Comments Add Comment

नागरिक आन्दोलनका घाइते भन्छन् : प्रहरीले नियोजित आक्रमण गर्‍यो

१२ माघ, काठमाडौं । भाटभटेनी पीपलबोटमा उभिएर पत्रकार नारायण वाग्लेले ‘तेस्रो जनआन्दोलन सुरु भएको’ घोषणा गरेपछि नागरिक अभियन्ताको टोली बालुवाटार घेराउ गर्न अघि बढ्यो ।

तर दुई सय मिटरअगाडि पुग्दा–नपुग्दै प्रहरीले एकाएक लाठी बर्साउन सुरु गर्‍यो । अग्रमोर्चामा रहेकाहरूले प्रहरी घेरालाई धकेल्दै अघि बढ्ने क्रममा मुठभेड भयो ।

त्यहीक्रममा युवा अभियन्ता निर्गराज जैशीमाथि प्रहरीले निरन्तर प्रहार गरेपछि उनी बेहोश हुन पुगे । गम्भीर घाइते निर्गलाई शिक्षण अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ भने अन्य घाइतेहरू मोडेल अस्पताल बागबजारमा उपचार गराइरहेका छन् । टाउको गम्भीर चोट लागेका जैसीको साँझसम्म होश आएको छैन ।

घाइते हुनेमा संघर्ष दाहाल, स्वर्णीम दिनेश र सीएन थारुलाई बढी चोट लागेको छ । कुलदिप शर्मा, जनक ढुंगाना, सुरज तामाङ, यादव ढुंगाना, विनोद शर्मा, मञ्जित श्रेष्ठ, कुशल श्रेष्ठ, नवराज गुरुङ पनि घाइते भएका छन् । सामान्य घाइते भएकाहरू अन्य आन्दोलकारीकै सहायतामा लिएर घर पुगेका छन् ।

दिउँसो नै मानवअधिकारकर्मीको टोली गिरफ्तार गरेको सरकारले नागरिक आन्दोलन रोक्न २ सयभन्दा बढी नेपाल प्रहरी, पानी फोहरा र शसस्त्र प्रहरी बालुवाटारको सडकमा तैनाथ गरेको थियो ।

यस्तैमा प्रहरी चेनभन्दा केही कदम पछाडि नारा लगाइरहेका पत्रकार अरुणदेव जोशीमाथि प्रहरीले लाठी प्रहार गर्‍यो । लाठी पाइन्ट च्यातिएर नलीखुट्टामा बज्रिएपछि जोशी धरमराए । ‘चोटको पर्वाह नगरी केही कदम अगाडि बढेको थिएँ फेरि पानीको फोहराले हानियो’ जोशीले भने, ‘यसपछि म हिँड्न असहज भएर किनारामा बसेँ ।’

यो पनि पढ्नुहोस् : प्रहरी दमनको जति भर्त्सना गरेपनि कम हुन्छ

खुट्टा सुन्निएर हिँड्न नहुने भएपछि उनी अहिले एक्सरे गर्न जाने तरखरमा छन् । जोशीमात्र होइन नागरिक समाजका अभियन्ताहरूमाथि निरन्तर पन्ध्र मिनेट पानीको फोहोरा, अश्रु–ग्यास र लाठीचार्ज गरियो । पत्रकार परिचयपत्र र क्यामेरासहित सडकमा रहेका पत्रकार नरेश श्रेष्ठलाई पनि प्रहरीले लाठी हान्यो । होटलको आँगनमा बसेका पत्रकार र युवाहरूको टोलीमाथि पनि प्रहरी जाइलागेको थियो ।

मानवअधिकार आयोगकी निवर्तमान सदस्य मोहना अन्सारीसहितका महिलामाथि प्रहरी निशाना प¥यो । पानीको फोहराले ताकेर हान्दा उनीहरू सडकमा ढले । ‘प्रहरीले आदेश मुताबिक नियतिपूर्वक दमन गरेको देखिन्छ’ अन्सारीले अनलाइनखबरलाई भनिन् ‘प्रहरीभन्दा कम संख्यामा रहेकामाथि भौतिक प्रहार हुनु मानवअधिकारको ठाडो चुनौती हो ।’

अन्सारीका अनुसार केपी ओलीकै आदेशमा नागरिक अभियन्तामाथि आक्रमण गरिएको हो । उनी भन्छिन्, ‘शान्तिपूर्ण कोणसभा पछि अगाडि बढेकाहरूमाथि निर्मम प्रहार भएको छ । जुन कृत्य लोकतन्त्रमाथिको उपहास हो ।’

अन्सारीसँगै रहेकी अर्की अभियन्ता रीता परियारको पनि खुट्टामा लाठी लागेको छ । फोहोरा प्रहारले पूर्ण भिजेको अवस्थामा रहेकी परियारका अनुसार पछाडि हटिसकेको अवस्थामा पनि पानीको फोहोरा प्रहार गरिएको थियो ।

यता नेकपाकै नेता रघुजी पन्त पनि कल्पना नै नगरेको अवस्थामा प्रहरी दमन भएको बताउँछन् । लेखक–साहित्यकारसँगै अग्रमोर्चामा रहेका पन्तमाथि पनि प्रहरी लाठी बर्सियो । सँगै रहेका लेखक सञ्जीव उप्रेती, संगीत स्रोता, युग पाठकमाथि प्रहरी निकै आक्रामक देखियो ।

नागरिक आन्दोलनका युग पाठकका अनुसार पीपलबोटमा भाषण गर्ने अभियन्तामाथि प्रहरी निशाना बढी परेको थियो । पाठकले भने, ‘नारा लगाउनेहरूलाई एकाएक आक्रमण गर्नु अमानवीय हर्कत हो । शान्तिपूर्ण विरोधमाथि फौजी शैलीमा आक्रमण गरिएको छ’ उनले भने ।

आन्दोलनमै रहेका युवा नवराज गुरुङ पनि कानमा समस्या भएपछि मोडेल अस्पताल पुगेका छन् । गुरुङ भन्छन्, ‘कानको जाली फुट्ने गरी पानीको फोहराले लागेको छ । भाग्नेलाई नै ताकेर फोहरा हान्दा बढी घाइते हुन पुग्यौं ।’

गुरुङ शान्तिपूर्वक अघि बढ्दा थाहै नपाई प्रहार भएको बताउँछन् । उनका अनुसार सानो संख्यामा रहेको आन्दोलनकारीलाई फोहरा हान्नुले प्रतिशोध बढाउने काम बढी गर्छ । यता केही युवा अभियन्तामाथि प्रहरीले लेखेटी–लखेटी आक्रमण गरेको पाइएको छ ।

आन्दोलनमा सहभागी युवा कपिल चौलागाईंले अनलाइनखबरलाई बताएअनुसार भीडबाट छुट्टिएर गएका युवालाई प्रहरीले लखेटेरसमेत लाठी हानेको छ । चौलागाईं भन्छन्, ‘सडकपेटीमा आराम गर्न बसेको बेलामा समेत प्रहरीले लाठी हानेको छ । यसले गर्दा नै युवा जमात झनै आक्रोशित बनेको हो ।’

बालुवाटरको नागरिक आन्दोलनलाई विशेष सम्बोधन गरेका पत्रकार नारायण वाग्लेलाई पनि प्रहरीले निशाना बनाएको देखियो । पानीको फोहराले भिजेका वाग्लेले भाटभटेनी मन्दिरछेउमा उभिएर घाइतेको उपचार नागरिक तहबाटै गरिने उद्घोष गरे । वाग्लेले भने, ‘हामी कायर सरकारको उपचार लिँदैनौं । आफनो जीवनरक्षा आफैं गर्नेछौं ।’

वाग्लेले बिना सिठ्ठी, बिना सूचना एकाएक भौतिक आक्रमण गरिनु कायरताको दृष्टान्त भएकोे टिप्पणी गरे ।

यस्तै प्रतिगमनको विरोधमा उत्रिएका मानवअधिकारवादी कृष्ण पहाडीसहित २६ जनालाई प्रहरी ६ घण्टासम्म पुलिस क्लबमा राखेको छ । दिउँसो साँढे १२ बजे बालुवाटारबाट पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो ।

पुलिस क्लबमा प्रहरीले कुनै मानवीय व्यवहार नगरिएको मानवअधिकारकर्मी पहाडीको भनाइ छ । पहाडीले भनेका छन्, ‘हामीलाई सामान्य मानवीय व्यवहार पनि गरिएको छैन ।’

मानवअधिकारकर्मी तथा नागरिक अभियन्तामाथि भौतिक प्रहार भएसँगै सामाजिक सञ्जाल सरकार र प्रहरी प्रशासनको तीव्र विरोध सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment