Comments Add Comment

भारतमा सकिएकै हो त कोरोना महामारी ?

Photo Credit : REUTERS

काठमाडौं । भारतमा पछिल्लो समय उल्लेख्य रुपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण घटेको छ । र, यो तथ्यांकलाई केहीले नाटकीय र चाखलाग्दो भनेका छन् ।

लाखौं मानिसको मृत्यु हुनसक्ने आशंका गरिएको भारतमा के महामारी सकिएको हो त ?

अहिलेसम्म भारतमा कोरोनाका एक करोडभन्दा धेरै संक्रमित भइसके, जसमध्ये एक लाख ५० हजारभन्दा धेरैको मृत्यु भएको छ । सेप्टेम्बरको मध्यमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको भारतमा अक्टोबरबाट विस्तारै घट्न थालेको थियो । पछिल्लो केही दिनयता नयाँ संक्रमितको संख्या १० हजार हाराहारीमा झरेको छ भने दैनिक मृत्यु हुनेको संख्या एक सयभन्दा कम छ ।

आधाभन्दा धेरै प्रान्तमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । दिल्लीमा मंगलबार १० महिनामा पहिलोपटक कोरोनाबाट कसैको पनि मृत्यु भएन । जबकी एक समय दिल्ली भारतमै कोरोना संक्रमणको हटस्पट बनेको थियो ।

अहिले संक्रमण घट्नु असामान्य नभएको संक्रामक रोग विशेषज्ञ डाक्टर साहिद जमिल बताउँछन् ।

तर यसको प्रष्ट कारण पनि आफूहरुसँग नभएको मिसिगन युनिभर्सिटीका भ्रमर मुखर्जी बताउँछन् । भन्छन्, हामीलाई के थाहा छ भने भारत अझै पनि हर्ड इम्युनिटीभन्दा धेरै पर ।’

हर्ड इम्युनिटीबाट किन टाढा छ भारत ?

समुदायका अधिकांश मानिसमा प्रतिरोधी क्षमताको विकास भएको अवस्थालाई हर्ड इम्युनिटी भनिन्छ ।

जबकी मानिसहरुको एन्टिबडी परीक्षणबाट भारतका २१ प्रतिशत वयस्क र २५ प्रतिशत बालबालिकाहरु कोरोनाबाट संक्रमित भइरहेको एक अध्ययनले देखाएको थियो । उक्त अध्ययनमा झुपडबस्तीमा बस्ने ३१ प्रतिशत, सहरी क्षेत्रको झपडबस्ती बाहेकका क्षेत्रमा बस्ने २६ प्रतिशत र ग्रामीण भेगमा बस्ने १९ प्रतिशत मानिस कोरोनाको सम्पर्कमा आइसकेको देखिएको थियो ।

यसले भारतमा आधाभन्दा निकै कम मानिस मात्र कोरोनाको सम्पर्कमा आएको देखाएको छ ।

तर विशेषज्ञहरु भने प्रतिरोधी क्षमता विकास भएका मानिसको संख्या हर्ड इम्युनिटीको लागि निकै कम भएको बताउँछन् । भारतका सहरी क्षेत्रमा धेरै संक्रमण फैलिएको र मानिसको प्रतिरोधी क्षमता बढेको मान्ने हो भने पनि ग्रामीण क्षेत्रमा कसरी संक्रमण घट्यो भन्ने रहस्य भने अझै खुल्न सकेको छैन । ‘कोरोनाको सम्पर्कमा आएका मानिसको संख्या सर्वेक्षणले देखाएभन्दा धेरै छ । हामीले समग्र भारतलाई नै एक मान्नु हुँदैन । दिल्ली, मुम्बई, पुने र बेंग्लोरजस्ता सहरमा ६० प्रतिशतसम्म मानिसमा कोरोनाविरुद्धको एन्टिबडी पाइएको छ । त्यसैले यो निकै असमान छ’, डाक्टर साहिद जमिलले भने ।

किन घटिरहेको छ त संक्रमण ?

विशेषज्ञहरुका अनुसार संक्रमण घट्नुका दुई कारण हुन सक्छन् । एउटा, महामारी नियन्त्रणका लागि भारतले चालेको कदम हो । सरकारले ल्याएको योजनाले कोरोना संक्रमण नियन्त्रणका लागि सहयोग पुगेको छ ।

दोस्रो, धेरै संंक्रमितको तथ्यांक राख्न नसक्नु । किनकी धेरै मानिसमा कोरोनाको लक्षण देखिएको थिएन । यस्तो अवस्थामा सामान्य लक्षण वा कुनै लक्षण नै नदेखिएका धेरै मानिसमा विकास भएको प्रतिरोधी क्षमताको कारण यसअघि नै हर्ड इम्युनिटीको विकास भइसकेको हुन सक्ने केही विश्लेषकहरुको भनाइ छ ।

भारतमा संक्रमण पुष्टि भएका धेरै मानिसमा सामान्य लक्षण देखिनुले पनि कुरा कुरालाई पुष्टि गर्ने कोरोनाबारे अनुसन्धान गरिरहेका पार्थ मुखोपाध्याय बनाउँछन् ।

मृत्युदर कम हुनु रहस्य हो ?

धेरै वैज्ञानिकहरु कोरोनाको कारण भारतमा मृत्यु हुनेको संख्या आधिकारिक तथ्यांकभन्दा धेरै भएको बताउँछन् ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको तथ्यांक राख्ने काम राम्रोसँग नभएको आरोप लाग्दै आएको छ । यद्यपि कोरोनाबाट मृत्यु भएका सबैको तथ्यांक नराख्दा भारतका अस्पतालले धान्न नसक्ने अवस्था भने नआउने जानकारहरु बताउँछन् ।

उदाहरणका लागि भारतमा करिब ६ लाख गाउँ छन् । प्रत्येक गाउँबाट दैनिक एक संक्रमित र एक मृतक छुट्दा सार्वजनिक स्वास्थ्य सेवाले धान्न नसक्ने अवस्था आउँदैन ।

भारतले कोरोना संक्रमण नियन्त्रणका लागि मार्चको अन्तिममा लकडाउन गर्दै संक्रमण नियन्त्रणको प्रयास गरेको थियो । ७० दिनसम्म जारी यो लकडाउनले मुलुकमा कोरोना संक्रमण नियन्त्रणका लागि भने कुनै सहयोग नगरेको वैज्ञानिकहरुले बताएका छन् ।

कोरोनाबाट नराम्रोसँग प्रभावित बनेका सहरहरुमा मास्क लगाउने, भौतिक दुरी कायम राख्ने, विद्यालय र कार्यालयहरु बन्द गर्ने र मानिसहरुलाई घरबाटै कामको लागि प्रेरित गर्नेजस्ता कार्यले संक्रमणमा कमी आएको वैज्ञानिकहरु बताउँछन् ।

युवा जनशक्ति धेरै भएकाले उनीहरुमा प्रतिरोधात्मक क्षमता पनि बढी भएको केहीको तर्क छ । त्यस्तै भारतको अधिकांश जनशक्ति अनौपचारिक क्षेत्रमा काम गर्छन् । अनोपचारिक क्षेत्रमा काम गर्नेमध्ये धेरैजसोको काम खुला ठाउँमा हुन्छ । कोरोना संक्रमणको लागि खुला स्थान बन्द कोठाभन्दा कम जोखिमपूर्ण हुन्छ । त्यसैले पनि भारतमा कोरोना संक्रमण कम हुँदै गएको अनुमान छ ।

भारत दोस्रो लहरबाट बचेको हो ?

जानकारहरुका अनुसार अहिले नै यस विषयमा टिप्पणी गर्नु धेरै छिटो हुन्छ । केही विशेषज्ञहरु भारतमा आगामी दिनमा कोरोना संक्रमण पुनः बढ्न सक्ने बताउँदै आएका छन् । उनीहरुका अनुसार आगामी मनसुनमा भारतमा कोरोना संक्रमण पुनः बढ्न सक्छ । साथै अहिले इन्फ्लुएन्जा फैलिने मौसम पनि हो ।

त्यस्तै अहिले दक्षिण अफ्रिका, ब्राजिल र बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकार (भेरियन्ट) पनि भारतको लागि अर्को समस्या बन्न सक्ने विशेषज्ञहरुको भनाइ छ । जनवरीको अन्तिमसम्मा भारतमा बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारबाट संक्रमित हुनेको संख्या १६० पुगेको थियो । अहिले नयाँ प्रकारको कोरोना संक्रमण कत्तिको फैलिरहेको छ भन्ने यकिन छैन ।

भारतले खोप कार्यक्रम भने अघि बढाइरहेको छ । यसले एक महिनाभित्रै ६० लाखभन्दा धेरै मानिसलाई कोरोना खोप दिइसकेको छ । अगष्टसम्म ३० करोड मानिसलाई कोरोना खोप दिने भारतको लक्ष्य छ । यसले भारतमा कोरोनाको दोस्रो लहर फैलिए पनि राष्ट्रव्यापीरुपमा फैलिनबाट रोक्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment