१२ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको चौथो संस्करणको सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार समूह चरणका अन्तिम दुई खेल भएपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो ।
समूह ए बाट विभागीय क्लबद्वय एपीएफ र त्रिभुवन आर्मी तथा समूह बी बाट बागमती प्रदेश र साविक विजेता नेपाल पुलिस क्लब सेमिफाइनल पुगेका हुन् । एपीएफ समूह ए को विजेता बन्दा आर्मी समूह बी को उपविजेता बन्यो ।
यस्तै बागमती समूह बी को विजेता बन्दा पुलिस समूह उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो ।
अब पहिलो सेमिफाइनलमा एपीएफ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ भने दोस्रो सेमिफाइनल बागमती र आर्मीबीच हुनेछ ।
पहिलो सेमिफाइनल माघ १४ गते र दोस्रो सेमिफाइनल माघ १५ गते हुनेछ । दुवै खेल टीयू मैदानमा हुनेछ ।
आर्मीलाई विभागीय डर्बीमा सोमबार पराजित गर्दै समूह ए बाट एपीएफ समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । यसअघि नै सेमिफाइनल पुगिसकेका दुई टोलीबीच समूह विजेता बन्ने होड थियो । जसमा एपीएफले आर्मीलाई ६ रनले हरायो ।
एपीएफ चार खेल जित्दै अपराजित रहँदा आर्मीले एक खेल हारेको हो ।
यस्तै सोमबार मुलपानीमा भएको खेलमा प्रदेश २ लाई पराजित गर्दै पुलिस समूह बी को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो ।
बागमती अपराजित रहँदै ७ अंक जोडेको समूह विजेता बन्दा एक खेल हारेको पुलिसले ६ अंक जोडेर समूह उपविजेता बनेको हो ।
प्रतिक्रिया 4