Comments Add Comment

कान्ति बाल अस्पताललाई ३ करोड सहयोग

३ फागुन, काठमाडौं । कान्ति बाल अस्पतालले विश्व बाल क्यान्सर युके प्रोजेक्टमार्फत बाल क्यान्सरको क्षेत्र सुधारका लागि करिब ३ करोड रुपैयाँ सहयोग पाएको छ ।

कान्ति बाल अस्पतालमा सोमबार एक कार्यक्रम आयोजना गर्दै युके एड म्याचको सहयोगमा नेपालमा बाल क्यान्सरको क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रम शुभारम्भ भएको घोषणा गरिएको छ ।

अस्पतालका निर्देशक डा. आरपी बिच्छाले यो कार्यक्रमले उपचार पहुँचबाहिर रहेका बालबालिकालाई समेट्ने बताए ।

बालबालिकामा क्यान्सर लाग्नबाटै रोक्न नसकिने भए पनि क्यान्सर लागेका बालबालिकाको सुरुवाती अवस्थामै पहिचान गरी उपचार गरेमा निको हुने भएकाले बाल क्यान्सरको क्षेत्रमा सुधार आवश्यक रहेको विज्ञहरु बताउँछन् ।

कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरी करिब साढे २ वर्षसम्मको निरन्तर प्रयासपछि युकेको पब्लिक फन्डबाट नेपालमा बाल क्यान्सरको क्षेत्रमा सुधारका लागि सो कार्यक्रम शुभारम्भ गर्न सफल भएको बताए ।

डा. गिरीका अनुसार सो रकमबाट पहिलो चरणमा विभिन्न प्रदेशमा रहेका प्रादेशिक अस्पतालका बाल रोग विशेषज्ञ र नर्सिङ जनशक्तिलाई बाल क्यान्सर रोगको विषयमा तालिम दिइने छ । प्रादेशिक अस्पतालका बाल रोग विशेषज्ञ तथा नर्सिङ जनशक्तिलाई बाल क्यान्सर रोगको विषयमा जानकारी दिँदा काठमाडौं उपत्यका बाहिर रहेका क्यान्सर पीडित बालबालिकाले समयमै सहज रुपमा उपचार सेवा पाउने छन् ।

‘सुरुवाती उपचार कान्तिमा भए नि त्यसपछिका फलोअप प्रादेशिक अस्पतालमा भयो भने बिरामीको खर्च र हाम्रो चाप दुबै घट्छ’ डा. गिरीले भने, ‘ त्यसैगरि प्रादेशिक अस्पतालमा क्यान्सरको फलोअप उपचार हुँदा जनमानसमा सूचना फैलिने भएकाले उपचारको लागि बिरामीहरु छिटो अस्पताल पुग्छन् ।’

डा. गिरीका अनुसार क्यान्सर भएका बालबालिकाको ८ महिनाको उपचार पूरा गरेपछि दोस्रो चरण अर्थात् मेन्टेनस चरणको उपचार विधि हुन्छ, त्यो विधिबाट उपचार गर्न बिरामी महिनामा एकपटक मात्र अस्पतल आए आए पुग्छ । त्यो उपचारका लागि अहिले बिरामीहरु काठमाडौं नै आउनुपर्ने बाध्यता छ । यो कार्यक्रमले बिरामी काठमाडौं नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने  डा. गिरी सुनाउँछन् ।

सोही कार्यक्रम अन्तर्गत बाल क्यान्सरका बिरामीको हेरचाह गर्ने नर्सिङ जनशक्तिको हरेक वर्ष दुई जना नर्सलाई विदेशमा फेलोसिपको लागि पठाउने पनि बताए । यस्तै नर्सिङ स्टाफलाई तालिम उपलब्ध गराउन एक वर्षको  पेडियाट्रिक अंकोलोजी केयर फेलोसिप कान्ति बाल अस्पतालमै सुरु गर्ने योजना पनि रहेको छ ।

अंकोलोजीको विषयमा जानकारी भएका नर्सिङ जनशक्ति उपलब्ध हुँदा भर्ना भएर उपचार गराइरहेका क्यान्सरका बिरामी बालबालिकाको अस्पतालमा हुने अस्पतालजन्य संक्रमण न्यूनीकरण गर्न सहयोग पुग्ने डा. गिरीले बताए ।

‘क्यान्सरका बिरामी बालबालिकाको उपचारको क्रममा लामो समयसम्म अस्पतालमै भर्ना हुँदा हुने अस्पतालजन्य संक्रमण न्यूनीकरण गर्न र क्यान्सर भएका बालबालिकाको मृत्युदर कम गर्न सकिन्छ,’ उनले भने । यो सहयोगले बाल क्यान्सरको क्षेत्रमा ठूलो योगदान पुग्ने र कान्ति बाल अस्पताल बाल क्यान्सरको उपचारको लागि सेन्टर बन्न गिरी बताउँछन् ।

कान्ति बाल अस्पतालमा क्यान्सर भएका बालबालिकाको उपचारका लागि  हाल २७ वटा बेड भर्ना हुने बिरामीका लागि र ८ वटा डे केयरका लागि आउने बिरामीको लागि उपलब्ध छन् । सोही रकमबाट केही थान हाइ डिपेण्डेन्सी बेड थप्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment