Comments Add Comment

राष्ट्रिय महिला लिग : पुलिसविरुद्ध एपीएफको कठिन जित

३ फागुन, काठमाडौं  । राष्ट्रिय महिला फुटबल लिगमा शीर्ष स्थानको एपीएफले नेपाल पुलिस क्लबमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । लगातार दशौं खेल जित्ने क्रममा सोमबार एपीएफले पुलिसलाई २-१ ले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा पुलिसले एपीएफलाई गोलरहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा तीन गोल भयो ।

६८ औं मिनेटमा पुलिसकी कप्तान घिमकुमारीले आत्मघाती गोल गर्दा एपीएफले पहिले अग्रता लिएको थियो । तर ७५ औं मिनेटमा अमृता जैसीले  करिब २५ यार्ड टाढाबाट भलि गोल गर्दै पुलिसलाई खेलमा फर्काइन् । जारी लिगमा एपीएफले व्यहोरेको यो पहिलो गोल हो । यसअघि ९ खेलमा एपीएफले ७१ गोल गर्दा कुनै गोल व्यहोरेको थिएन।

त्यसपछि ८५ औं मिनेटमा रविना गोलेले गोल गर्दै एपीएफलाई २-१ को जित दिलाइन् ।

पहिलो चरणको लिगमा एपीएफले पुलिसलाई ३-० ले पराजित गर्दा सावित्रा भण्डारीले ह्याट्रिक गरेकी थिइन् । तर यस खेलमा भने उनले गोल गर्न सकिनन् । यसअघि आर्मी विरुद्धको पहिलो चरणको खेलमा पनि सावित्राले गोल गर्न सकेकी थिइनन् ।

कठिन जितपछि अपराजित यात्रा कयाम राखेको एपीएफले १० खेलबाट ३० अंक जोडेको छ र उपाधि नजिक पुगेको छ । एपीएफले अब बाँकी दुईमध्ये एक खेल जितेमा च्याम्पियन बन्नेछ ।

एपीएफले अब विराटनगर महानगरपालिका र आर्मीसंग खेल्न बाँकी छ । समान खेलबाट आर्मी २५ अंकसहित दोस्रो स्थानमा छ ।

उता १० खेलबाट १४ अंक मात्र रहेको पुलिस चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment