Comments Add Comment

प्रचण्ड-माधव : केपी ओलीसँग फरक छुट्याउनोस् !

'हामी उस्तै त होइनौं, तर जनतालाई बुझाउन सकेनछौं'

८ माघ, काठमाडौं । पत्रपत्रिकामा छापिने बाल सामग्रीमा दुईवटा उस्तै-उस्तै चित्र दिइन्छ र लेखिएको हुन्छ- फरक छुट्याउनोस् । बुधबार काठमाडौंको एक होटलमा आयोजना गरिएको सम्पादकहरुसँगको छलफलमा प्रश्न उठ्यो- केपी ओली, प्रचण्ड र माधव नेपाल उस्तै-उस्तै हुन् कि फरक ? ओली पक्ष र प्रचण्ड-माधव पक्षवीच फरक कसरी छुट्याउने ?

नेकपा फुटेर बनेका दुवै समूहलाई आम जनताले उस्तै उस्तै देखिरहेको र प्रतिपक्षी कांग्रेसलाई पनि एउटै ड्याङमा राखेर हेरिरहेको भन्दै सम्पादकहरुले प्रश्न उठाए । नेता र पत्रकारबीचको अन्तरक्रियामा प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, जनार्दन शर्मा, मातृका यादव र योगेश भट्टराईको उपस्थिति थियो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र माधवले केपी ओली र आफूहरुबीच फरक छुट्याएर हेरिदिन आग्रह गरे । जनताको विश्वास जित्नका लागि कमी कमजोरीहरुप्रति आत्मालोचना गरेर अघि बढ्ने प्रतिवद्धतासमेत जाहेर गरे । प्रचण्डले त यसबारे श्वेतपत्र नै जारी गरिने बताए ।

‘हो, जनतामा राजनीतिप्रति, नेताहरुप्रति वितृष्णा छ । सबै नेताहरु एउटै हुन्, जुन जोगी आए पनि कानै चिरेका भन्ने एक किसिमको मानसिकता छ ।’ कार्यक्रममा सहभागी नेकपाका अध्यक्ष माधवकुमार नेपालले भने, ‘यो नकारात्मक प्रवृत्तिलाई कसरी सकारात्मक बनाउने भन्ने कुरा सोच्नुपर्छ । हामीले जनताको विश्वास जित्नुपर्छ । त्रुटि, कमजोरीहरुलाई सच्याउनुपर्छ । अहिले जुन ढंगले प्रचार गरिएको छ, त्यसलाई प्रष्ट पार्नुपर्ने पहिलो आवश्यकता छ ।’

माधव नेपालले गुनासो पोख्दै भने, ‘केपी ओली अनि माधव-प्रचण्ड उस्तै-उस्तै हुन् भन्दाखेरि त्यसले मलाई त घोच्छ । अरुलाई पोल्छ/पोल्दैन, मलाई त पोल्छ ।’

माधव नेपालले जस्तै प्रचण्डले पनि केपी ओली र आफूहरुवीच फरक छुट्याउने प्रयास गरे । उनले भने, सबै उस्तै उस्तै हुन्, पदका निम्ति नै झगडा गरेका हुन् भन्ने पर्सेप्सन गइराखेको छ भन्ने कुरा हामीलाई मोटामोटी थाहा छ । यसलाई चिर्न हामीले अझै मेहनत गर्नुपर्ने रहेछ भन्ने आज महसुस भएको छ । हुन त उही र उस्तै त होइनौं ।… तर, राजनीतिमा पर्सेप्सन भन्ने कुरा धेरै ठूलो हुन्छ । त्यसो भएको हुनाले मुखले भनेर मात्रै होइन, व्यवहारद्वारा नै हामीले त्यसलाई सावित गर्नुपर्नेछ ।

कार्यक्रममा माधव नेपाल र प्रचण्डले यसरी आफूहरुलाई केपी ओलीसँग फरक छुट्याउने प्रयास गरे

मेरो आफ्नै खालको नेचर छ : माधव नेपाल

अवश्य पनि विगतमा त्रुटिहरु भएका छन् । म तपाईहरुसँग यसमा खुल्लारुपमा छलफल गर्न चाहन्छु । बसेरै । सप्पै ल्याउनोस् । पुराना कुराहरुको सबै पत्र, तथ्य तथ्यांक प्रमाण ल्याएर म तपाईंहरुका सामुमा खुला अदालतमा उभिन तयार छु । तर, जम्मै नेताहरु उस्तै हुन् भन्दाखेरि घोच्छ क्या मलाई ! समाजमा राम्रा मान्छे पनि छन् । असल नियतका छन् । कमजोरी मान्छेमा हुन्छ, तर नियत ठीक बेठीक, को कस्तो प्रकृतिको हो, त्यसको गुण, चरित्र र अन्तर्यको विश्लेषण गर्नुपर्छ । यसअर्थमा केपी ओली अनि माधव-प्रचण्ड उस्तै उस्तै हुन् भन्दाखेरि त्यसले मलाई त घोच्छ । अरुलाई पोल्छ पोल्दैन, मलाई त पोल्छ । त्यसकारण म तपाईहरुको सामुमा खुल्लारुपमा उभिन चाहन्छु । एक-एक घटनामा ।

जहाँ त्रुटि भएका छन्, म स्वीकार्न तयार छु । तर, नभएको कुराको भारी मलाई बोक्न मन लाग्दैन । नगरेको कुराको भारी बोक्न मन लाग्दैन । मेरो आफ्नै खालको नेचर पनि छ । ०४७ सालमा म संविधान सुझाव आयोगको सदस्य बसेदेखि नै यहाँका प्रत्येक राजनीतिक उतार-चढावमा भित्र बाहिर, संसदभित्र, संसद बाहिर, सडकमा, वार्तामा, टेबुलमा, कुराकानीमा गणेशमानजीसँग, कृष्णप्रसाद भट्टराईसँग, गिरिजाप्रसाद कोइरालासँग, शेरबहादुर देउवा, प्रचण्ड जम्मै नेताहरुको एक-एक आन्द्राभुँडी मलाई थाहा छ । तपाईंहरुसँग पनि फेहरिस्थ नै छ ।

हो, जनतामा राजनीतिप्रति, नेताहरुप्रति वितृष्णा छ । सबै नेताहरु एउटै हुन्, जुन जोगी आए पनि कानै चिरेका भन्ने एक किसिमको मानसिकता छ । देशभित्र छ । संसारैमा पनि छ । अझ नेपालमा बढी छ । यो नकारात्मक प्रवृत्तिलाई कसरी सकारात्मक बनाउने भन्ने कुरा सोच्नुपर्छ । हामीले जनताको विश्वास जित्नुपर्छ । त्रुटि, कमजोरीहरुलाई सच्याउनुपर्छ । त्यसका निम्ति खुल्लारुपमा आत्मालोचना गर्न तयार हुनुपर्छ ।

अहिले जुन ढंगले प्रचार गरिएको छ, त्यसलाई प्रष्ट पार्नुपर्ने पहिलो आवश्यकता छ । किनभने पार्टीभित्रको पंक्तिमा कतिपय कुराहरुको भ्रम पैदा गरिएको छ । त्यो भ्रमबाट मुक्त गर्नुपर्ने जरुरी छ । जस्तो-यिनीहरुको त घरको झगडा हो, यिनीहरुसँग देश निर्माणको कुनै सोचै छैन, समाज परिवर्तनको चाहनै छैन, यिनीहरुले त्यसका बारेमा कुनै चर्चै गर्दैनन्…।

दुर्वाच्य बोल्नमा केपीलाई उछिना-पाछिन गर्नु हुँदैन भन्ने सुझावहरु ठीक छन् । हामीले लोकतान्त्रिक संस्कार देखाउन सकेनौं भने मान्छेले उस्तै त हुन् नि भन्छन् । तर, कहिलेकाहिँ कस्तो गाह्रो हुन्छ भन्दाखेरि केपी ओलीजीले भन्नुभएछ, त्यो महेन्द्र मोरङ कलेजमा पढेको ठिटो, ठेट्नो केटो, बैंकमा काम गरेको जागिरे । मैले यसको जवाफ दिएको छैन । तर, पोल्दोरहेछ ।

यस्तो सीमा नाघेको अवस्थामा बताइएन भने पनि हुँदैन । सुनेर मात्रै पनि हुँदैन । जवाफ दिनु त पर्‍यो । यस्ता रद्दी मान्छे त भन्नुपर्‍यो । यस्तो असंस्कारी मान्छेलाई के भन्ने भन्नु त पर्‍यो । यसो भन्नुभएन भएन तपाईले मान्छेमा भावना जगाउन पनि सक्नुहुन्न । उसप्रति घृणा जगाउन पनि सक्नुहुन्न । उसप्रति मिठो कुरामात्रै गर्नुभयो भने तपाईंले प्रशिक्षित गर्न सक्नुहुन्न । त्यसकारण प्रहार भनेको तपाईले छुट्याउनुपर्‍यो, कति गर्ने/नगर्ने । हामीले अन्योललाई चिर्नुपर्छ ।…जनतामा नयाँ चेतना, नयाँ जागरण पैदा गर्नुपर्ने आवश्यकता छ ।

केपी ओली विचलित हुनुभएको हो । वास्तवमा उहाँले जनताको बहुदलीय जनवादको शब्द उच्चरण गर्न पनि देखावटी कुरा हो भन्ने मलाई लाग्दछ । के भन्नु र उहाँका बारेमा । लोकमानजीको नियुक्तिका बारेमा प्रचण्डले बताउँनुहोला । त्योभन्दा पनि मेरो मनमा पोलिरहेको अर्को प्रश्न छ- बाबुरामको ठाउँमा अर्को व्यक्ति (खिलराज रेग्मी) लाई किन ल्याइयो ? कसरी ल्याइयो ? यस्ता कतिपय तरिकासँग म सहमत होइन । त्योबेलामा म पार्टीको अध्यक्षमा थिइनँ ।

केपी ओली ०७१ सालमा पार्टीको अध्यक्ष भएदेखि नै हामी पीडामा बस्यौं । ०७१ सालको पार्टीको नवौं महाधिवशेनपछि पूर्वएमालेको ओरालोको सुरुवात भयो । बिजोग र बेहालको सुरुवात भयो । यसका निम्ति हामी नै साक्षी छौं । घनश्याम भुसालजीको भनाइ आइसकेको छ, केपी ओलीजी कस्तो मान्छे भन्दाखेरि खकार, डीएनए टेस्ट गरेर आफ्ना यस म्यानलाई लिने । भुक्तभोगी हौं हामी । भोगेर, मनको पीडा कसैलाई नकह भनेर बसिरहेको, पोलेको मान्छे हो ।

केपी ओलीका तर्फबाट (माओवादीसँग) एकता गरौं भनिसकेपछि म त आनन्दित भएँ । ०६४ सालमा मध्यबानेश्वरमा मिलन तुलाधरको घरमा बसेको बैठकमा पार्टी एकता गरौं भन्ने मान्छे म हुँ । केपी ओलीले कस्तो व्यवहार गर्नुभयो, त्यो त भन्नैपर्दैन । तर, एकता हुने भएपछि म दंग परें । अब केपी ओली प्रवृत्तिबाट मुक्ति पाउने भइयो भन्ने ठानियो । तर, फेरि विधि मिच्ने काम भएपछि मैले ‘डे वन’ देखि भनें, जे निर्णय हुन्छ, त्यो अनुसार चल्नुपर्छ । निर्णयबाट तलमाथि गर्न पाइँदैन । प्रचण्डजीमा म त पूर्वमाओवादीबाट आएको मान्छे, पूर्वएमालेमा भाँडभैलो मच्चाउन खोज्यो भन्छन् कि भन्ने पनि पर्‍यो होला । तर, म त डे वन देखि विरोध गरिरहेको मान्छे हो । हामी सबै विरोध गरिरहेका मान्छे हौं । दृढताका साथ जुधिरहेकै हो ।

सरकार र पार्टीवीचको अन्तर सम्बन्ध… राजनीतिक नियक्तिहरुमा विगतको इतिहास भन्नुहुन्छ भने पूर्वएमालेभित्र हामी कमिटीभित्र निर्णय गर्ने गर्दथ्यौं । त्यो चलिरहेकै थियो । केपी ओलीजी आइसकेपछि उहाँमा एकाधिकारवादी सोच भएको हुनाले उहाँले त्यसलाई पूर्णरुपमा बिर्सनुभयो । यो उहाँमा रहेको पारदर्शी नहुने प्रवृत्ति हो । त्यसकारण हाम्रो जाँच बोली र व्यवहारमा तालमेल हुन्छ कि हुँदैन, हामी सिस्टमलाई पालना गर्छौं कि गर्दैनौं, सिस्टम बसाल्नका लागि संस्थागत मेकानिज्मलाई अगाडि बढाउँछौं कि बढाउँदैनौं, यी सबै कुराहरु भए भने बल्ल जनताको विश्वास अझै ज्यादा जित्न सकिन्छ ।

अवश्य पनि मानिसहरुको विश्वास धेरै खस्किइसकेको छ । मैले संसदमा बोलें, यहाँ देश डुब्न लाग्यो, माझी चाहियो भन्ने वित्तिकै मलाई त तारो बनाइहाले । यो देशमा राम्रो मान्छेको आवश्यकता अहिले पनि छ । असल मान्छे चाहियो । राजनीतिक पार्टीभित्र पनि चाहियो । प्रत्येक तहमा पनि ताहियो । स्टेट मेकानिज्ममा पनि चाहियो । राज्यका प्रत्येक अंगमा चाहियो । मुख्यसचिवमा पनि चाहियो, सचिवमा पनि चाहियो । डीजीमा पनि चाहियो । सिडीयोमा पनि चाहियो, एसपीमा पनि चाहियो । प्रत्येक अंगमा चाहियो । यो सिस्टम स्थापित गर्ने कुरामा, लोकतान्त्रिक मूल्यहरु स्थापित गर्ने कुरामा हामीले जोड दिनुपर्दछ ।

यसमा हामीले सुरु पनि गरेका छौं । हामीले के सुरु गरेका छौं भने अबदेखि घरमा पार्टीको बैठक नबोलाउने । यो पहिलेदेखिकै मेरो लडाइँ हो । अस्पतालमा बैठक बोलाइयो । झलनाथजी पार्टीको अध्यक्ष हुनुहुन्थ्यो, म जाँदै गइनँ । बालकोटमा म जानै मानिनँ । तर, केपी ओलीले सक्नुहुन्न, कामरेड गइदिनोस् न भनेपछि लतारिएर जानुपर्‍यो । म यस्तो कुराको विपक्षमा पहिलेदेखि नै थिएँ । त्यसैले अहिले पार्टीका गतिविधिहरु पार्टी कार्यालयमा गर्नुपर्छ भनेका छौं । अहिले पेरिसडाँडामा मिटिङ गर्न थालेका छौं । धुम्बाराहीमा गर्न खोजेका थियौं, ताला ठोकिएपछि झगडा गर्न जान भएन ।

अहिलेको प्रतिगमनका विरुद्धमा, सर्वसत्तावादका विरुद्धमा ओलीले गरेको कुका विरुद्धमा तपाई हामी एक हुन जरुरी छ । केपी ओलीको हातमा भएको भए मलाई जेलमा कोचिसक्थे । उनले भनेका थिए, एक महिनामा तपाईले थाहा पाउनुहुनेछ, एक महिनामा म यस्तो एउटा ‘सकिङ स्टेप’ लिँदैछु । त्यो के रहेछ भने पहिलो नम्बरमा माधपव नेपाललाई र दोस्रो नम्बरमा प्रचण्डलाई जेलमा कोच्ने । के पो गर्लान्, के पो गर्लान् भनेको त उही ललिता निवासको कुरा उठाएर पार्न सकिन्छ कि भन्ने रहेछ ।

मैले चुनौती दिएँ, हेर्छु म । ल्याउनोस् । छानविन गर्नोस् भनेर मैले त्यो बेलामा प्रधानमन्त्री हुँदाको मात्र हैन, मेरो जीवनका एक-एक घटनाका बारेमा जाऔं भनें । ०४८ सालमा होस्, ०५१ सालमा उपप्रधानमन्त्री भएको अवस्थामा होस्, पार्टी महासचिव भएर मन्त्रीहरुलाई सञ्चालन गर्दाखेरि होस्, यी सबैको छानविन गरौं भनिसकेपछि हैन हैन, मैले त्यसो गर्न खोजेको हैन भन्नुभयो ।

यी सबै कुराले के प्रमाणित हुन्छ भने उहाँ (ओली) बदलाको भावनाले चल्ने मान्छे हो । उहाँमाथि कसैले प्रश्न उठाउन पाउँदैन । उहाँलाई चुनौती दिन पाउँदैन । चुनौती दिने मान्छे उहाँको नेगेटिभ लिस्टमा पर्छ । कमरेड प्रचण्ड पनि नेगेटिभ लिस्टमा पर्ने कारण त्यो हो । म त परिहालें पर्मनेन्ट । वास्तविकता यो हो । तपाईहरुले यो बुझिदिनोस् । यो हाम्रो विरुद्धमा मात्रै होइन, उहाँ (ओली) प्रति सहमत नभएका मान्छेप्रति अरिंगालको गोलो उहाँ फाल्नुहुन्छ । साइबर सेना प्रयोग गर्नुहुन्छ । यो शिकार तपाईहरु पनि हुनुभएको छ, हामी पनि भएका छौं । हामी सबै पीडितहरु मिलेर अगाडि बढ्नेबाहेक अर्को विकल्प छैन ।

फरक छुट्याउने कसरी ? मुखले भनेर नपुग्ने भो : प्रचण्ड

जनयुद्ध, बाह्रबुँदे सम्झौता हुँदै ०६२/०६३ को जनआन्दोलनले जनतामा पैदा गरेको विश्वास अहिले धेरै नै धर्मराएको छ । त्यो पहिलाको ठाउँमा छैन भन्ने वोध गराउनका निम्ति तपाईहरुको आलोचना र टिप्पणीले हामीलाई धेरै नै मद्दत गरेको छ भन्ने मैले ठानें ।

अहिले त बाहिर देखिने गरी पोखिएर आयो, तर, पार्टी एकता भएको केही समयपछिबाट नै विचार प्रवृत्ति, कार्यशैली, विधि पद्दति अनि, नीति कार्यक्रम, बजेट कस्तो हुनुपर्छ भन्ने विषयमा बहस सुरु भएको थियो । प्रधानमन्त्रीको सोच्ने तरिका, काम गर्ने तरिका, नीति कार्यक्रम र बजेट बनाउँदा पार्टीलाई सम्पूर्णरुपले बाइपास गर्ने तरिका, संवैधानिक, राजनीतिक नियुक्तिहरुमा एकलौटी गर्ने तरिकाका विरुद्ध अढाइवर्षदेखि नै संघर्ष सुरु भएको थियो र त्यसैको क्लाइमेक्सजस्तो अहिले भएको हो । त्यसकारण सबै उस्तै होइनन् ।

हामीले जनतालाई जे भनेर भोट माग्यौं र मत प्राप्त गर्‍यौं, घोषणापत्रका मूल मान्यताअनुसार हामी चल्यौं कि चलेका छैनौं भन्ने बहस भएकै हो । सामाजिक न्याय, विकास, स्थिरता र समृद्धि हामीले दिन्छौं भन्यौं । तर, हामीले त्यस अनुसारको नीति, कार्यक्रम र बजेट ल्यायौं कि ल्याएनौं त ? भन्ने बहस हाम्रो भएकै हो र त्यसको ‘कम्बिनेसन’ जस्तो अहिले आएर भयो । हामीले जनताका अगाडि जे बाचा कबुल गरेको हो, त्यसअनुसार हामी गइराखेका छैनौं है भन्ने एउटा मत र अर्कोचाहिँ अब पावर प्राप्त भइसकेपछि पावर नै मुख्य कुरा हो भनेर सोच्ने र त्यसलाई मोनोपोली गरेर सञ्चालन गर्नेवीचमा लडाइँ परेकै हो ।

