Comments Add Comment

कसरी भयो जलान्धरको उत्पती ?

देवी भागवत पुराणका अनुसार एक पटक भगवान शिवले आफ्नो तेज समुद्रमा फ्याँकिदिएका थिए जसबाट जालन्धरको उत्पत्ति भएको थियो ।

जालन्धर निकै शक्तिशाली थियो । इन्द्रलाई समेत पराजित गर्न सफल जालन्धरले तीनै लोकको सत्ता हातमा लिएको थियो । यमराज समेत ऊसँग डराउने भएका कारण जालन्धरलाई कसैको डर थिएन ।

जालन्धरमा अपार शक्ति थियो । उसकी पत्नी वृन्दाका कारण उसमा अपार शक्ति भएको कुरा स्कन्द पुराणअन्तर्गतको केदारखण्ड माघ महात्म्य अर्थात् स्वस्थानी व्रत कथामा बताइएको छ ।

वृन्दाको पतिव्रत धर्मका कारण सम्पूर्ण देवीदेवता मिलेर पनि, यहाँसम्म कि त्रिदेवले समेत जालन्धरलाई केही गर्न सक्दैनथे । आफूलाई कुनै पनि शस्त्रअस्त्रले छुन नसक्ने भएका कारण जालन्धर कसैलाई गन्दैनथ्यो, उसलाई आफू शक्तिशाली भएको घमण्ड पनि थियो । यसैको बलमा ऊ देवताहरुका पत्नीहरुलाई समेत बलजफ्ती गर्दथ्यो ।

जालन्धर सम्पूर्ण ब्रह्माण्डमा शासन जमाउन चाहन्थ्यो । यसका लागि उसले सर्वप्रथम इन्द्रलाई पराजित ग¥यो । यसपछि उसले विष्णु लोकमा आक्रमण गरेर लक्ष्मीलाई हत्याउने विचार ग¥यो । यसै योजनाअनुरूप उसले बैकुण्ठमा आक्रमण पनि ग¥यो ।

तर देवी लक्ष्मीले जालन्धरलाई आफूहरु दुवै समुद्रबाट उत्पत्ति भएका हुनाले दिदीभाइ भएको कुरा सम्झाइन् । यो सुनेर जालन्धर प्रभावित भयो र ऊ लक्ष्मीलाई दिदी मानेर बैकुण्ठबाट फक्र्यो ।

यसपछि जालन्धरले कैलाशमाथि आक्रमण गरेर पार्वतीलाई आफ्नो बनाउने विचार ग¥यो । सम्पूर्ण असुरहरुलाई एकत्रित गरेर जालन्धर कैलाश गएर देवी पार्वतीलाई पत्नी बनाउने प्रयासमा लाग्यो ।  यसबाट देवी पार्वती क्रोधित भइन् । महादेव जालन्धरसँगको युद्धमा होमिए । वृन्दाको पतिव्रत धर्मका कारण शिवको हरेक प्रहार यहाँसम्म कि त्रिशूल प्रहार गर्दा पनि जालन्धरको रौंसमेत हल्लेन ।

यसपछि देवताहरुले एक योजना बनाई वृन्दाको पतिव्रता धर्म नष्ट गर्ने विचार गरे । सोहीअनुसार विष्णु जालन्धरको भेष धारण गरी वृन्दा भएठाउँ गए । वृन्दाले विष्णुलाई आप्mनो पति जालन्धर ठानिन् ।  रात परेपछि विष्णुले वृन्दासँग समागम गरे जसबाट वृन्दाको पतिव्रत धर्म नाश भयो । यता वृन्दाको पतिव्रत धर्म नष्ट भयो उता युद्धरत जालन्धरमा कमजोरीका लक्षण देखा पर्न थाल्यो । यो कुरा थाहा हुनेबित्तिकै शिवले त्रिशूल प्रहार गरी जालन्धरलाई मारिदिए ।  विष्णुद्वारा सतीत्व भंग भएर आप्mना पतिले मृत्युवरण गर्नुपरेको कुरा थाहा भएपछि वृन्दाले विष्णुलाई श्राप दिइन् । उनले विष्णुलाई झार हुनु परोस्, घाँस हुनु परोस्, रुख हुनु परोस् अनि ढुंगा हुनु परोस् भनी श्राप दिएकी थिइन् ।

फलतः विष्णुले पीपल, तुलसी, कुश र शालिग्राम बननुपरेको हो भन्ने मान्यता एकातिर छ भने अर्कातिर तुलसीका सन्दर्भमा केही फरक प्रसंग पनि छ । जसबहनुसार विष्णु गएपछि वृन्दाले आत्मदाह गरिन् । उनको खरानीमाथि तुलसीको बोट उम्य्रो । तुलसी देवी वृन्दाको स्वरूप भएका कारण यो विष्णुका लागि अत्यन्त प्रिय छ ।

भारतको पञ्जाब प्रान्तमा जालन्धर नामको शहर छ । जुन पहिले जालन्धरको राजधानी थियो भनिन्छ । त्यही सहरमा जालन्धरकी पत्नी देवी वृन्दाको मन्दिर पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment