Comments Add Comment

यस्ता छन् बाइडनका आर्थिक योजनाहरु

Photo Credit : REUTERS

७ माघ, काठमाडौं । बुधबार अमेरिकामा जो बाइडनले राष्ट्रपति पदको शपथ लिँदैछन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अमेरिकाको सामाजिक तथा आर्थिक क्षेत्रमा देखिएको नकारात्मक असरले बाइडनलाई राष्ट्रपतीय निर्वाचनमा जित हात पार्न केही सहज भएको थियो । तर, अहिले भने यी समस्याबाट अमेरिकालाई बाहिर ल्याउनु बाइडनको चुनौती हुनेछ ।

त्यो त बाइडनले यसअघि नै अमेरिकाको आर्थिक समस्या समाधानको लागि भन्दै १९ खर्ब डलरको राहत कार्यक्रम अघि सारिसकेका छन् । साथै उनको पूर्वाधारमा लगानी, अनुसन्धान, विकास र जलवायु परिवर्तन सुधारको कार्यक्रमका लागि दोस्रो चरणको राहत कार्यक्रम सुरु गर्ने प्रतिबद्धता पनि व्यक्त गरिसकेका छन् ।

बाइडनको आगमनसँगै अमेरिकी संसद्को दुवै सदन तथा सरकारमा बाइडनको नियन्त्रण हुनेछ । यस्तोमा बाइडनलाई आफ्नो एजेण्डाहरु कार्यान्वन गराउन निकै सहज हुनेछ । बाइडनले आर्थिक सुधारको लागि कस्ता प्रयास गर्लान् त ?

१. थप कोरोना सहायता

राष्ट्रपति निर्वाचनमा जित हात पारेसँगै बाइडनले थप कोरोना सहायताको पक्षमा वकालत गर्दै आएका छन् । उनले अहिले सरकारले दिएको राहत अपुग भएको पनि बताउँदै आएका छन् । गत साता बाइडनले सार्वजनिक गरेको १९ खर्ब डलरको राहत कार्यक्रममा अमेरिकी नागरिकहरुलाई १४ सय डलर सहायता दिने उल्लेख गरिएको छ भने राज्य तथा स्थानीय तहलाई तीन खर्ब ५० अर्ब डलर प्रदान गरिनेछ ।

बाइडनको योजनामा बेरोजगारी सुविधा विस्तार गर्ने र लम्ब्याउने योजनाका साथै कोरोना परीक्षण र खोप वितरणको लागि ७० अर्ब डलर खर्च गर्ने योजना छ । बाइडनले अहिले अमेरिकी नागरिकहरुलाई तत्काल खर्च गर्ने पैसा आवश्यक रहेको उनले बताउँदै आएका छन् । बाइडनले अहिले राहत मानिसहरुसमक्ष पुर्‍याउन ढिला गर्न नहुने बताउँदै आएका छन् ।

२. न्यूनतम तलब र करवृद्धि

बाइडनले अमेरिकामा न्यूनतम तलब बढाउँदै १५ डलर प्रतिघण्टा पुर्‍याउनुपर्ने बताउँदै आएका छन् । त्यसका साथै बाइडनले धनाढ्यहरुको कर बढाउने बताउँदै आएका छन् । साथै उनले ट्रम्पको प्रशासनले गरेको कम्पनीहरुलाई कर छूटको निर्णय पनि उल्ट्याउने बताउँदै आएका छन् । ट्रम्पको पालामा अमेरिकाको उच्च कर ३५ प्रतिशतबाट घटाएर २१ प्रतिशतमा झारिएको थियो ।

बाइडनले धनी मानिसहरुलाई कर बढाउने र कम्पनीहरुलाई दिइएको कर छूट हटाउने निर्णय अर्थतन्त्रको लागि सही हुने बताउँदै आएका छन् । यो स्वच्छ र शालीन नीति रहेको पनि उल्लेख गर्दै आएका छन् ।

३. वातावरणमैत्री पूर्वाधारमा लगानी

ट्रम्पको पालामा अमेरिकाले जलवायु परिवर्तनको मुद्दालाई बेवास्ता गर्दै आएको थियो । यस्तोमा बाइडनले भने ट्रम्पको यो नीतिलाई उल्ट्याउँदै पहिलो दिन नै सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौतामा अमेरिकालाई पुनः सामेल गराउने बताउँदै आएका छन् । त्यसैले बाइडनले आफ्नो पालामा वातावरणमैत्री पूर्वाधारहरुमा लगानी बढाइने बताएका छन् ।

बाइडनले अहिले वातावरणमैत्री संरचना नबनाए आगामी दिनमा अमेरिका पछि पर्ने भन्दै अब तत्काल वातावरणमैत्री संरचना निर्माण गरिनुपर्ने बाइडनको भनाइ छ ।

४. विद्यार्थी ऋण

बाइडनले विद्यार्थीहरुलाई दिइएको ऋणको भुक्तानीको समय पनि सार्ने योजना ल्याएका छन् । साथै विद्यार्थीहरुको ऋण मिनाहा गर्ने योजना पनि बाइडनको छ । डेमोक्रेटिक पार्टीका केही नेताहरुले विद्यार्थीहरुले ५० हजार डलरसम्मको ऋण मिनाहा गर्न माग गरेका छन् । यद्यपि बाइडनले भने १० हजार डलरसम्मको ऋण मिनाहा हुनुपर्ने बताउँदै आएका छन् ।

माथिल्लो संसद् सिनेटमा डेमोक्रेट पार्टीको निकै सानो अन्तरको बहुमत छ । त्यसैले सबै निर्णय कार्यान्वयन गराउनु बाइडनका लागि सहज भने पक्कै पनि नहुने विश्लेषकहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment