+
+
Shares

कान्ति र मानसिक अस्पतालको मनोचिकित्सा इकाइ अब सरकारले सञ्चालन गर्ने

सम्झौतासँगै कान्ति बाल अस्पताल र मानसिक अस्पताल, लगनखेलमा सञ्चालित विशेष मनोचिकित्सा इकाइहरू क्रमशः सरकारी व्यवस्थापनमा हस्तान्तरण हुने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १७:२५

१८ भदौ, काठमाडौं । बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवालाई दिगो र प्रभावकारी बनाउने उद्देश्यले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सिविन नेपालबीच समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतासँगै कान्ति बाल अस्पताल र मानसिक अस्पताल, लगनखेलमा सञ्चालित विशेष मनोचिकित्सा इकाइहरू क्रमशः सरकारी व्यवस्थापनमा हस्तान्तरण हुने भएका छन् ।

सिविन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१५ को विनाशकारी भूकम्पपछि बालबालिका र किशोरकिशोरीमा देखिएको मनोसामाजिक असरलाई सम्बोधन गर्न यी सेवाहरू सुरु गरिएका थिए ।

विगत नौ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएका यी स्वास्थ्य सेवाहरूको दिगोपना सुनिश्चित गर्न अब सरकारले पूर्ण स्वामित्व लिने प्रक्रिया अघि बढाएको हो ।

समझदारी–पत्रमा हस्तान्तरणको स्पष्ट कार्ययोजना उल्लेख गरिएको छ ।

जसअनुसार, सन् २०२६ सम्ममा सिविन नेपालले हालकै मोडेलअनुसार सेवा सञ्चालनको सम्पूर्ण आर्थिक तथा प्राविधिक जिम्मेवारी लिनेछ ।

सन् २०२६ देखि २०२८ सम्ममा सरकारले क्रमशः आफ्नो बजेट विनियोजन बढाउँदै लैजाने छ । सन् २०२८ पछि दुवै इकाइहरूको सञ्चालन, व्यवस्थापन र आर्थिक भार पूर्ण रूपमा नेपाल सरकार र सम्बन्धित अस्पतालहरूको मातहतमा आउने छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका समन्वय महाशाखा प्रमुख भीमप्रसाद सापकोटाले बालबालिकाको मानसिक स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको अभिन्न अंग बनाउनु सरकारको प्राथमिकता रहेको बताए ।

त्यसैगरी, सिविन नेपालका प्रतिनिधिले सरकारले यस सेवाको स्वामित्व लिनुले हजारौं बालबालिकाको मानसिक स्वास्थ्य सेवाको भविष्य सुनिश्चित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?