८ माघ, काठमाडौं । युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा नापोलीलाई २-० गोलले पराजित गर्दै युभेन्ट्स च्याम्पियन बनेको छ ।
गत सिजनको सिरी ए र कोपा इटालियनको विजेताबीच सुपर कप खेलाइन्छ । युभेन्ट्स गत सिजनको सिरी ए विजेता हो भने नापोलीले कोपा यटालियाको उपाधि जितेको थियो ।
युभेन्ट्सलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भए पनि दोस्रो हाफमा युभेन्ट्सले दुई गोल गर्यो ।
खेलको ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ८० औं मिनेटमा नापोलीले बराबरी गर्ने मौका गुमायो । नापोलीका लरेन्जो इनसिग्नेले पेनाल्टीमा गोल गर्न नसक्दा युभेन्ट्स भाग्यमानी रह्यो ।
इन्जुरी टाइममा मोराटाले गोल गरेपछि युभेन्ट्स २-० ले विजयी भयो ।
युभेन्ट्सले सर्वाधिक नवौं पटक इटालियन सुपर कपको उपाधि जितेको हो । एसी मिलानले ७ र इन्टरले ५ पटक यो उपाधि जितेका छन् ।
प्रतिक्रिया 4