Comments Add Comment

गत वर्षको विश्व स्मार्टफोन बजार : कस्तो रह्यो एप्पल तथा सामसुङलगायतको प्रदर्शन ?

सन् २०२० मा विश्व बजारमा स्मार्टफोनको बिक्री १२.५ प्रतिशतले घट्यो । गार्टनरको पछिल्लो रिपोर्ट अनुसार महामारीका कारण समग्रमा स्मार्टफोन बिक्रीमा गिरावट आएतापनि फाइभ जी स्मार्टफोन तथा उच्च क्षमताका क्यामरायुक्त स्मार्टफोन प्रतिको आकर्षण भने उच्च रह्यो ।

सन् २०२० मै चौथो त्रैमासिकको रिपोर्टमा एप्पल विश्व स्मार्टफोन बजारमा चार वर्षपछि पहिलोपटक सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनी बन्न सफल भयो । आखिर सन् २०२० मा विश्वका टप फाइभ स्मार्टफोन कम्पनीका स्मार्टफोनको बिक्री कस्तो रह्यो त ?

१. एप्पल : सन् २०२० को अन्तिम त्रैमासिकमा एप्पल विश्वमा सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनी बन्न सफल भयो । आइफोन १२ को उच्च बिक्रीदरका कारण एप्पलले बिक्रीमा यस अवधिमा दोहोरो अंकको वृद्धि हासिल गर्यो । त्यतिमात्र नभई उसले धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनीको रुपमा सामसुङलाई पछि पार्दै नम्बर वान बन्न सफल भयो । यसअघि पछिल्लोपटक सन् २०१६ मो चौथो त्रैमासिकमा एप्पल विश्वको सबैभन्दा ठूलो स्मार्टफोन कम्पनीको रुपमा रहेको थियो ।

२. सामसुङ : सन् २०२० मा समग्रमा कम्पनीले सन् २०१९ मा भन्दा १४.६ प्रतिशत कम स्मार्टफोन मात्र बेच्न सक्यो । यद्यपि चौथो त्रैमासिकमा एप्पलले सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनीको रुपमा उक्लिएको भएतापनि वर्षभरीको तथ्यांक अनुसार सामसुङ नै सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोन ब्राण्ड बनेको छ ।

३. साओमी, ओप्पो र भिभो : सन् २०२० मा चिनियाँ स्मार्टफोनहरु शाओमी, ओप्पो र भिभोले विश्व स्मार्टफोन बजारमा र खासगरी भारत र चीन बाहिर आक्रमक रुपमा बजार प्रभाव जमाउन सफल भए । चिनियाँ स्मार्टफोनहरुबाट सामसुङले कडा प्रतिस्पर्धा व्यहोर्नुपर्‍यो ।

सन् २०२० मा स्मार्टफोन बिक्रीमा समग्रमा वृद्धिदर हासिल गर्नेमा केवल एप्पल र शाओमी मात्र रहे ।

जबकि चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले सबैभन्दा ठूलो गिरावट व्यहोरेको छ । जसका कारण हुवावे सर्वाधिक ठूला स्मार्टफोन कम्पनीको तेश्रो स्थानमा झरेको छ ।

खासगरी अमेरिकी प्रतिबन्धका कारण गुगलका एप्लिकेसनहरु चलाउन नपाइनु नै हुवावेका स्मार्टफोनको बिक्रीमा नकारात्मक असर पार्ने प्रमुख कारण बन्यो ।

गार्टनरका अनुसार सन् २०२० को चौथो त्रैमासिकको डाटा अनुसार विश्वका टप फाइभ स्मार्टफोन कम्पनीमा क्रमशः एप्पल, सामसुङ, शाओमी, ओप्पो र हुवावे रहेका छन् ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment