+
+

क्यानडा पठाइदिने भनी ३३ जनाबाट १ करोड ठगी

ठगी आरोपमा बिक पक्राउ परेपछि ठगिनेहरु सम्पर्कमा आउँदै

अमृत सुवेदी अमृत सुवेदी
२०७७ माघ १५ गते १९:०८
पक्राउ परेका धीरज बिक (दाँया) र ठगिनेहरु ।

१५ माघ, पोखरा । साउदी अरबमा ११ वर्ष सेल्सम्यानको काम गरेर फर्किएका स्याङ्जाका मोतीबहादुर पोखरेल कामको खोजीमा थिए । एक दिन दीपक कार्की नाम गरेका व्यक्ति उनको सम्पर्कमा आए । कार्कीले आफू क्यानडा जान लागेको र पोखरेललाई पनि जान सुझाए ।

साउदी अरबको ड्राइभिङ लाइसेन्स भएकाले पोखरेलले त्यही भिसामा क्यानडा जाने सपना देखे । पोखरेलले कार्कीमार्फत धीरजकुमार बिक नाम गरेका व्यक्तिलाई भेटे । क्यानडामा आफ्नो मान्छे भएको र सजिलै ड्राइभिङ भिसामै पठाउने धीरजले विश्वस्त पारे । साथीको साला भोजबहादुर कार्की क्यानडामै भएको र उनीसँग मिलेर बिकले क्यानडा पठाउन लागेकामा दीपक कार्की पनि विश्वस्त थिए ।

‘क्यानडाको भिसा पक्का आउँछ । त्यसको प्रोसेस थाल्न २ लाख मागे । हामीले उसलाई चेक दियौं,’ १७ महिनाअघिको घटना सम्झिँदै पोखरेलले भने, ‘उसले पनि विश्वास पैसाको ग्यारेन्टीका लागि हामीलाई २ लाखकै बैंक चेक दियो ।’ ।

नेपालमा क्यानडाको दूतावास नभएका कारण भिसा एप्किेसन सेन्टर भारतमा जानुपर्ने भन्दै बिकले फेरि ५० हजार मागे । केही समयपछि फेरि ५० हजार मागे । ‘यो गभर्मेन्ट शुल्क हो भनेर उसले पैसा माग्यो,’ पोखरेलले भने, ‘यसरी नै मैले बिकलाई २ लाख ९७ हजार रुपैयाँ बुझाएँ ।’

पछि कोरोनाको माहामारी सुरु भयो । बिकले केही समय त्यसकै बहाना बनाए तर पछि सम्पर्कमै आएनन् । क्यानडा जाने सपना बोकेर बिकलाई पैसा बुझाउने पोखरेलकै साथीसमेत गरी ७ जना थिए । उनकै ७ जना साथीहरुले बिकलाई १७ लाख रुपैयाँ बुझाएका थिए ।

स्याङ्जाकै धुब्र पाठक र दीपेन्द्र बिश्वकर्माले स्याङ्जामै शिक्षण गरिरहेका थिए । एक दिन दीपक कार्कीमार्फत नै क्यानडा जाने योजनामा तिनै धीरज बिकसँग उनीहरुको भेट भयो । ध्रुव र पाठकले शिक्षण पेशा छाडेरै क्यानडा जाने सपना देखे । सुरुमै ध्रुव र पाठकले १/१ लाख रुपैयाँ बिकलाई बुझाए ।

क्यानडा जानकै लागि भारत जानुपर्ने भनेपछि ध्रुवलगायत सहमत भए । तर, त्यसका लागि १ लाख रुपैयाँ बुझाउनुपर्छ भनेपछि धु्रवले बैंकमा पैसा जम्मा गराइदिएर भारत लागे । ‘भारत भिसा एप्लिकेसन सेन्टरमा फोटो खिचाउने र फिंगर प्रिन्ट लिने काम भयो,’ ध्रुवले भने, ‘त्यसपछिको सबै सूचना इमेलमा आउँछ भनिएको थियो । तर, न इमेल आयो न मान्छे नै सम्पर्कमा आयो ।’

माघ १३ गते मोती, ध्रुव र दीपेन्द्रले सूचना पाए, क्यानडा लैजान्छु भन्ने धीरजलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । उनीहरु तत्काल पोखरा आए र ७ जना मिलेर जाहेरी दिए ।

प्रहरी कार्यालय आएपछि बल्ल उनीहरुले थाए पाए, ठगिने त आफूहरु ७ जनामात्रै होइन रहेछ । बिकबाट ठगिएको भन्दै प्रहरी कार्यालयमा पुग्नेको ठूलै भीड लागिसकेको थियो । बिक प्रक्राउ परेको जानकारी पाएपछि बिहीबारसम्म ३३ जनाले प्रहरी कार्यालयमा उजुरी दिइसकेका छन् ।

गत माघ १२ गते प्रहरी कार्यालयमा ठाडो उजुरी आएको र त्यसको भोलिपल्ट ठगीको किटानी जाहेरी आएपछि १३ गते बिकलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । प्रक्राउ परेका बिकलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ ।

बिकले क्यानडा पठाइदिन्छु भन्दै ३३ जनाबाट करिब १ करोड रुपैयाँ ठगी गरेको उजुरी आएको एसपी श्रेष्ठको भनाइ छ । ‘ठगी मुद्धामा बिकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ । अहिलेसम्म ३ जना मिलेर ठगी गरेको पाइएको छ, अरु पनि संलग्न हुन सक्छन्,’ श्रेष्ठले भने, ‘ठगिनेहरु पनि अझै बढ्न सक्ने देखिन्छ ।’

क्यानडा जाने प्रलोभनमा सबैभन्दा बढी स्याङ्जाबाट ठगिएका छन् । त्यस्तै पर्वत, तनहुँ, म्याग्दी र नुवाकोटसम्मका व्यक्तिहरुले ठगी गरेको उजुरी दिएका छन् । पर्वत मोदी घर भइ सिशुवा बस्दै आएका बिकले क्यानडा पडाउने प्रलोभन देखाएर १५ लाख रुपैयाँसम्म लिएको आरोप छ ।

ठगीमा परेका मोतीबहादुर, ध्रुव, दीपेन्द्रलगायत धेरै जनासँग पैसा भुक्तानी गरेको भौचर छ भने बिकले क्यानडा पठाउने विश्वास दिलाउनका लागि विभिन्न सहकारी र बैंकको चेक दिने गरेको प्रहरीले जनाएको छ ।

लामो समय साउदी बसेका बिक २ वर्षअघिमात्रै नेपाल फर्किएका थिए । बिकले डेढ वर्षदेखि क्यानडा पठाउने भन्दै ठगी धन्दा चलाएको आरोप छ । ‘ओपन भिसा आएको छ र त्यसका लागि दिल्ली हुँदै जानुपर्छ भन्दै विश्वास दिएर पैसा लिएको देखिन्छ,’ एसपी श्रेष्ठले भने, ‘कोही क्यानडा पुगिसकेको भेटिएको छैन तर बिकले लिएको पासपोर्ट भारत पठाएको बताएका छन् ।’

अमेरिका, युरोप भन्नेबित्तिकै धेरै नसोची पैसा दिइहाल्ने भएकाले पनि गठी बढेको एसपी श्रेष्ठको भनाइ छ । पछिल्लो समय विभिन्न माध्यमबाट ठगी गर्ने क्रम बढेको एसपी श्रेष्ठले बताए ।

‘फेसबुकमार्फत सामान आएको छ, उपहार आएको छ भनेर पैसा लिने तर सामान नदिने, अनलाइनमार्फत फसाउने क्रम बढेको छ,’ एसपी श्रेष्ठले भने, ‘सक्कली सुन साटेर नक्कली सुन दिनेजस्ता ठगी छन् ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?