Comments Add Comment
प्रतिगमन विरोधी नाटक :

खरीबोटमा शुक्रराजलाई फेरि झुण्डाइयो !

१६ माघ, काठमाडौं । शुक्रबार दिउँसो २ बजे टेकुस्थित खरिबोटमा राणाकालीन सैन्य पोशाक लगाएका हतियारधारीहरु यताउति देखिन्थे । उनीहरूका काँधमा पुराना मोडलका बन्दुक थिए । बीचबीचमा बारूद पड्किएको डरलाग्दो आवाज पनि आइरहेको थियो । यत्तिकैमा ‘सैनिक’ हरूले घिर्सादै एकजना मानिसलाई खरीको बोटमा ल्याए ।

राणाकालीन सैनिक टोलीले उक्त व्यक्तिलाई झुण्ड्याउन खोजे । यसरी मानिस झुण्डाउन लागेको देखेर टेकुको बाटो हिँडिरहेका पैदलयात्रीको भिड जम्मा भयो । बाटोमा गुडेका सवारी पनि रोकिए ।

नआत्तिनुस्, यो दृश्य सक्कली होइन ।

यही रूखमा ८० वर्षअघि राणा शासनको विरोध गरेको कसुरमा शुक्रराज शास्त्रीलाई १९९७ माघ १० गते झुण्डाइएको थियो । र, शुक्रबार त्यसैको स्मरण मात्र गर्न खोजिएको थियो, नाटकमार्फत् ।

उनै शहीद शास्त्रीको सम्मानमा शिल्पी थिएटरले टेकु खरिबोटमा देखाएको नाटकले धेरैको ध्यान तान्यो । बृहत् नागरिक आन्दोलनकै सिलसिलामा नाट्यकर्मी घिमिरे युवराजको निर्देशनमा यो नाटक देखाइएको हो ।

राणा शासनकै झल्को दिने गरी नाटक देखाएका निर्देशक घिमिरे युवराज आफैं शहीद शुक्रराजको पात्र बनेका थिए । अमर शहीद शुक्रराजको अभिनय गर्दा निकै भावुक बन्न पुगेको घिमिरेले अनलाइनखबरलाई बताए । उनले भने, ‘आफूलाई मार्न लाग्दा पनि एकरत्ति नडराएका वीर शहीदको अभिनय गर्दा म द्रवित भएको छु । शुक्रराजको त्याग र मर्म बुझ्न मलाई यो नाटकले सघायो ।’

निर्देशक घिमिरे शहीदको योगदानलाई आजका युवाले हृदयदेखि नै आत्मसात् गरेमात्र सहीद दिवसको सार्थकता हुने बताइरहेका थिए । उनलाई साथ दिन कलाकारहरू रविन परियार, मोहन प्रकाश, गोविन्द ओली र रवि श्रेष्ठ निकै डुबेर अभिनय गरिरहेका देखिन्थे ।

पाँच दिनको तयारीपछि देखाइएको सडक–नाटकको दर्शकहरूले खुलेर प्रशंसा गरे । शिल्पीको नाट्य समूहले यसअघि पनि प्रज्ञा प्रतिष्ठान डबली र माइतीघरमा नाटक देखाएर प्रतिगमनको विरोध गरेको थियो ।

०००

नाटक सकिएपछि सुरु भएको सभामा बोल्दै साहित्यकार नारायण ढकालले शहीद शुक्रराज नेपाल भाषाका साहित्यकार रहेको बताउँदै शास्त्रीको जीवन आहुतिले नै आजको स्वतन्त्रता प्राप्त भएको बताए । खरिबोटस्थित शुक्रराजको शालिकमुनि उभिएर साहित्यकार ढकालले भने, ‘आज हामीलाई शुक्रराजजस्तै स्वतन्त्रताप्रेमी नागरिकको खाँचो छ । शहीदको जस्तै साहस भएका युवाको खाँचो छ ।’

मन्तव्यका क्रममा केपी ओलीको कदमप्रति निकै आक्रामक शैलीमा प्रस्तुत भएका ढकालले जस्तोसुकै अवस्थामा पनि ओली प्रवृत्तिको विरोधमा लडिरहने प्रतिवद्धता जनाए ।

यो पनि पढ्नुहोस ‘प्रतिगमनको विरोध गरिरहन सधैं प्रतिबद्ध छु’

सभामा बोल्दै रस्मिला प्रजापतिले प्रतिगमनविरूद्ध निरन्तर लड्नुपर्ने हुनाले धैर्यका साथ उभिएर विरोध गर्नुपर्ने बताइन् । त्यसपछि बोलेका यादवलाल कायस्थले जतिसुकै शक्ति भए पनि अन्यायको शासन नटिक्ने बताउँदै संसद विघटनको विरोध गरे ।

मतन्व्यकै बीचमा पवित्र कासाले नेवारी भाषामै गीत प्रस्तुत गरे । उनले आफ्नो गीतसँगै जनकवि दुर्गालाल श्रेष्ठको क्रान्तिकारी गीत पनि उपस्थित जनसमूहलाई सुनाए । जुजुकाजी रञ्जित र शैलेश शाक्यले नेपाल भाषामै सुनाएको कविताले लोकतन्त्रमाथि भएको प्रहारको कटाक्ष गरेको थियो ।

यस्तै विरोध सभाको मध्य–समयमा एक मिनेटसम्म सबै आन्दोलनकारी सडकमा लम्पपार परेर सुते । उनीहरूले सहीदका नाममा मौनधारणसहित सडकमा सुतेर प्रतिगमनको विरोध गरे ।

कालोपत्रे सडकमा निस्फिक्री सुतेका अभियन्ताहरू परी आए सडकमै लड्न तयार भएको उदाहरण दिइरहेका देखिन्थे । सडकमा सुतेका युवा बच्चु हिमांशुले अनलाइनखबरसँग कुरा गर्दै परी आए सडकमै जीवन आहुति दिन तयार भएको बताए ।

उनले भने, ‘प्रतिगमनको विरुद्ध युवा शक्ति सडकमा नआई त्यो सच्चिँदैन । यसैले आजको विरोध सडकमा सुतेर गरेका हौं ।’

विरोध कार्यक्रममा सहभागीहरू प्रतिगमनविरोधी नारा छातीमा टाँसेर उभिएका थिए । यता कार्टुनिस्टहरूको चित्र तथा नेपाल भाषामा लेखिएका नारा बोकेका अभियन्ताहरू टेकु शुक्रराज शालिक वरपर घुमिरहेका थिए । उनीहरूले कार्यक्रमको बीचबीचमा ‘लोकतन्त्र जिन्दावाद !’ भन्दै नारा लगाएर सभालाई उत्साहित बनाएका थिए ।

बिहान शुक्रराजको शालिकमा माल्यार्पण गरेर पुष्पाञ्जली गरिएको थियो । त्यही स्थानमा दिउँसो नाटकसहित कलात्मक विरोध कार्यक्रम हुँदा स्थानीय नागरिकसमेत भेला भएका थिए ।

स्थानीय रत्न मानन्धरका अनुसार नाटक हेर्दा उनलाई राणाकालको त्राश अनुभूत भएको थियो । उनले भने, ‘नाटकमा लास बोकेर सडकको बाटो हिँडेका कलाकार देख्दा हाम्रो मनै पग्लियो, भोग्नेलाई कति सकस भयो होला !’

नागरिक समाजको विरोध सभामा नेता घनश्याम ढकाल, लेखक सञ्जीव उप्रेती, नारायण वाग्ले, युग पाठक, चन्द्रवीर तुम्बापो, रीता परियार लगायतको सहभागिता थियो ।

उनीहरू सबै सोमबार बालुवाटारमा भएको प्रहरी दमनमा परेका थिए । वाग्ले, पाठक र उप्रेती सामान्य घाइते भएका थिए भने युवाहरू निर्ग जैसी, गम्भीर घाइते भएका थिए ।

अभियन्ता प्रकृति भट्टराईले सञ्चालन गरेको कार्यक्रममा युवाहरूको बाक्लो उपस्थिति थियो । सभालाई सम्बोधन गर्दै अभियन्ता भट्टराईले केपी ओलीले युवा छँदा देखेको सपना र आजका युवाको सपना एकै भएको बताइन् । उनले थपिन्, ‘आफैंले देखेको न्यायपूर्ण र लोकतान्त्रिक नेपालको सपनामाथि केपी ओली आफैंले खेलबाड गरेका छन्, जसको मूल्य ओलीले नै चुकाउनुपर्नेछ ।’

तस्वीरहरू : चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment