नेपाली सिनेमा क्षेत्रमा मात्र होइन, हलिउड/बलिउडमा पनि ‘स्क्रिन प्ले राम्रो भएन’ भन्ने बहस चर्को सुनिन्छ । सिनेमा किन राम्रो भएन भन्दा धेरैले औंल्याउने कमजोरी नै ‘स्क्रिन प्ले’ हो । यो तर्कलाई बलियो बनाउन के पनि भनिन्छ भने जग राम्रो भएपछि न घर राम्रो हुन्छ । जग अर्थात स्क्रिप्ट ।
तर, यसमा मेरो धारणा फरक छ ।
स्क्रिप्टमात्र सबै कुरा होइन । मेकर, क्रिएटर कस्ता छन् ? क्रिएटरले समात्ने क्राफ्ट कस्तो छ ? यसले पो सिनेमा कस्तो बन्छ भन्ने कुरा निर्धारण गर्ने हो । स्क्रिप्ट राम्रो लेख्यो । तर, कथाको अन्तर्य बुझ्ने, स्क्रिप्टको क्राफ्ट समात्न सक्ने मेकर छैन भने त्यो सिनेमा राम्रो बन्न सक्दैन ।
त्यसैले प्रथमतः मेकर अर्थात निर्देशकसँग त्यो गुण हुनुपर्यो, जसले सिनेमा आर्टलाई अन्तर-तहसम्म पुगेर बुझेको छ । आर्टलाई एउटा गहिराइमा पुगेर अनुभूति गरेको छ । यदि उनीसँग यस्तो क्षमता छैन भने उसको हातमा हामीले जस्तोसुकै अब्बल स्क्रिप्ट थमाए पनि त्यसबाट राम्रो सिनेमा बन्ने अपेक्षा बेकार हुन्छ ।
बजारको भाषामा भन्नुपर्दा स्क्रिप्ट सिनेमाको बकाइदा मेरुदण्ड हो । स्क्रिप्टभित्र एउटा संरचना हुन्छ । अहिले हामीकहाँ चलिरहेका सिनेमा, जुन प्लटमा आधारित हुन्छ । प्लट बेस सिनेमामा संरचना हुन्छ । यसमा आरम्भ, मध्य र अन्त्य । यसभित्र गीत, फाइट हुन्छ । यसमा पनि निश्चित फर्मूला छ, जसको आधारमा त्यसको ढाँचा तयार गरिन्छ ।
अहिले हामीले ‘मूलधार’को भनिरहेका सिनेमाहरु प्लटमा आधारित हुन् । प्लट बेस सिनेमाका लागि स्क्रिप्टको भाव र संरचना बुझेकै लेखक चाहिन्छ । त्यसो भएन भने सिनेमा बिग्रन्छ ।
तर, अर्को मिनी प्लट पनि हुन्छ । जस्तो कि- मिनी प्लट मैले चलचित्र ‘बुलबुल’मा राखें । यसमा स्क्रिप्टको सीमित संरचना छ र निर्देशकको व्यक्तिगत अनुभूति पनि जोडिएको छ । अनि आफ्नो मौलिक क्राफ्टलाई प्रयोग गरी काम गरेको छ ।
अर्कोचाहिँ पुरै ‘एन्टी प्लट’मा काम गर्ने मेकर हुन्छन् । एन्टी प्लटमा पूर्णतः काव्यिक सिनेमा बन्छन् । यसमा मेकरले स्क्रिप्टलाई सर्वोपरि मान्दैन । किनभने, उनीहरुले क्राफ्ट बुझेका हुन्छन् । क्राफ्ट नै उनीहरुको अभिव्यक्तिको माध्यम हो ।
यस किसिमको मेकरले स्क्रिप्ट आफैं लेख्छन् । त्यसमा उनीहरुको जीवन भोगाइ, अनुभव-अनुभूति, दर्शन, दृष्टिकोण आउँछ । अर्थात आफूले जुन कुरा अनुभूत गरिएको छ, त्यो कुरा आफूले नै राम्ररी अभिव्यक्त गर्न सकिन्छ । तेस्रो व्यक्तिलाई स्क्रिप्ट लेखाउँदा आफ्नो भाव र अनुभूतिहरु नआउन सक्छ ।
एन्टी प्लट वा काव्यिक सिनेमामा स्क्रिप्टको मापदण्डले काम गर्दैन । त्यसकारण यस्तो मेकरको अगाडि ‘स्क्रिप्ट नै मेरुदण्ड हो’ भन्ने बहस बेकार छ । यहाँ त क्राफ्टको बहस हुन्छ । व्यक्तिगत अनुभूतिका वहस हुन्छ । मेकरले सिनेमालाई लिएर हेर्ने दृष्टिकोणको वहस हुन्छ । त्यही ‘मास्टर सिनेमा मेकर्स’ जन्मिन्छन् । कतिपय मास्टर मेकर्सले स्क्रिप्टबिना नै पनि काम गर्छन् । उनीहरु नै सर्वकालीन सिनेमा बनाइरहेका छन् । ठूलठूला विश्वविद्यालयमा उनीहरुकै सिनेमाको बहस हुन्छ ।
प्लट बेस सिनेमा बनिरहेको हाम्रो सन्दर्भमा त्यो कुरा कता कता भिन्न लाग्छ । किनभने, निश्चित ढाँचा वा संरचनामा बनेकालाई मात्र हामीले सिनेमा मानिरहेका छौं । सिनेमा भनेकै त्यति नै हो भनेर बुझिरहेका छौं । यस हिसाबले हामीकहाँ स्क्रिप्टको बहस हुनु स्वभाविक पनि होला । तर, यही कुरालाई नै अकाट्य हो भनेर बुझिरह्यौं भने न सिनेमा सुधि्रन्छ, न फैलन्छ नै ।
फर्मूलाले त कुनै पनि कुरालाई निश्चित ढाँचाभित्र सीमित गर्छ । बाँधेर राख्छ । तर, सिनेमा भनेको कला अभिव्यक्तिको बहुआयामिक माध्यम हो । यसलाई सोहीरुपले बुझ्नु र स्वीकार्नु जरुरी हुन्छ । दुःखलाग्दो चाहिँ के भने, सिनेकर्मी, संचारकर्मी कसैले पनि यो गहिराइसम्म बुझ्ने प्रयास गरिरहेका जस्तो लाग्दैन ।
अझै पनि हामीलाई लाग्छ, फर्मूलामा बनाइने र बजारकेन्दि्रत सिनेमाभन्दा दायाँबायाँ अरु केही छैन । बजारमा कुन सिनेमाले कति कमायो भनेर कमाइको आधारमै त्यसको गुणवत्ता मापन गरिरहेका छौं । यसबाट के देखिन्छ भने हाम्रो सिनेमाको जुन हिसाबले स्तरवृत्ति हुनुपर्ने सो भइरहेको छैन । यो त एउटै चक्रमा घुमिरहेको छ । जब यो चक्रले हामीले कुनै अर्को विन्दुमा पुर्याउँदैन । बस् एउटै ठाउँमा अल्झिरहन्छौं ।
सिनेमाको आयाम र गहिराइलाई बुझेको जनशक्ति चाहिएको छ । सिनेमाका तन्दुहरुलाई बुझिसकेपछि के लाग्छ भने स्क्रिप्ट भनेको केवल एउटा अंश मात्र रहेछ । क्रिएटरका लागि सानो इलिमेन्ट मात्र रहेछ ।
मैले स्क्रिप्टका बारेमा पढेको छु, विद्यार्थीलाई पढाएको छु । स्क्रिप्टको संरचना कस्तो हुन्छ भन्ने कुरामा म अनभिज्ञ छैन । तर, म फम्र्याटमा रहेर स्क्रिप्टको काम गर्न रुचाउँदिनँ । मलाई चरित्रहरुमा बग्न मन लाग्छ । चरित्रलाई बोकेर, त्यसको यात्राभित्र छिरेर, उसको यात्राभित्र आफूलाई राखेर लेख्ने गर्छु ।
म प्राविधिक तहमा बसेर लेख्न सक्दिनँ । सुरु, मध्य, अन्त्य यस्तो हो, पात्रको उद्देश्य यो हो, यसको संघर्ष यहाँ हो भनेर जसरी बकाइदा डिजाइन गरेर काम गरिन्छ । मचाहिँ त्यसरी काम गर्न रुचाउँदिनँ । दोस्रो तहमा बसेर काम गर्छु ।
हुन त यसरी काम गर्दा पनि कतै न कतै अवचेतन रुपमा त्यो डिजाइन आफैं बाइप्रोडक्टका रुपमा आउन सक्छ । त्यसलाई सचेतरुपमा स्वीकार गरेर कथालाई अन्तिम रुप दिने गर्छु । मास्टर्स मेकरहरुको जुन तह छ, त्यहाँसम्म पुग्न चाहिँ सकिएको छैन ।
एकथरी मेकर्स पूर्ण डिजाइन गरेर मात्र फ्लोरमा निस्कन्छन् । यस्तो हलिउड, बलिउडमा हुन्छ । उनीहरुले स्क्रिप्टमा सबै कुरा समेट्न खोज्छन् । स-साना कुरालाई पनि डिटेलमा राख्छन् । सात, आठवटा खाकापछि बल्ल त्यसलाई अन्तिम रुप दिन्छन् । यसरी फाइनल स्क्रिप्ट बोकेर प्रोडक्सन डिजाइनरले फेरि छायांकनको सम्पूर्ण बन्दोबस्ती मिलाउँछन् । निर्देशकले पनि क्यामेरा, दृश्य, दृश्यांश, फ्रेम, एंगल, लेन्स सबै निर्धारण गर्छन् । प्रि-प्रोडक्सनमै सबै कुरा मिलाएर फ्लोरमा निस्कन्छन्, जतिबेला मोटामोटी सिनेमा तयार भइसकेको हुन्छ । यस किसिमको अभ्यास पनि एक हिसाबले सही नै हुन्छ । किनभने सिनेमा बन्नुअघि नै सम्पूर्ण रुपमा क्लियर भएर काम गरिन्छ ।
अर्कोथरी पनि यसरी नै तयारी गरेर फ्लोरमा जाने गर्छन् । उनीहरुसँग स्क्रिप्ट हुन्छ, प्रोडक्सन डिजाइनर सबै हुन्छ । तर, स्क्रिप्टअनुरुप प्राविधिक डिजाइन गरिएको हुँदैन । सर्ट ब्रेक डाउनको एकदमै प्राविधिक डिजाइन बनाएर जाने भन्दा पनि निर्देशकको क्राफ्टहरु के हो, त्यस अनुसारका दृश्यांशहरु हुन्छन् । फ्लोरमा पुगेपछि त्यहाँको दृश्य हेरेर, पात्रको पर्फमेन्स हेरेर काम गर्छन् ।
सिनेमामा क्राफ्ट
नेपालकै एकजना फिल्म समीक्षकले के भन्नुभएको थियो भने ‘बुलबुल अलिकति स्लो छ । स्लो हुनुको कारण छ ।’ के कारण छ त ? यसमा उहाँको आफ्नै बुझाई थियो, ‘टेम्पो मूख्य चरित्र जस्तो बनेर आएको छ । टेम्पो आफैंमा सुस्त गतिमा हिँड्छ । टेम्पो सुस्त हिँड्ने भएकाले निर्देशकले त्यही अनुसार डिजाइन गर्दा सिनेमा स्लो भएको हो ।’
उहाँले सकारात्मक रुपमै यस्तो भन्नुभयो । तर, उहाँ त्यस ठाउँमा गलत हुनुहुन्थ्यो । कहिले पनि कथाले क्राफ्ट डिजाइन गर्दैन । यस्तो कथाको क्राफ्ट यस्तो हुन्छ भन्ने हुँदै हुँदैन । कथाले होइन, क्रिएटर अर्थात निर्देशकले क्राफ्ट बनाउने हो । मैले यो कथालाई कसरी भन्नु भन्ने कुरा मेरो मौलिक क्राफ्ट हो । त्यसकारण कथाले कहिले पनि क्राफ्ट माग गर्दैन ।
हाम्रा सिनियर दाइहरु, निर्देशकहरुले पनि बेलाबखत भन्ने गर्नुहुन्छ कि, फलानो सिनेमाको कथा अनुसार त्यसको क्राफ्ट यस्तो हुन्छ । तर, यो कुरामा म सहमत छैन । यदि त्यसो गरियो भने त फेरी पनि हाम फर्मुलामा बाँधियौं । जब कि आर्टमा फर्मूला भन्ने चिज हुँदै हुँदैन ।
सिनेमाको टाइटल यस्तो थियो, त्यसकारण मैले क्यामेराको फ्रेम यसरी राखें भन्नुभन्दा पनि मेरो क्राफ्ट कस्तो हो भन्ने कुरा व्याख्या र तर्कभन्दा परको कुरा हो ।
चीनको सिनेमाको क्राफ्ट यस्तो छ, जापानको यस्तो हो भन्ने बुझाई पनि छ । तर, यो कुरा पनि मलाई सही हो जस्तो लाग्दैन । कसले, कुन कुरालाई कसरी अभिव्यक्त गर्छ भन्ने कुरा उसको आफ्नो वैयक्तित क्राफ्टको कुरा हो । म इरानमा जन्मिएको छु भने मेरो क्राफ्ट फरक हुन्छ भन्ने हुँदैन । त्यहाँको समाजभित्रको दर्शन फरक होला । तर, मेरो क्राफ्ट, न्यारेटिभ भन्ने कुरा त म संसारको जुनसुकै कुनामा बसेपनि नितान्त मेरो सिर्जनसिलताबाट अभिव्यक्त हुने हो नि ।
अब्बास किओरोस्तमीले सिनेमामा जुन अभ्यास गरे, त्यो क्राफ्ट इरानी समाजले गर्दा बनेको होइन । उहाँका जति पनि सिनेमा छन्, त्यसमा उहाँको नितान्त मौलिक क्राफ्ट अभिव्यक्त हुन्छ । उहाँको सिनेमामा सुरु, मध्य, अन्त्य, गीत, नाच, फाइट केही पनि हुन्न । उहाँले कुनै पात्रको ‘जर्नी’लाई एउटा टाइम एन्ड स्पेशमा प्ले गर्दै-गर्दै इन्टरनल जर्नीभित्र छिर्नुहुन्छ । सिनेमाको सेन्स अफ टाइमलाई सिर्जनात्मक हिसाबले म्यानुप्लेट गर्नुहुन्छ । त्यो उहाँले रचना गरेको वैयक्तित क्राफ्ट हो ।
अब किओरोस्तमीले गर्ने क्राफ्टलाई नै इरानी फिल्ममेकरहरुले ‘हाम्रो आइडेन्टिटी त यो हो’ भनी सोही शैलीको सिनेमा निर्माण गर्दै बस्ने हो भने के होला ?
माजीद माजीदीले गर्ने सिनेमा एकदम फरक छ । उहाँले यर्थाथपरक सिनेमा बनाउनुहुन्छ, त्यो बलिउडसँग कता कता मिल्छ । कतै संरचना त कतै पर्सनल क्राफ्टमा बनेको जस्तो लाग्ने ।
किओरोस्तमी र माजीद माजीदी एकै ठाउँमा, एउटै प्लेटर्फममा बसेर काम गर्ने हो । उहाँहरुले एकअर्कालाई सहयोग पनि गर्नुभएको छ । तर, उहाँहरुको रचना त फरक छ । क्राफ्ट फरक छ । अभिव्यक्तिको शैली फरक छ ।
अब इरानको क्राफ्ट के हो त ? यसको कुनै साझा क्राफ्ट छ त ? पक्कै पनि । इरानमा धेरै मास्टर फिल्ममेकर्स जन्मिए । किन त ? किनभने उनीहरुसँग पर्सनल क्राफ्टमा काम गर्ने प्रवृत्ति एवं संस्कृति भइदियो ।
सिनेमामा बिम्ब
निर्देशकले सिनेमामा विम्व, प्रतीकहरुको माध्यमबाट पनि आफ्नो कुरा अभिव्यक्त गर्न खोज्छन् । विम्व, प्रतिक भन्ने कुरा निर्देशकको अवचेतन मनबाट निस्कने कुरा हुनुपर्छ । मैले ‘बुलबुल’मा यसकारणले झरीको दृश्य राख्दैछु भनी सचेतरुपमा डिजाइन गरियो भने त्यो गलत हुन्छ ।
यो ठाउँमा विम्व राख्छु, प्रतीक राख्छु भनेको यान्त्रिक मस्तिष्क चल्नु हो । जब तपाईंको यान्त्रिक मस्तिष्क चल्न थाल्छ, तपाईंको क्राफ्ट सकिन्छ । सचेतरुपमा यो पानीको अर्थ यस्तो, यो रातो रंगले यो संकेत गर्छ भनी डिजाइन गर्न थाल्नुभयो भने त्यहाँ तपाईंको क्रिएसन मर्छ ।
अन्तर-अनुभूतिबाट स्वतस्फूर्त प्रकट हुने कुरालाई अरुले कुनै विम्व, प्रतीक बन्न सक्छन् । उक्त बिम्वलाई पनि मान्छेले आ-आफ्नै अनुभूतिअनुसार बुझ्न सकोस् । तब मात्र त्यो सही अर्थमा आर्ट भयो ।
जस्तो- सिनेमामा झरी परेको दृश्य छ । यसले तपाईं र मलाई भिन्न किसिमको अनुभूत गराउँछ । झरीमा तपाईं रोमान्टिक महसुस गर्नुहुन्छ । तर, मलाई त्यसले दुःख, बिरहको भाव पैदा गर्न सक्छ ।
(शिव मुखियासँगको कुराकानीमा आधारित)
प्रतिक्रिया 4