Comments Add Comment

मेसी फर्ममा फर्किएकै हुन् त ?

बार्सिलोना उपाधि होडमा

फाइल तस्वीर

१६ फागुन, काठमाडौं । स्पानिस ला लिगामा शनिबार बार्सिलोनाले फर्ममा रहेको सेभियालाई २-० ले हरायो । यस जितमा कप्तान लिओनल मेसीले एक गोल गरे । अर्को गोलका लागि मेसीले उसमान डेम्बेलेलाई सहयोग गरे ।

यस जितपछि बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक दुरी २ मा झार्दा रियल मड्रिडलाई १ अंकले पछि पारेको छ ।

पछिल्लो समय मेसीले लगातार गोल गर्दै आएका छन् । बार्सिलोनाले पनि फर्ममा फर्केको संकेत गरेको छ ।

बार्सिलोना छाड्ने मनसाय र सिजनमा सुस्त सुरुवात गरेपछि मेसीको धेरै आलोचना हुँदै आएको छ । सिजनको सुरुवातमा मेसीले राम्रो गर्न सकेनन् । धेरैले यी अर्जेन्टाइन स्टार टप लेभलमा रहन नसकेको भन्दै प्रश्न गरेका थिए ।

तर नयाँ वर्ष २०२१ को सुरुवात भएपछि मेसीको नम्बरले उनी विरुद्ध लाग्नेहरुलाई जवाफ दिएको छ । शनिबार मात्रै उनले सेभियालाई हराउन महत्वपूर्ण प्रदर्शन गरे ।

मेसीले सबैखाले प्रतियोगितामा गरेर लगातार ७ खेलमा गोल गरेका हुन् । जसमा उनले ९ गोल गरेका छन् ।

सेभिया विरुद्ध ८६औं मिनेटमा गरेकव गोल मेसीले यस सिजन सबैखाले प्रतियोगितामा गरेको २४औं गोल हो । स्पानिस ला लिगामा मेसीले १९ गोल गरेका छन् र उनी सर्वाधिक गोल गर्नेमा अघि छन् ।

२०२१ को सुरुवात पछि ३३ वर्षीय मेसीले सबैखाले प्रतियोगितामा गरेर १४ गोल गरेका छन् भने ४ असिस्ट गरेका छन् । युरोपको शीर्ष पाँच लिगमा यो कसैले गर्न सकेको छैन ।

बार्सिलोना उपाधि होडमा

सेभियालाई हराउँदै बार्सिलोना दोस्रो स्थान उक्लिएको छ । २५ खेलबाट बार्सिलोनाको ५३ अंक छ । २३ खेल खेलेको एट्लेटिको ५५ अंकसहित शीर्ष स्थानमा छ २४ खेलबाट ५२ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा छ ।

एट्लेटिकोसँग बार्सिलोनाले अंकदुरी २ मा झार्दै उपाधि होडमा आफूलाई उभ्याएको हो । यद्यपी एट्लेटिकोले दुई खेल खेल्न बाँकी नै छ ।

यस्तै २४ खेलबाट ४८ अंकसहित सेभिया चौथो स्थानमा छ । अहिलेको अवस्थामा हेर्दा यही चार टिम नै ला लिगाको उपाधि होडमा देखिएका छन् ।

अब लिगमा एट्लेटिकोले १५ खेल खेल्न बाँकी छ । यस्तै बार्सिलोनाले १३ र रियलले १४ खेल खेल्न बाँकी छ । सेभियाले पनि १४ खेल नै खेल्न बाँकी छ ।

एट्लेटिकोले ७ खेल घरेलु मैदान र ८ खेल अवे मैदानमा खेल्नेछ । बार्सिलोनाले घरेलु मैदानमा ६ र अवे मैदानमा ७ खेल खेल्न बाँकी छ । यस्तै रियलले घरेलु मैदानमा ८ र अवे मैदानमा ६ खेल खेल्न बाँकी छ । सेभियाले घरेलु मैदान र अवे मैदान ७-७ खेल खेल्न बाँकी छ ।

अब हुने खेलमा मड्रिड डर्बी, एट्लेटिको र सेभिया तथा एल क्लासिको मुख्य खेलको रुपमा रहेका छन् । मड्रिड डर्बी म्याचडे २६ मा हुनेछ भने एट्लेटिकोले सेभियासँग म्याचडे २९ मा खेल्नेछ । यस्तै एल क्लासिको म्याचडे ३० मा हुनेछ ।

सबैको ध्यान म्याच डे ३५ मा आकर्षित हुनेछ । जसमा शीर्ष चार स्थानको टिम नै खेल्नेछन् । एट्लेटिकोले घरेलु मैदानमा बार्सिलोनासँग खेल्नेछ । यस्तै सेभियाले घरेलु मैदानमा रियल मड्रिडसँग खेल्नेछ ।

अब ला लिगाको उपाधि कसले जित्नेछ यही मुख्य खेलले तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment