Comments Add Comment

संसद विघटन र नेकपा विभाजनबारे के भन्छन् अमेरिकी राजदूत ?

१९ माघ, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपालमा प्रतिनिधि सभा भंगको विषय सर्वाेच्च अदालत, संवैधानिक सिद्धान्त र प्रजातान्त्रिक प्रक्रिया अनुसार हल गर्ने विषय भएको प्रतिक्रिया दिएका छन् ।

नयाँ राष्ट्रपति जो वाइडनका विश्वव्यापी र नेपाल प्राथमिकताबारे सोमबार केही सञ्चारकर्मीहरुसँग कुराकानी गदै राजदूत बेरीले भने,‘नेपाल एक सार्वभौम मुलुक हो, यहाँ सार्वभौम संस्थाहरु छन् । नेपाल र संसारभरि अमेरिकी चासो भनेको प्रजातान्त्रिक प्रणालीले काम गरोस् भन्ने हो ।’

‘यहाँ संविधान छ, कानुन छ । अमेरिकाले नेपालमा प्रजातन्त्र, त्यसका संस्था र प्रक्रियालाई निरन्तर सहयोग गदै आएको छ,’ राजदूत बेरीले अघि भने, ‘सर्वाेच्च अदालत छ, संवैधानिक सिद्धान्तहरु छन्, ती विषयमा छलफल हुनुपर्छ र समाधान गर्नुपर्छ ।’

कुनै पनि समस्या आउँदा अमेरिकामा पनि संवैधानिक र प्रजातान्त्रिक प्रक्रियाद्वारा हल गर्ने गरेको उनले सुनाए ।

सत्तारुढ नेकपाभित्रको विवादबारे सोधिएको प्रश्नमा भने राजदूत बेरीले यस विषयमा बोल्ने र पोजिसन लिने आफ्नो विजनेस नभएको बताएका छन् । ‘नेकपाभित्रको विवादमा हामी कुनै पनि पोजिसन लिदैनौं किनभने यो हाम्रो विजनेस होइन’ उनले भने ।

अमेरिकी राजदूत बेरीले मिलेनियम च्यालेन्च कर्पाेरेसन(एमसीसी)बारे समेत खुलेर बोलेका छन् ।

राष्ट्रपति परिवर्तनले कुनै पनि खालको असर नगर्ने भन्दे उनले भने, ‘हाम्रो लागि एमसीसी कुनै राजनीतिक इकाई होइन, यो खाली विकास र आर्थिक हाँगो हो ।’

‘हाम्रो राजनीतिक संक्रमणले एमसीसीलाई कुनै पनि खालको असर गर्दैन । एमसीसीको अर्काे चरण भनेको यहाँको संसदबाट अनुमोदन हो । नयाँ राष्ट्रपति आउँदैमा एमसीसीको आधारभूत आकार र स्वरुपमा कुनै पनि परिवर्तन हुन्न ।’

नयाँ प्रशासनले इन्डोप्यासेफिक रणनीतिलाई कसरी अगाडि बढाउँछ भन्ने प्रश्नमा उनले यस क्षेत्रमा अमेरिकाको प्राथमिकता र नीतिमा खासै परिवर्तन नआउने बताए । उनले भने, ‘तपाईंले इन्डोप्यासेफिक भनेपनि, एसिया प्यासेफिक भनेपछि वाइडन प्रशासनले हिन्द महासागर क्षेत्रलाई महत्वपूर्ण रुपमा लिन्छ र अमेरिकाको राष्ट्रि सुरक्षाका लागि यो क्षेत्र महत्वपूर्ण छ ।’

उनले अमेरिका खुल्ला, स्वतन्त्र, पारदर्शी र विधिमा आधारित इन्डोप्यासेफिकको पक्षमा रहेको बताए ।

वाइडन प्रशासनले इन्डोप्यासेफिक रणनीतिलाई निरन्तरता दिन्छ कि नयाँ नामाकरण गर्छ भन्ने पनि बहस छ । राजदूत बेरीले नामभन्दा विषयवस्तु प्रधान हुने बताए ।

अमेरिकाले नेपाललाई भारतीय आँखाबाट हेर्छ ? भन्ने प्रश्नमा राजदूत बेरीले भने, ‘हामी नेपालको सार्वभौमसत्तालाई उच्च प्राथमिकता दिन्छौं । नेपालसँग हामी विशेषगरी विकासका एजेण्डामा सहकार्य गरिरहेका छौं, जुन नेपालको आवश्यकताले प्रेरित हुन्छ ।’

राजदूत बेरीले बाइडेन कार्यकालमा अमेरिकाको आधारभूत नेपाल नीतिमा कुनै पनि परिवर्तन हुने बताएका छन् । नेपाल–अमेरिका सम्बन्धको मुख्य आधार विकास सहयोग भएको भन्दै उनले भने, ‘अमेरिकाको नेपालसँगको आधारभूत नीतिमा परिवर्तन हुन्न । दुईपक्षीय सम्बन्ध विकास सहयोगले निर्देशित गरेको छ । प्रजातान्त्रिक, सार्वभौम, समावेशी र आर्थिक रुपमा समृद्ध नेपालले मात्र अमेरिकाको राष्ट्रिय सुरक्षा चासो सम्बोधन गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment