Comments Add Comment

चुनावी घोषणा सत्ता लम्ब्याउने चाल मात्रै हो : प्रकाशमान सिंह 

फाइल तस्वीर

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानशाही शासन लम्ब्याउनका लागि मध्यावधि निर्वाचनको घोषणा गरेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले कास्कीमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता सिंहले ओलीले नहुने निर्वाचनको मिति घोषणा गरेको बताए ।

‘ओलीले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनाव घोषणा गरेका हुन् । शासन सत्ता लम्ब्याउन कसैलाई प्रलोभनमा फसाउन सकिन्छ कि भनेर उनले चुनावको चाल चलेका हुन्,’ सिंहले भने ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास उनले व्यक्त गरे। ‘प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा छ । अब न्यायमूर्तिहरुले न्याय दिँदा संविधानको व्यवस्था र भावनालाई हेरेर दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘हिजो राजा ज्ञानेन्द्रले शाही आयोग गठन गरे । त्यो बेला अदालतले त्यसलाई असंवैधानिक ठहर गर्यो । अहिले पनि असंवैधानिक ठहर गर्ने विश्वास छ । हिजो पनि सेटिङको कुरा थियो, आज पनि छ । तर सर्वोच्चले आफ्नो गरिमा कायम गर्ने गरी निर्णय गर्नेछ।’

पुर्नवहाली भयो भने नेपालको राजनीतिक नेपालकै हातमा रहने तर विघटन सदर भयो भने मुलुकमा शक्तिकेन्द्रहरुको चलखेल बढ्ने उनको भनाइ छ । उनले संसदीय व्यवस्थाको सुन्दर पक्ष चेक एन्ड व्यालेन्स भएको भन्दै कार्यपालिकाले व्यवस्थापिका माथि प्रहार गर्दा न्यायपालिकाले सच्चाउनुपर्ने उनको भनाइ थियो ।

‘संविधान मिच्ने ओलीले निर्वाचन गराउँछन् भनेर पत्याउनेलाई रामराम मात्र भन्न सकिन्छ । नेकपाले जनताको मतको अवमूल्यन गरेको छ,’ उनले भने, ‘मै कानुन हुँ, मै संविधान हुँ भन्ने ओलीको एक दिन पूर्वराजा ज्ञानेन्द्रकै हालत हुनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment