२ माघ, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको यसअघि भएका तीनवटै संस्करणको फाइनमा पुगेको टोली हो ।
पहिलो संस्करणमा अर्को विभागीय नेपाल पुलिसंग उपाधि सेयर गरेको आर्मी दोस्रो संस्करणको फाइनलमा एपीएफ र तेस्रो संस्करणको फाइनलमा नेपाल पुलिससंग पराजित भएको थियो ।
शुक्रबारदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको चौथो संस्करणको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको छ ।
कप्तान विनोद भण्डारीको शतक मद्दतमा २८७ रन बनाएको आर्मीले राजेश पुलामीको ५ विकेटपछि गण्डकीलाई १८९ रन रोक्दै जित हात पारेको हो ।
प्रधानमन्त्री कप क्रिकेटमा विनोदको यो पहिलो शतक हो । विनोदले करियरमै यो पहिलो शतकसमेत हो । खेलमा अविजित १११ रन बनाएका विनोद म्यान अफ दि म्याच समेत घोषित भए ।
पहिलो पटक शतक प्रहार गरेपनि विनोद खासै उत्साहित देखिएनन् । विनोदले चौथो नम्बरमा ब्याटिङ गर्दै नटआउट रहेका थिए । हालै कोरोना संक्रमणमुक्त भएका विनोद आफूले पिएम कप खेल्न नचाहेपनि ३ खेलाडी उपलब्ध नभएपछि कमजोर महसुस हुँदाहुँदै खेलेको बताउँछन् ।
के भन्छन् विनोद उनकै शब्दमा :
शतक हान्दा खुशी नै लाग्छ । आगामी खेल पनि राम्रो गर्ने कोशिस गर्ने हो । हाम्रो लक्ष्य त फाइनलमा पुग्ने हो । अहिले हामीसंग ३ जना खेलाडी छैनन् । त्यसले गर्दा अलि गाह्रो भइरहेको छ । म पनि कोरोना संक्रमणमुक्त भएको भर्खर ८-१० दिन भएको छ । लिग चरणमा मेरो खेल्ने विचार गिएन । सोमपाल, करण र कुशल छैनन् र म पनि नहुँदा टिम कमजोर हुने भएकाले जबर्जस्ती खेलेको हुँ ।
म खेल्न जाँदा टप अर्डरले पनि खासै प्रदर्शन गरिरहेको थिएन । २०-२५ रन मात्र बनाएको थियो । लामो इनिङ्स खेलेको थिएन । मसँग समय थियो । २२-२३ ओभरमा खेल्न सुरु गरेको हुनाले खासै दबाब महसुस गर्नुपर्ने थिएन । जसले गर्दा ढुक्कले खेलिरहेको थिएँ ।
मैले खेल्दा ५ नम्बर भन्दा पछाडि ६, ७ वा ८ नम्बरसम्म खेल्थेँ । त्यो ठाउँमा गएर शतकबारे सोच्नु गाह्रो कुरा हो । अहिले ४ नम्बरमा खेल्दा समय मिल्यो र शतकको लागि सजिलो भयो । ५० ओभरको खेलमा समय हुन्छ र अगाडिको टप ४ खेलाडीले नै शतक हान्ने सम्भावना हुन्छ ।
म धेरैपछि मात्र चाँडै ब्याटिङ गर्न आएँ र शतक हान्न सजिलो भयो । शतक हान्दा खुशी त लाग्छ तर तपाईले कुन टिमविरुद्ध शतक हान्नुभयो भन्ने पनि महत्वपूर्ण हुन्छ । त्यसैले धेरै खुशी हुनुपर्ने अवस्था छैन ।
दोस्रो इनिङ्स खेल्दा ब्याटिङ राम्रो भइरहेको थियो । गण्डकीले सुरुदेखि नै ५० ओभर खेल्ने लक्षण देखाएको थियो । हामीलाई थाहा भइसकेको थियो उनीहरुले विकेट पनि दिँदैनन् र जित्न पनि सक्दैनन् । त्यही कारणले पनि मुख्य बलरलाई आराम दियौं र पार्ट टाइम बलरलाई अवसर दियौं ।
१०-११ महिना भयो कसैले खेल्न पाएको छैन । त्यसैले गर्दा पनि फिल्डिङमा केही कमजोरी भएको हुन सक्छ ।
प्रतिक्रिया 4