अब हामीले हाम्रो विगतमा भएको कमी कमजोरीको समीक्षा र अब हामीले जान कसरी खोजेको के हो भन्ने सबैले बुझ्ने गरी श्वेतपत्र जारी गरेर अगाडि जाने कोसिस गर्छौं । प्रणाली बसाउने कुरो मुख्य हो । आफ्नो मान्छे, अर्काको मान्छे जो हुन गएकै छ, त्यसलाई बदल्ने र प्रणाली बसाउनेतिर चाहिँ ध्यान दिनुपर्‍यो भन्ने सुझाव महत्वपूर्ण छ ।

जनताका आगाडि हामीले जे भयो, यसको नैतिक जिम्मेवारी लिने कसले हो ? मलाई लाग्छ, जसले यो परिवर्तनका निम्ति सबैभन्दा बढी संघर्ष गर्‍यो, बलिदान गर्‍यो, मेहनत गर्‍यो, नेतृत्व गर्‍यो, उनीहरुले नै लिनुपर्छ । यसरी हेर्दा हामी इतिहासको त्यो विन्दुमा, त्यो कठघरामा छौं, जहाँ हामीले नै जवाफ दिनुपर्ने हुन्छ । कहाँँ कमी कमजोरी भयो ? र, राष्ट्र र जनताको अबको आवश्यकता के हो भन्ने कुरामा पनि हामीले प्रष्ट मार्गचित्र दिनुपर्ने हुन्छ ।

सबै उस्तै उस्तै हुन्, पदका निम्ति नै झगडा गरेका हुन् भन्ने पर्सेप्सन गइराखेको छ भन्ने कुरा हामीलाई मोटामोटी थाहा छ । यसलाई चिर्न हामीले अझै मेहनत गर्नुपर्ने रहेछ भन्ने आज महसुस भएको छ । हुन त उही र उस्तै त होइनौं । एउटाले आदर्शअनुरुप चल्न पर्‍यो, विधिअनुरुप चल्नपर्‍यो भन्ने र अर्को आदर्श/विधिका विपरीत चल्ने उस्तै त होइनन् । तर, राजनीतिमा पर्सेप्सन भन्ने कुरा धेरै ठूलो हुन्छ । कहिलेकाहिँ सही कुरा पनि सही तरिकाले प्रस्तुत गर्न सकिएन र कन्भिन्सिङ तरिकाले जनतालाई बताउन सकिएन भने भ्रम हुन्छ र चिजहरु उल्टो दिशातिर जाने खतरा पनि हुन्छ । त्यसो भएको हुनाले यिनीहरु पदका निम्ति नै लडेका हुन् कि भन्ने पर्सेप्सन हामीले मुखले भनेर मात्रै होइन, व्यवहारद्वारा नै त्यसलाई सावित गर्नुपर्ने छ ।

लोकतन्त्र त हामीले ल्यायौं, यसको पनि विकासको नियम हुन्छ, त्यो नियमअनुसार आयो । यसलाई सुदृढ गर्ने कुरामा हामीले दृढता प्रदर्शन गर्न सक्नुपथ्र्यो । ०६२/०६३ को आन्दोलनपछिको परिस्थितिमा संरचना र प्रणालीमा सुधारका निम्ति हामीले लोकतान्त्रिक मान्यताअनुसार जे गर्नुपर्थ्यो, त्यसमा हाम्रो ध्यान गएन । बरु, कहीँ न कहीँ, त्यहाँ भ्रम सिर्जना भयो भन्ने लाग्छ ।

यिनीहरु उस्तै होइनन् भनेर फरक छुट्याउने कसरी ? यो कुरामा पनि हामीले त्यो सावित गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment