Comments Add Comment

प्रहरीले रामकुमारीलाई किन पक्राउ गर्‍यो ? किन छाड्यो ?

बालुवाटारको दबावमा पक्राउ, कानुनी आधार नभएको आरोप

२९ माघ, काठमाडौं । झण्डै दुई साता बालुवाटारको दबाव थेगेको प्रहरीले बिहीबार विहान नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्‍यो ।

राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै पक्राउ गरेको प्रहरीले अदालतमा समेत लैजान आँट गरेन । केही घण्टा प्रहरी हाकिमको कोठामा राखेर छाड्यो । दिउँसो १ बजे शंखमुलस्थित निवासबाट पक्राउ परेकी उनी करिब ५ घण्टा महानगरीय अपराध महाशाखामा राखेर साँझ ६ः२० मा छुटिन्

महानगरीय अपराध महशाखाको नियन्त्रणबाट छुटेपछि झाँक्रीले प्रधानमन्त्रीको निर्देशनमा आफूलाई गिरफ्तार गरिएको भएपनि चौतफी दबावमा छाडिएको बताइन् । रिहापछि उनले भनिन्, ‘प्रतिगमनको झुक्ने प्रक्रिया सुरु भयो, हामी जित्दैछौं ।’

प्रहरीले भने सोधपुछका क्रममा झाँक्रीले राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको र गलत नियतले अभिव्यक्ति नदिएको बताएपछि छाडिएको तर्क गरेको छ ।

तर रामकुमारी प्रकरणले प्रहरी मात्र होइन, सरकारकै नियतमाथि प्रश्न उठाएको छ ।

यो पनि पढ्नुहोस तस्वीरमा रामकुमारी झाँक्रीको गिरफ्तारी

पक्राउ पर्नुको पृष्ठभूमि

झाँक्रीले १६ माघमा गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकी थिइन् । उनको भनाइ थियो, ‘म बडामहारानीलाई यहीँ गोरखाबाटै सन्देश दिन चाहन्छु, निर्वाचनको तयारीका लागि कारगेड छाडेर, सुख सुविधा, ऐस आराम, शीतल निवास छाडेर पहिला कोटेश्वरमा आउनुस् । चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुनेको थिएँ । हैन भने बालकोटै गए पनि हुन्छ ।’

झाँक्रीले गरेको सम्बोधनको भिडियो सामाजिक सञ्जालमा आएलगत्तै बालुवाटारले ‘बडामहारानी र बालकोट’ भन्नु राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अनुशासनहीन अभिव्यक्ति भएको निष्कर्ष निकाल्यो । ओलीनिकट अखिल नेपाल महिला संघ (अनेम संघ) ले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर एकल महिला भएकै कारण राष्ट्रपतिविरुद्ध अपमानजनक ढंगले अभिव्यक्ति दिनु निन्दनीय भएको बतायो । र, उनलाई पक्राउ गरेर फौजदारी ऐन अनुसार कारबाही गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझायो ।

त्यसअघि नै बालुवाटारले झाँक्रीलाई कारबाही गर्न गृहसचिव महेश्वर न्यौपानेलाई निर्देशन दिइसकेको थियो । त्यसलाई न्यौपानेले प्रहरी प्रधान कार्यालय, नक्सालमा रिले गरे । तर प्रहरी अधिकृतहरूले झाँक्रीलाई कारबाही गर्दा सरकारविरुद्धको आन्दोलन झन् उग्र हुने र बाहिर गलत सन्देश जाने रिपोर्टिङ गरे ।

बालुवाटार प्रहरीको तर्क सुन्ने बाला थिएन । प्रहरीलाई अघि बढ्न गृह मन्त्रालयमार्फत पुनः निर्देशन आयो । प्रचण्ड-माधव समूहको आन्दोलन चलिरहेकाले प्रदर्शन उग्र हुने भन्दै केही दिनलाई झाँक्रीको गिरफ्तारी रोकियो ।

यहीबीच गृह मन्त्रालयले पुनः अनेमसंघको ज्ञापन पत्रलाई ‘कानून बमोजिम गर्न’ भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालमा पठायो । त्यहाँबाट महानगरीय प्रहरी कार्यालय, रानीपोखरी हुँदै महानगरीय अपराध महाशाखासम्म पत्र आइपुग्यो ।

अन्ततः बिहीबार झाँक्रीलाई पक्राउ गरेर पाँच घन्टासम्म अपराध महाशाखामा राखेर साँझ श्रीमान् पशुपति पुरीको जिम्मा लगाइएको छ ।

यो पनि पढ्नुहोस रामकुमारी पक्रेर सरकारले देखाएको जंगी तागत

रातिबाटै झाँक्री निवास प्रहरीको घेरामा

महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार झाँक्रीविरुद्ध परेको जाहेरीका आधारमा अनुसन्धानका लागि उनलाई बोलाइएको थियो । तर, उनी महाशाखा जान मानिनन् । प्रहरीलाई पनि यसको अनुमान थियो र पक्राउको तयारी भयो ।

पक्राउ पर्ने छनक पाएलगत्तै झाँक्रीले पनि नियमित सवारीसाधन प्रयोग गर्न र एक्लै हिँड्न छाडेकी थिइन् । स्रोतका अनुसार यसअघि नै पक्राउ गर्दा बुधबार प्रचण्ड-माधव समूहले बुधबार काठमाडौंमा गरेको आमसभा उग्र हुनसक्ने आंकलनका साथ प्रहरीले बिहीबार पक्राउ गर्ने योजना बनाएको थियो ।

योजनाअनुसार बिहीबार सखारै शंखमुलस्थित उनको घर वरिपरि सादा पोशाकका प्रहरी पुगिसकेका थिए । महाशाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकृतहरू उनको निवास वरपर बसेका थिए ।

स्रोतका अनुसार घरबाट निस्किने वित्तिकै उनलाई पक्राउ गर्ने तयारी गरिएको थियो । तर नेतृ झाँक्रीले भने पक्राउ पूर्जी दिएमात्रै आफू निस्किने सन्देश दिइन् । त्यसमाथि पक्राउको युवा तथा विद्यार्थीहरूले नाराबाजी सुरु गरेपछि प्रहरी टोली हच्कियो ।

संयमित झाँक्री

कुनै अप्रिय घटना नहोस् भन्ने आफूहरूको चाहना रहेको भन्दै सहयोग गरिदिन प्रहरीले झाँक्रीलाई आग्रह गर्‍यो । त्यसपछि उनी आफैं बाहिर आइन् र माइकबाट सम्बोधन गर्दै कानून कार्यान्वयनमा आफूले साथ दिने बताइन् ।

झाँक्री बोलेपछि भिड संयमित भयो र उनलाई महाशाखाको गाडीमा राखेर मीनभवनमा ल्याइयो । सिधै महाशाखाका प्रमुख एसएसपी थापाको कोठामा लगेर छलफल थालियो । ‘सोधपुछका लागि बोलाउँदा आउनु भएको भए, केही हुने नै थिएन’, थापा भन्छन्, ‘नआएपछि जरुरी पक्राउ पूर्जी दिएर ल्याउनुपर्‍यो ।’

थापाको कोठामा विद्यार्थी नेता आरती लामासहितका कार्यकर्ताहरू थिए, केहीबेरमा प्रचण्ड-माधव समूहका नेताहरू नारायणकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतका नेताहरू पनि कार्यकक्षमा प्रवेश गरे । श्रेष्ठ झाँक्रीलाई तत्काल छाड्नुपर्ने बताउँदै महाशाखाबाट निस्किए भने भट्टराई नछुट्दासम्म त्यहीँ बसे ।

पक्राउबारे बुझ्न मानव अधिकार आयोगका प्रतिनिधि आएपछि महाशाखाको हलमा टोली सर्‍यो । महाशाखाका एसपीद्वयको कोठामा छुट्टाछुट्टै छलफल भए । साढे चार बजेसम्ममा महाशाखाका अनुसन्धान अधिकृत दुर्गा दाहालले उनको बयान लिए । बयानका क्रममा उनलाई चार वटा प्रश्न सोधिएको महाशाखाका एसपी कृष्ण पंगेनी बताउँछन् ।

प्रहरी अधिकृतहरूका अनुसार उनलाई सोधिएको प्रश्न र जवाफ यस्ता थिएः-

सवाल १ः तपाईंले मिति २०७७/१०/१६ गते गोरखा जिल्ला सिन्धुपाल्चोक गाउँपालिकामा भएको राजनीतिक भेलामा दिनु भएको सार्वजनिक अभिव्यक्तिको भिडियो देखाइन्छ, के कसो हो ? कुन सन्दर्भमा उक्त अभिव्यक्ति व्यक्त गर्नु भएको हो ? खुलाई लेखी दिनुहोस् ।

जवाफ १ः मिति २०७७/१०/१६ गते गोरखा जिल्लाको सिरानचौक गा.पा.मा भएको राजनीतिक भेलामा मैले बोलेको भिडियो देखाउँदा देखी सुनिपाएँ । म नेकपाको केन्द्रीय सदस्य भएकाले राजनीतिक भेलामा संसद विघटन पछिको राजनीतिक परिवेशको विषयमा राजनीतिक अभिव्यक्ति दिएकी हुँ । म एक जिम्मेवार पदमा रहेकी राजनीतिकर्मी भएकाले नेपालको संविधान २०७२ को धारा १७ ले दिएको अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता हक अन्तरगत रही आफ्नो अभिव्यक्ति दिएको हुँ ।

सवाल २ः अखिल नेपाल महिला संघले माननीय गृहमन्त्रीज्यूलाई सम्बोधन गरी मिति २०७७/१०/२१ गते दिएको ज्ञापन पत्र पढी बाची सुनाइन्छ, ज्ञापनपत्रको व्यहोरा के कसो हो ? खुलाइ लेखी दिनुहोस् ।

जवाफ २ः अखिल नेपाल महिला संघले माननीय गृहमन्त्रीज्यूलाई सम्बोधन गरी दिएको ज्ञापन पत्र मैले पढी बाची सुनी हेरी पाएँ । व्यवहोरा बुझेँ । उक्त ज्ञापन पत्र दिने व्यक्तिहरुलाई खासै चिन्दिन । निजहरुले ज्ञापन पत्र के कुन अभिप्रायले दिएका हन्, मलाई थाहा भएन । मुलुकका सबै संवैधानिक निकाय र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति मेरो सदैव सम्मान छ र रहनेछ ।

सवाल नं. ३ः तपाईंले गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा भएको राजनीतिक भेलामा सम्मानीय राष्ट्रपतिज्यूको बारेमा व्यक्त गरेको अभिव्यक्तिले सम्मानित संस्था एवं सम्माननीय राष्ट्रपतिज्यूको गरिमामाथि नै आँच पुर्‍याउने, धम्की दिने किसिमका अभिव्यक्ति हुन्/होइनन् ? खुलाई लेखी दिनुहोस् ।

जवाफ नं. ३ः मैले गोरखा जिल्लामा भएको राजनीतिक भेलामा गरेको अभिव्यक्तिहरु राजनीतिक अभिव्यक्ति हुन् । संवैधानिक राष्ट्रपतिप्रतिको मेरो सम्मान हिजो, आज र भोलि पनि उत्तिकै रहनेछ । सबै निकायले नेपालको संविधान तथा ऐनको परिपालना गर्नपर्छ भन्ने मेरो जोड छ ।

सवाल ४ः तपाईंको अन्य केही भन्न बाँकी भए खुलाइ लेखी दिनुहोस् ।

जवाफ ४ः मैले नेपालको संविधान प्रचलित कानूनको पालना गरी अभिव्यक्ति स्वतन्त्रताको हक, राजनीतिक स्वतन्त्रताको हकको उपयोग गरेकी हुन् ।

यो पनि पढ्नुहोस ‘प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयो, हामी जित्दैछौं’

जब मुद्दा चलाउने ठाउँ भेटिएन

तालुक मन्त्रालयबाट झाँक्रीलाई पक्राउ गर्न आदेश आएलगत्तै प्रहरीले मुद्दा चलाउने क्रममा समस्या हुनसक्ने बताएका थिए । गृहले बोलाएर माफी मगाएर आइन्दा राष्ट्रपतिलाई लक्षित गरेर अभिव्यक्ति नदिने सर्तमा छाड्न भनिएको थियो ।

तर रामकुमारी माफी माग्ने पक्षमा थिइनन् । त्यसपछि प्रहरीले मुलुकी अपराध संहिताको राज्यविरुद्धको कसूर अन्तरगत दफा ५८ रोजेको स्रोतको दाबी छ । प्रहरीले छानेको दफाको उपदफा (१) मा भनिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्न बाध्य गराउने कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन ।’

‘जबकी झाँक्रीले दिएको अभिव्यक्ति राष्ट्रपतिलाई धम्क्याएर कुनै काम गर्न बाध्य पारिएको पनि थिएन’ नेपाल बार एसोसियसनका पूर्वमहासचिव अधिवक्ता सुनिलकुमार पोखरेल भन्छन् ।

‘झाँक्रीको हकमा दफा ५८ (१) आकर्षित हुने ठाउँ नै छैन’, पोखरेलले अनलाइनखबरसँग भने, ‘यसबाटै राज्यको संयन्त्र दुरुपयोग गर्न यो दफा लगाइएको पुष्टि हुन्छ ।’

अधिवक्ता टिपी शर्मा कँडेलको बुझाइमा झाँक्रीको अभिव्यक्तिप्रति गाली बेइज्जतीमा अदालतमा मुद्दा हाल्न मिल्ने ठाउँ थियो । तर यो बाटो गएको भए रामकुमारी झाँक्रीलाई पक्राउ गरेको सन्देश दिन बालुवाटारको चाहना पुरा हुने थिएन ।

त्यही कारण जबरजस्ती फौजदारी मुद्दा लगाएर झाँक्रीलाई गिरफ्तार गरिएको कानून व्यवसायीहरु बताउँछन् । ‘झाँक्रीको पक्राउले सांकेतिक मात्र भएको देखाउँछ, यो पक्राउबाट सरकार अरुलाई पनि तर्साउन उद्दत देखिन्छ’, पोखरेल भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

ट्रेन्डिङ

Advertisment