Comments Add Comment

‘भ्रष्टाचार हुँदैन भनेर जप्ने होइन, व्यवहारमा देखिनुपर्‍यो’

१६ माघ, काठमाडौं । भ्रष्टाचार नियन्त्रणमा सरकार चुकेको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद दीनानाथ शर्माले मुलुकमा भ्रष्टाचार धेरै नै बढ्दा समेत सरकारले केही गर्न नसकेको बताए । भ्रष्टाचारमात्रै नभएर पछिल्लो समय गरिबी र बरोजगार समेत बढेको भन्दै उनले सरकारको आलोचना गरे ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको अध्ययनले नेपालमा भ्रष्टाचार व्यापार भएको देखाएको भन्दै सांसद शर्माले सरकारले मुखले मात्रै भ्रष्टचार नियन्त्रण गर्नु भनेर नहुने बताए । उनले भ्रष्टचार नियनत्रण व्यबहारमा देखाउनु पर्ने बताए ।

‘गरिबी, बेरोजगार र भ्रष्टचारसँगै सँगै बढिरहेको छ, सेटिङमा भ्रष्टाचार हुन्छ, सेवा प्रवाहमा हुन्छ नीति र न्या सेवामा पनि भ्रष्टाचार हुन्छ’ उनले भने, ‘यो मैले भनेको होइन रिपोर्टले देखाएको हो, भ्रष्टचार भनेको जपेर हुँदैन व्यवहारमा देखाउन सक्नु पर्छ ।’

आफू कम्युनिष्ट भए पनि पछिल्लो सरकारको कामकारबाहीले आफ्नो शीर झुकेको उनले बताए । आफूलाई कम्युनिष्ट सिपाही भएको बताएका उनले भने, ‘जताततै भ्रष्टाचार छ, मेरो शीर कसरी ठाडो हुनसक्छ ?’

उनले सरकारले विकास खर्च समेत गर्न नसकेको समेत बताए । ठेकदारहरुले मोविलाइजेसन खर्च लिएर एउटा पिल्लर १० वर्षसम्म पनि त्यत्तिकै छाड्ने गरेको भन्दै यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।

कांग्रेस सांसद रमेशजंग रायमाझीले सचिवहरुले सरकारमा मनान्छेहरुले जे भन्यो त्यही मान्न नहुने बताए । छलफलमा राष्ट्रिय योजना आयोगका तर्फबाट डा. पुष्प कँडेल र अर्थमन्त्रालयका तर्फबाट अर्थ सचिव शिशिर कुमार ढु्रंगाना सहभागी थिए ।

अर्थसचिवतिर हेर्दै सांसद रायमाझीले भने, ‘अब तपाईंहरुले सरकारका कुनै व्यक्तिहरुले के भने भन्दा पनि राज्यको फाइदा हेरेरमात्रे काम गर्नु पर्छ, कुनै व्यक्तिले भनेको भरमा काम नगर्नुहुन सचिव ज्यूलाई अनुरोध छ ।’

‘अनुगमन नहुँदा समस्या’

छलफलमा सहभागी अर्थसचिव शिशिर ढुंगानाले आर्थिक अनुशासन कायम गर्न अर्थमन्त्रालय सधै प्रतिवद्ध रहेको सुनाए । कसैले भनेको भरमा भन्दा पनि ऐन नियम अनुसार नै काम हुने उनले बताए ।

आर्थिक अनुशासन कायम गर्न प्रतिवद्ध भएकै कारण अर्थमनत्रालय छुच्चो मन्त्रालय बनेको उनले बताए ।

‘यो मन्त्रालय नै छुच्चो जस्तो देखिन्छ, त्यो सबै आर्थिक अनुशासन कायम गर्नका लागि हो’ उनले भने, ‘अझ बजेट महाशाखाको साथीहरु त धेरै पीडित हुनुहुन्छ, कहिलेकाहीँ कुटाई खानुपर्ने दिन पनि आउन सक्ला ।’ उनले मन्त्रालयले पुँजीगत खर्च कम हुनुमा केहि समस्याहरु रहेको बताए ।

खासगरी कोरोनाका कारण कतिपय आयोजनाहरुमा काम हुन नसकेको तर ठेक्का अवधि सकिएको भन्दै त्यसले पनि समस्या पारेको बताए ।

यतिबेला कोरोना खोप समेत लगाउन सुरु गरिसकिएको भन्दै क्रमशः सबै नागरिकलाई पुग्ने खोप ल्याउने तयारी रहेको समेत उनले बताए ।

एकैपटक ल्याएर थुपार्न नहुने भएकाले क्रमशः खोप आउने उनको भनाइ छ ।

योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले आयोजनाहरु समयमै सम्पन्न हुन नसक्ने मूख्य कारण अनुगमनमा देखिएको कमजोरी नै भएको बताए ।

‘अनुगमनमा केही कमीकमजोरी छन्, त्यो म स्वीकार्छु’ उपाध्यक्ष कँडेलले भने । अनुगमन राम्रो हुने हो यस्ता समस्याहरु नआउने उनको भनाइ छ । उनले यसमा राजनीतिक दलहरुको समेत कमजोरी रहेको बताए ।

‘यो समस्या सबैलाई थाहाँ छ उपाध्यक्षको हैसियतले भन्दा पनि म व्यक्तिगत हैसियतले भन्छु’ उनले भने, ‘यहाँ निर्वाचन प्रणाली नै पनि राम्रो छैन, केहि अप्ठेराहरु छन् ।’

उनले निर्वाचन प्रणालीलाई सरल बनाउन सके पनि आयोजना कार्यान्वयनमा धेरै समस्या नदेखिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment