सक्छ । समग्र देशको स्वास्थ्य सूचकांक नै खस्किनेवाला छ । बाल तथा मातृ मृत्युदरजस्ता सूचकांक बदलिन सक्छ ।

बालबालिकाहरू घरमा बस्नु पर्दा केही सरुवा रोगमा कमी आउँछ । तर नसर्ने रोगका बिरामी भने बढेको छ । जस्तो की पछिल्लो समय मिर्गौला रोगी बढेका छन् । हाम्रैमा इलेक्टिभ सर्जरी नहुनाले यहाँ सेवा लिन आउनेहरुको सर्जरी रोकियो । सर्जरी रोकिदा जटिलता बढ्यो । नयाँ बिरामी पहिचान नहुँदा आइपर्ने जटिलता उस्तै छ । रोग नै पत्ता लगाउन ढिलो भएपछि स्वतः उपचार ढिलो सुरु हुन्छ र उपचार ढिलो सुरु गर्दाको नतिजा सबैलाई थाहा नै छ ।

महामारी कालमा बालबालिकामा अनेक मानसिक समस्या देखिएका छन् । यसको कारण भने अभिभावक हुन् । लकडाउनले गर्दा बेरोजगारी बढे, घरमा द्वन्द्व भयो र त्यसको प्रत्यक्ष असर बालबालिका पर्‍यो । युनिसेफले पनि ‘बालबालिकाहरूले महामारीको प्रत्यक्ष सामना गर्नुनपरे पनि उनीहरूमा यसको प्रभाव जीवनपर्यन्त रहन सक्दछ’ भनेको छ ।

लकडाउनका बेलामा टाढाको बिरामीहरूले ३/४ हजार पर्ने औषधिको लागि ५०/६० हजार एम्बुलेन्स भाडा तिरेर यहाँ आए । तर ती औषधि सामान्य थिए । निमोनिया र क्यान्सरका बिरामीहरूले लकडाउनमा धेरै दुःख पाए । कति बिरामी त आउन पनि पाएनन् । सर्जरी रोकिए । आर्थिक भार त पर्‍यो नै, स्वास्थ्यमा समस्या पनि थपिए

बच्चाहरू घरमै रहँदा अनेकौं ट्रमा बढे । १० देखि १४ वर्षका छोरीहरूमा विभिन्न हिंसाहरू बढेको हामीले पहिचान गरेका छौं । अहिले यस्ता केसहरू आउन थालेको छ ।

स्वस्थ उमेरका बालबालिका भन्दा कम उमेरका बालबालिकाहरू, जन्मजात फोक्सोमा समस्या भएको, विभिन्न औषधि खाएको, रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि खाएको बालबालिकामा कोभिड-१९ले धेरै असर पर्ने देखिन्छ ।

कोरोना महामारीको असर अस्पतालहरू पनि परेका छन् । कोभिड अस्पतालको लागि छुट्टै ठाउँ, छुट्टै जनशक्ति र छुट्टै समय दिनुपर्‍यो। एक सय जनाभन्दा बढी कर्मचारी संक्रमित पनि भए । जसको कारण हाम्रो दैनिक सेवामा बाधा पर्‍यो। हाम्रोमा पहिला दैनिक एक हजार बिरामी आउँथे भने अहिले केही सयमै रोकिएको छ । अस्पतालको आम्दानी कम भएकाले अस्पताल चलाउनै गाह्रो भएको छ ।

लकडाउनका बेलामा टाढाको बिरामीहरूले ३/४ हजार पर्ने औषधिको लागि ५०/६० हजार एम्बुलेन्स भाडा तिरेर यहाँ आए । तर ती औषधि सामान्य थिए । निमोनिया र क्यान्सरका बिरामीहरूले लकडाउनमा धेरै दुःख पाए । कति बिरामी त आउन पनि पाएनन् । सर्जरी रोकिए । आर्थिक भार त पर्‍यो नै, स्वास्थ्यमा समस्या पनि थपिए ।

हाम्रा धेरै अस्पतालमा बालबालिकाको सर्जरी हुँदैन । एक वर्षभन्दा कम उमेरका र नवजात शिशुको सर्जरीको लागि सरकारीमा कान्ति अस्पतालको विकल्प छैन । यसले के प्रष्ट पार्छ भने महामारीकालमा देशभरका बालबालिका स्वास्थ्य उपचारबाट बञ्चित भए ।

महामारीकालमा अस्पतालमा सहजै पहुँच नहुँदा क्यान्सर जस्ता बिरामीलाई अत्यन्तै असर पर्छ । किनभने क्यान्सर पहिचान गर्न थोरै मात्र ढिलो हुँदा पनि धेरै फैलन्छ जसले गर्दा जोखिम त बढ्छ नै खर्च पनि बढ्छ । अहिले अवस्था सहज हुदै गए तापनि सिकिस्त भएर अस्पताल आउने क्रम ह्वात्तै बढेकाले उपचार गर्न गाह्रो भएको छ ।

महामारीअघि दैनिक १-२ वटा क्यान्सरको बिरामी पहिचान हुन्थे, मिर्गौलाको दैनिक ३/४ जना आउथे तर लकडाउनको बेला त्यो अनुपात घट्यो । रोग भए पनि पहिचानको लागि पहुँच पुगेन । अत्यन्तै गम्भीर समस्या भएकाहरू जसोतसो आए । केहीको आउन नसकेर पनि मृत्यु भयो । त्यही समयको समस्याले अहिले धेरै बालबालिकाले जटिलता भोगिरहेका छन् । क्यान्सर धेरै ठाउँमा फैलिइसकेपछि बच्चालाई बचाउन सकिने सम्भावना त अत्यन्तै कम हुन्छ । मिर्गौला फेल भएपछि उपचार खर्चिलो मात्र होइन बचाउन सक्ने सम्भावना पनि कम हुने नै भयो ।

केही सर्जरी तत्कालै गर्नुपर्ने हुन्छ । जस्तो की हर्नियाको शल्यक्रिया  ढिलो भयो भने कहिलेकाहीँ आन्द्रा त्यसमा ‘ब्लक’ हुन्छ जसले जटिलता निम्त्याउँछ । अझै पनि बिरामी आउने क्रम बढेको छैन, अझै अस्पताल आउन डराइरहेका छन् । बिरामीको ट्रेण्ड फरक नभए पनि सङ्ख्यामा भने फरक छ ।

यो बेला अभिभावकहरु त्रसित भएर अस्पताल आएका छन् । अनेक डर बोकेर आएकाहरु उपचार गरेर फर्किए भने अस्पताल आउन नसकेकाहरुले जटिलता भोग्नुपर्‍यो ।

हामी अहिले संक्रामक रोगबाट बच्ने ध्यानमा छौं । महामारीको बेला बचाउन सकिने अन्य रोगीहरूलाई बचाउन सकिएन होला । लकडाउनकै कारणले यी लगायत यावत समस्यान भोग्यौँ । अझै भोग्ने क्रममा छौं । अब यस्ता समस्या निराकरण गर्नका लागि गर्नुपर्दछ । हाम्रो खस्किदै गएको स्वास्थ्य सूचकांक उकास्न लागिपर्नु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment