Comments Add Comment

सडकमा ‘निर्दलीय’ नयाँ पुस्ता

२४, माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सडकमा विभिन्न पक्षबाट आन्दोलन भइरहेका छन् । नेपाली कांग्रेस, नेकपाको प्रचण्ड-माधव समूह र विवेकशील साझा पार्टी मात्र सरकारको विरोधमा छैनन्, कुनै पार्टीमा आवद्ध नभएका नयाँ पुस्ताका निर्दलीय किशोर-किशोरीहरु पनि महिनौंदेखि सरकारविरुद्ध सडकमा शान्तिपूर्ण प्रदर्शनमा उत्रँदै आएका छन् । भलै, चुनाव भयो भने यी नयाँ पुस्ताका आन्दोलनकारीले कुन दललाई भोट हाल्छन्, अहिलेसम्म पत्तो छैन ।

‘पोलिटिकल लिट्रेसी फर वुमेन’ की अध्यक्ष प्रकृति भट्रराई अब किशोरीहरु आन्दोलनमा आउनुपर्ने भन्दै दिनहुँजसो राजनीतिक अभियानमा छिन् । उनको समूहले महिलालाई राजनीतिमा आउन उत्प्रेरणा दिइरहेको छ । प्रकृतिको समूहका २५ जना युवतीले निर्मला पन्तको बलात्कार काण्डदेखि केपी ओलीको संसद विघटनको कदमविरुद्ध सडकमा ‘फ्ल्यास मोभ’ गरिरहेका छन् ।

उनीहरुको फल्यास मोभका नाराहरु छन्- बलात्कारी होस् तँ । निरंकुश होस् तँ । मेरो प्रधानमन्त्री भन्नुहुन्छ म देशद्रोही । हेर्नुस् हजुर पोथी बासेको । व्यवस्था फेरियो, जात फेरिएन, सोझा जनताको आशा फेरिएन । यो दमनकारी सत्ता हो बलात्कारी आदि आदि ।

प्रकृति भन्छिन्, ‘प्रधानमन्त्रीको गैरसंवैधानिक कदमप्रति हामी युवा चुप लाग्नु भनेको स्वीकार गर्नु हो, संविधानमाथि गरेको अपमान र प्रतिगमनलाई साथ दिनु हो ।’

युवतीहरुमा पनि राजनीति बुझेर राम्रो र नराम्रो राजनीतिको पक्ष-विपक्षमा उभिन सक्ने चेत हुनुपर्ने उनको भनाइ छ । महिलाहरूले अब बलात्कार र हिंसाविरुद्ध मात्र होइन, राजनीतिक अत्याचारविरुद्ध पनि विरोधमा उत्रनुपर्ने र आफूले बनाएको सत्तामाथि निगरानी गरिराख्नुपर्ने उनको भनाइ छ । प्रकृति थप्छिन्, ‘हाम्रो मौनता सिंगो देश, संविधान र भावी पुस्तामाथिको अन्याय हो ।’

***

प्रकृतिजस्तै थिएटर आर्टिस्ट पवित्रा खड्काले कलाकारहरुलाई नेतृत्व गर्दै सडकमै नाटक प्रदर्शन गर्न थालेको निकै लामो समय भैसकेको छ । गोविन्द केसीको अनसनताका होस् वा उखु किसानको आन्दोलनको समर्थनमा । निर्मला पन्तको बलात्कार र हत्याको विरोधमा होस् या नवराज विकको हत्याको विषयमा होस्, शिल्पी थिएटरको माध्ययमबाट पवित्राको टिम निरन्तर इन्स्टलेशन आर्ट र नाटक प्रदर्शन गर्न पाटन दरबार, माइतीघर, बसन्तपुरदेखि बालुवाटारसम्म पुग्यो ।

उनीहरु नाटककार युवराज घिमिरेको लेखन तथा निर्देशनमा सडकमा नाटकबाट सत्ताको दमन र सामाजिक विकृतिविरुद्धको आन्दोलनमा छन् । र, अहिले निरन्तर प्रधानमन्त्रीको कदमविरुद्ध सडकमा निरन्तर नाटक मञ्चन गरिरहेका छन् ।

के उनीहरु राजनीतिक चेतकै कारण सडकमा ओर्लिरहेका छन् ? वा अभिनयको मात्र तृष्णा हो ?

‘पवित्रा भन्छिन्, ‘पहिला पनि गुरुकुलबाट निरंकुशता विरुद्ध सडकमा नाटक गरिन्थ्यो । अहिलेको सरकारबाट अति नै अत्याचार भएको अनुभूति भएपछि हामी नाटकको माध्ययमबाट सडकमा उत्रिएका हौँ । हामीले बोलेपछि मात्र केही परिवर्तन हुन्छ भनेर सडकमा पुगेका हौँ ।’

युवा पुस्ताले नारा लगाएर मात्र होइन, जो जहाँ छ, त्यसैले विरोधको अस्त्र बनाउन सक्ने उनको धारणा छ । ‘चुनाव आएपछि मात्रै युवाहरु पक्ष-विपक्षमा चर्कने गर्छन्’, उनी भन्छिन्, ‘तर, बुझेर सडकमा आउने र साँच्चिकै नेपालको हितका लागि युवाहरु लाग्ने संस्कारको विकास गर्नुपर्छ ।’

***

कौशलटारका हिमांशु आफूहरु बाँचिरहेको सिस्टम नै प्रतिगामी भएको तर्क राख्छन् । चीनमा इन्जिनियरिङ पढिरहेका २२ वर्षीय हिमांशु परीक्षा सकेर काठमाडौं आएका थिए । तर, उनी पहिलो दिनदेखि नै नागरिक आन्दोलनमा सक्रिय छन् ।

हिमांशु भन्छन्, ‘यो प्रतिगमनकारी सिस्टमले ०६२/६३ का मुद्दालाई दबाइराख्यो र पूरा हुन दिएन । केपी ओलीले अहिले लिएको कदम प्रतिगमनको क्लाइमेक्सजस्तो भयो । अब ती पहिला पूरा नभएका सपनाहरुका लागि पनि लड्नुपर्छ भन्ने सोचेर सडकमा आएको छु ।’

हिमांशु अहिलेको राजनीतिक नेतृत्वलाई एउटै खाल्डोमा राखेर हेर्छन् । अहिलेको फेलियर नेतृत्वबाट आश राख्नु मूर्खता हुने उनको धारणा छ । ‘अहिले बाँचिरहेको पुँजीवादी व्यवस्थामा जो आए पनि हुने उही हो’, हिमांशुले समाजवादको वकालत गर्दै भने, ‘अहिलेको युवा पुस्ताले यो व्यवस्थाभित्र रमाउने भन्दा पनि हाम्रो समाजवाद, जनतन्त्रको सपना पूरा गर्न नेता हुने गरी आफूलाई तयार राख्नुपर्छ ।’

हिमाशुंसँगै भएका २० वर्षीय अर्का युवक प्रशन्न पराजुली अहिलेको राजनीति र नेतृत्व दुवैमा समस्या देख्छन् । जसको दोष उनले पनि व्यवस्थालाई नै दिन्छन् । समाज विज्ञान विषयको स्नातक पाँचौं सेमेस्टर अध्ययनरत उनले युवाहरु राजनीतिमा आउनुपर्ने र राजनीति गर्नुपर्ने बताए ।

पुस ५ मा संसद विघटनको घोषणा गरिए पनि यो परिस्थिति ल्याउनका लागि अगाडिबाटै थुप्रै कामहरु भइरहेको उनको बुझाइ छ । उनले भने, ‘संविधानसभा विघटन भयो, त्यो एउटा प्रक्रिया थियो । त्यसअघि परालिंगी महिलाहरुमाथि आक्रमण भयो, उहाँहरुको राइट टु लिभ, राइट टु डिग्निटी, राइट टु फ्रिडम, राइट टु अन डिस्क्रिमिनेसनमाथि प्रहार भयो । दलितहरुमाथि दमन अत्याचार भइरहेको छ । त्यसैले यी सबै परिवर्तनमा युवाहरु आउन जरुरी छ ।’

नेतृत्व फेरेर मात्र समस्याहरु हल नहुने र त्यसको व्यवस्था नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

***

निर्ग नविन (३०) प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध आन्दोलित छन् । बालुवाटारमा भएको गत १३ माघको प्रहरी दमनमा परी गम्भीर घाइते भएका निर्गले तीन दिनसम्म टिचिङ अस्पतालमा उपचार गराउनुपर्‍यो ।

नियमित औषधी लिइरहेका उनी अहिले पनि पूर्णरुपमा निको भइसकेका छैनन् । निर्ग भन्छन्, ‘अहिलेका तमाम समस्या समाधानका लागि युवा पुस्ता आन्दोलनमा आउनुको विकल्प छैन ।’

निर्ग दोस्रो संविधानसभाले जारी गरेको संविधानले सम्पूर्ण नागरिकको अधिकार संविधानमा अटाउन नसकेको बताउँदै निरन्तर आन्दोलनमा होमिएका एउटा पात्र हुन् । उनी भारतले सीमा मिचेको विरोधमा नक्सा जारी गर्न भन्दै संसद भवन अगाडि आन्दोलनमा होमिए । शुरुमा उनीहरुको समूहमा १० जना मात्र मान्छे थिए । त्यतिबेला निर्ग पटक-पटक गिरफ्तारीमा परे ।

एमसीसी सम्झौताको विरोधमा पनि उनी निरन्तर सडकमा झरे । उक्त आन्दोलनमा घाइते भएपछि सञ्जीव, निभा शाहहरुले सहयोग संकलन गरी वीर अस्पतालमा उनलाई उपचार गराए ।

उखु किसानको आन्दोलन होस् या पुस्तकमा कर लगाएको विरोधमा किन नहोस्, दुई वर्षअघि माक्सिर्स्ट आउट लुक नामक संस्था स्थापना गरेर उनीहरु सडक आन्दोलनमा छन् । निर्ग भन्छन्, ‘संविधान रक्षाका लागि मृत्युलाई स्वीकारेर नै हामी आन्दोलनको अग्रपंक्तिमा छौँ ।’

अहिलेको राजनीतिक नेतृत्व युवामैत्री नभएको निर्गको बुझाइ छ । ‘हाम्रो व्यवस्था यस्तो छ कि २० औँ वर्ष नेताको झोला बोकेर पछि लागेपछि मात्र नेतृत्वमा पुग्ने सम्भावना हुन्छ । म ३० वर्षको मान्छे, क्रान्तिकारी विद्यार्थी संगठनको केन्द्रीय सदस्य भएर बस्नुपरेको छ’ उनी थप्छन्, ‘यस्तो अवस्थामा युवा पुस्ताले हस्तेक्षपकारी ढंगले अगाडि आएर भूमिका निर्वाह गर्नुपर्छ ।’

प्रचण्ड-माधव नेपालहरुको पछि लागेर मात्र संविधानको रक्षा र प्रतिगमन सच्चिनेमा निर्ग विश्वस्त छैनन् । उनी भन्छन्, ‘यो प्रतिगमन आउनमा उनीहरुको पनि भूमिका छ । त्यसैले, युवा पुस्ता र नागरिकहरु आन्दोलनको मोर्चामा उभिनुपर्छ ।’

तर, युवा जमात राजनीतिमा प्रयत्नशील नभएको उनको अनुभव छ । अब युवाहरुले कस्तो देश बनाउने, कस्तो विचार, दर्शन बोक्ने र आन्दोलनमा हस्तक्षेपकारी भूमिका कसरी निर्वाह गर्ने भन्ने विषयमा विचार र बहस गर्न जरुरी रहेको निर्ग बताउँछन् ।

उनलाई लागेको छ कि संविधानमा प्वाल नै प्वाल छन् । संसदीय व्यवस्थामा पनि समस्या छ । तर, जनतालाई सर्वाधिकार सम्पन्न बनाउन पहिले केपी ओलीको स्वेच्छचारिताको प्रतिगमनविरुद्ध नै लड्नुपर्ने उनी बताउँछन् ।

‘अहिलेको राजनीतिक नेतृत्वको नीतिले राजनीति सुध्रिँदैन, राजनैतिक पुर्नसंरचनाका लागि युवाहरु राजनीतिमा आउनुपर्छ’, निर्गले अनलाइनखबरसँग भने, ‘राजनीतिमा राम्रा र ज्ञानी मान्छे नगएपछि अल्पज्ञानी र नराम्राहरुले शासन गरिरहेका छन् ।’

***

निरन्तर नागरिक आन्दोलनमा प्रतिगमनको विरुद्ध उभिएका अर्का युवा हुन्- सन्तोष परियार । उनी इतिहासदेखि नै प्रतिगमन भएको बताउँछन् । ‘पटक- पटक दलित विद्रोह भएको छ तर, जयन्तु संस्कृतम् अभियानलाई ठूलो बनाइएको छ’, सन्तोषले भने, ‘नेवा सभ्यतामाथिको प्रतिगमन निरन्तर छ । सत्तामा मात्र प्रतिगमन छैन, यहाँको भाषा, संस्कृति प्रतिगमनकारी छ, त्यसका लागि हामी आन्दोलनमा छौँ ।’

इतिहासमा भएका तमाम प्रतिगमनको विरोध नागरिक आन्दोलनले गर्नुपर्ने उनको धारणा छ । ‘यो देशमा नागरिकलाई अनागरिक कसरी बनाइन्छ ? बाँच्नका लागि थर भन्नुपर्ने हुन्छ’, उनले थपे, ‘जतिबेलासम्म न्याय स्थापित हुँदैन, समानता र समावेशी राज्यले बुझ्दैन, तबसम्म आन्दोलन गरिरहन्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment