Comments Add Comment

आईसीसी र आईएमजीबीच सम्झौता, विश्वकप छनोट चरणका ५४१ खेल लाइभस्ट्रिम हुने

१३ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले विश्वभरका क्रिकेट फ्यानलाई लक्षित गर्दै विश्वकप छनोट चरणका कुल ५४१ खेल लाइभस्टिम गर्ने भएको छ ।

आईसीसीले त्यसका लागि बिहीबार आईएमजीसँग सम्झौता गरेको छ । आगामी तीन विश्वकपको छनोट चरणका खेलहरु लाइभ स्ट्रिम गर्ने गरी सम्झौता भएको हो । अब विश्वभरका दर्शकहरुले विश्वकप छनोटका खेलहरु प्रत्यक्ष अनलाइनमा हेर्न पाउनेछन् ।

लाइभस्ट्रिमिङ डिल २०२३ अप्रिलसम्म लागु हुनेछ । सम्झौतापछि फ्यानहरुले २०२२ को पुरुष टि२० विश्वकप, २०२३ को पुरुष ओडीआई विश्वकप र २०२३ को महिला टि२० विश्वकपको छनोट खेलहरु लाइभ हेर्न पाउनेछन् ।

‘आइएमजीसँग साझेदारी गर्न पाउँदा हामी खुसी छौँ । जसले अहिलेसम्मकै धेरै फ्यानले क्रिकेट लाइभ हेर्न पाउनेछन्,’ आईसीसीका प्रमुख कार्यकारी मानु शवनेले भने ।

क्रिकेट खेलमा यो महत्वपूर्ण स्टेपको रुपमा आईसीसीले हेरेको छ ।

५४१ खेलमध्ये १४५ महिलाको खेल हुनेछ । यस्तै ८० एसोसिएट मेम्बर सहभागी ४१ छनोट चरणको प्रतियोगिताको खेल लाइभस्ट्रिम हुनेछ ।

आईसीसीको ५० भन्दा बढी मेम्बरको खेल पहिलो पटक विश्वभर कभरेज हुने आईसीसीले जनाएको छ ।

हंगेरी, रोमानिया र सर्वियाले टी२० विश्वकपको छनोट खेल पहिलो पटक खेल्दैछन् र फिनल्याण्डले पहिलो पटक छनोट चरणका खेल आयोजना गर्दैछ ।

यस्तै भुटान, बोत्स्वाना, क्यामरुन, फ्रान्स, मालावी, म्यानमार, फिलिपिन्स र टर्की गरी ८ टिमले पहिलो पटक आईसीसी महिला टी२० विश्वकपको छनोट खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment